लगानीकर्ता र अर्थमन्त्रालयबीच पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्ने सहमतिभएसँगै सेयरबजारमा उछाल

काठमाडौं । आन्दोलित लगानीकर्ता र अर्थमन्त्रालयबीच पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्ने सहमति भएको छ ।

आज अर्थमन्त्री डा. प्रकाशशरण महत र लगानीकर्ताबीच भएको छलफलमा उक्त सहमति भएको हो । सहमतिमा व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई नै अन्तिम कर कायम गर्ने गरि दुवै पक्षले मस्यौदामा हस्ताक्षर गरेका छन् ।

अर्थ मन्त्रालयमा आन्दोलनरत लगानीकर्ता र अर्थमन्त्रीलगायत सरकारका सचिवहरुबीच भएको छलफलपछि जारी गरिएको सूचनामा ‘आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साबिकबमोजिमकै कानुनी व्यवस्था कायम रहेको छ। त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारी गरिएको छ।’

त्यस्तै, लगानीकर्ताको माग सम्बोधन भएसँगै सेयर बजारमा उछाल आएको छ । यो समाचार तयार पार्दासम्म (१२ः५४) नेप्से ३८.५५ अंकले बढेर १९०४.८९ अंक विन्दुमा आइपुगेको छ । १३ लाख ७२ हजारको कित्ता सेयर ४८ करोड ७२ लाखमा खरिदबिक्री भएको छ । त्यस्तै, सबै उपसमूहतर्फ हरियाली छाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स