राष्ट्र बैंकको नीतिका कारण सेयरधनीले पाउने लाभांश १ महिना पछि धकेलियो

काठमाडौं । राष्ट्र बैंकले लिएको नयाँ नीतिका कारण वर्षदिनभरि लगानी गरेर लाभांश कुरेर बसेका सेयरधनीले पाउने लाभांश १ महिनापछि धकेलिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको १५ दिनमात्र बाँकी भएपनि अहिलेसम्म कुनै पनि वाणिज्य बैंकहरूले साधारणसभा बोलाएका छैनन् । अहिलेसम्म वार्षिक साधारणसभा नै नबोलाएपछि बैंकहरूले आफ्ना सेयरधनीलाई लाभांश पनि दिन नसक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले भदौ १५ गतेसम्मको नाफा नोक्सानबाट लाभांश बाड्न पाउने व्यवस्था परिपत्र मार्फत गरेको छ । आधा भदौसम्म बैंकहरूले पैसा उठाउने समय दिएका कारणले बैंकहरूको वित्तीय विवरण त्यसपछिमात्रै तयार पारे ।

त्यो समयसम्म पैसा उठाउन थालेपछि बैंकहरूले वित्तीय विवरण राष्ट्र बैंक पठाउन ढिला गरे र राष्ट्र बैंकले पनि आजको आजै वित्तीय विवरण हेर्न सक्दैन र केही समय लिन्छ । लाभांश वितरण गर्नका लागि वित्तीय विवरण स्वीकृत भइसकेपछि पनि लामो प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ, त्यसैले पनि यो वर्ष दशैं अगाडि कुनै पनि बैंकले सेयरधनीलाई लाभांश दिन नसक्ने देखिएको हो ।

लाभांश प्रस्तावपछि पनि धेरै प्रक्रियाहरु पुर्याउनु पर्ने र साधारणसभा आह्वानका लागि पनि समय लाग्छ । सेयरधनीले लाभांश पाउनका लागि सबैभन्दा पहिले बैैंक तथा वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन राष्ट्र बैंकबाट स्वीकृत गर्नुपर्छ । स्वीकृत भएको प्रतिवेदनका आधारमा मात्रै बैंकहरुले लाभांश प्रस्ताव गर्छन् ।

नेपाल राष्ट्र बैंकले लाभांश घोषणाका लागि स्वीकृति दिएपछि मात्रै बैंक तथा वित्तीय संस्थाहरूले साधारणसभा बोलाउन पाइने व्यवस्था छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकले २१ दिन अगावै वार्षिक साधारणसभा बोलाउनु पर्ने व्यवस्था छ ।
गत आर्थिक वर्षसम्म दशैंअघि नै केहि बैंकहरूले सेयरधनीलाई लाभांश दिने गरेका थिए । तर, यो वर्ष भने कुनै पनि वाणिज्य तथा विकास बैंकले दशैंअघि सेयरधनीलाई लाभांश दिन नसक्ने भएका छन् । बैंकहरू प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत दिएपछिमात्रै बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि सेयर धनीको खातामा रकम जाने हो ।

चाँडै वार्षिक साधारणसभा गर्ने बैंकहरुले पनि आधा कात्तिकभन्दा अगाडि बोलाउन सक्दैनन् । दशैंमा लाभांश नपाएर निराश बनेका सेयरधनीले तिहारमा भने लाभांश पाउन सक्छन् । यद्यपि अहिलेसम्मको सिनारियो हेर्दा अधिकांश बैंकहरूले तिहारपछिमात्रै लाभांश दिने देखिएको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन कुमार दाहाल यो वर्ष लाभांश वितरणमा ढिलाइ हुने देखिएको बताए ।

हालसम्म ४ वटा वाणिज्य, पूर्वाधार विकास बैंक र कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेका छन् । यद्यपि यी बैंकहरूले पनि साधारणसभा भने बोलाएका छैनन् । सिटिजन्स बैंकले भने बुक ग्लोजको मितितय गरेपनि अन्यको भने कुनै सूचना आउन सकेको छैन । सिटिजन्स बैंकले भने यहि असोज २२ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यी बैंकले साधारणसभा बोलाउन पनि अझै १ महिना समय लाग्नेछ ।

कुन बैंकले कति दिदैछन् लाभांश

हालसम्म ६ वटा बैंकहरूले लाभांश घोषणा गरेका छन् । नेपाल राष्ट्र बैंकमा गत आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण पेश गरेर स्वीकृत गराएका बैंकहरूले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । लाभांश घोषणा गरेका बैंकहरूमध्ये सबैभन्दा बढी लाभांश सानिमा बैंकले दिने भएको छ ।

सिटिजन्सले १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १२.९१ प्रतिशत बोनस र ३.०८ प्रतिशत नगद लाभांश दिन लागेको हो । सिटिजन्स बैंकको चुक्ता पुँजी ११ अर्ब ६६ करोड २० लाख रहेको छ ।

यी बैैंकहरूमध्ये माछापुच्छ्रेले १४ प्रतिशत बोनस दिने भएको छ । बैंकले १३.३० बोसन र ०.७० नगद लाभांश दिने भएको छ । माछापुच्छ्रे बैंकको चुक्ता पुँजी ९ अर्ब ५ करोड ३१ लाख रहेको छ ।

गत वर्षको नाफाबाट सानिमा बैंकले चुक्ता पुँजीको १७.८९ प्रतिशत लाभांश दिने भएको छ । सोमध्ये १७ बोनस र ८९ प्रतिशत कर प्रयोजनका लागि नगद दिने भएको छ ।

नेपाल पूर्वाधार विकास बैंकले ८.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले घोषणा गरेको बैंकले नगद लाभांश दिने भएको छ ।

कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश दिने भएको छ । कुमारीको ६ प्रतिशत बोनस र २.६७ प्रतिशत लाभांश दिने भएको हो । कुमारीको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स