अर्थमन्त्री डा. महतले गरे आन्दोलनरत लगानीकर्ताको माग सम्बोधन, केही बेरमै कारोबार पूर्ण रुपमा खुल्ने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्दोलनरत लगानीकर्ताको माग सम्बोधन हुने बताएका छन् । आज अर्थ मन्त्रालयमा भएको लगानीकर्ता र सरकारबीचको छलफलमा अर्थमन्त्री डा. महतले यस्तो कुरा बताएका हुन् ।

अर्थमन्त्री डा.महतले पुँजीबजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर हुने बताएका हुन्।

अर्थ मन्त्रालयले आर्थिक विधेयक-२०८०को बुँदा नं. २९ मा देखिएको समस्यालाई सम्बोधन हुने गरी प्रेस विज्ञप्ति जारी गर्ने भएको छ। अर्थमन्त्रीको प्रतिबद्धताबमोजिम बुँदा नं. २९ मा देखिएको समस्यालाई सम्बोधन गर्ने हिसाबले प्रेस विज्ञप्ति जारी गर्न लागिएको छलफलमा सहभागी लगानीकर्ताले बताएका छन् ।

लगानीकर्ताहरुले पुँजीबजारमा ५ र ७.५ प्रतिशत नै अन्तिम कर हुनुपर्ने र आर्थिक विधेयक २०८० को २९ नं. बुँदा खारेज हुनुपर्ने माग गर्दै आएका छन्। उनीहरुले विद्यमान पुँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने भन्दै गत बिहीबारदेखि आन्दोलित बनेका छन् । आन्दोलनरत लगानीकर्ताहरुले आज बिहान काठमाडौंमा रहेका ५० वटै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन्।

त्यस्तै, लगानीकर्ता सबै ब्रोकर हाउसमा तालाबन्दी गरे पनि नेप्सेमा छिटफुट कारोबार भइरहेको छ। अर्थ मन्त्रालयबाट प्रेस स्टेटमेन्ट जारी भएसँगै पूर्ण रुपमा कारोबार सुचारु हुने जानकारी दिइएको छ ।

छलफलमा अर्थमन्त्री, अर्थ मन्त्रालयका पदाधिकारी, सेबोन अध्यक्ष र लगानीकर्ताका प्रतिनिधिहरुको उपस्थित रहेको थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स