काठमाडौं । सरकारले मदिरा र सुर्तिजन्य पदार्थको कर बढाउने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत चुरोट, बिँडी, वियर, ह्विस्कीलगायतको अन्तःशुल्क बढ्ने भएको हो । सरकारले यसका साथै अन्य वस्तुको भन्सार महसुल पनि वृद्धि गरेको छ ।
सुन र चाँदीको भन्सार महसुल बढ्ने भएको छ । हाई रेन्जका सवारी, ठूला टेलिभिजन, महँगा बाइक तथा स्कुटर, कष्मेटिक आइटम, पेट्रोलियम पदार्थबाट चल्ने सवारीको भन्सार महसुल र अन्तःशुल्क बढाउने भएको हो ।
बजेटमार्फत बढाइने भन्सार तथा अन्तशुल्कका दरहरु बजेट लगत्तै लागु हुनेछ । आय कर भने साउन १ गतेदेखि लागू हुन्छ ।
सरकारले बजेट लेखनको सम्पूर्ण काम सकिसकेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महत रातभरी मन्त्रालयमै बसेर बजेटलाई अन्तिम रुप दिइरहेका थिए। उनी बिहान पौने ११ बजे फ्रेस हुनालाई निवास गएका छन् ।
आज साँझ ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत हुने छ । साँझ सार्वजनिक हुने बजेटले उत्पादक तथा उत्पादकत्वलाई बढाउने परियोजनलाई प्राथमिकतामा राखेर अघि बढेको छ । विदेश लागनी गर्न बाटो खुला गर्नेदेखि रेमिट्यान्स बढाउन समेत बजेटले प्रोत्सहन गर्नेछ ।