काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ २० लाखभन्दा बढीलाई नपर्ने भएको छ । उक्त कम्पनीको आईपीओमा २१ लाख बढी आवेदकले आवेदन दिएका छन् ।
आईपीओमा आवेदन दिएका आवेदकमध्ये ९६.४७ प्रतिशतले सेयर नपाउने भएका हुन् । यद्यपि आईपीओका लागि परेका आवेदनमध्ये केही आवेदन रद्द हुन सक्नेछ भने बैंकमार्फत आवेदन भर्नेको आवेदन यसमा थप हुन सक्नेछ ।
असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा बिहीबार बेलुका ५ बजेसम्म २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन् ।
कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्काशनमा ल्याएको हो । निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ । उक्त कम्पनीको सेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।