नेपाल एयरलाइन्सले असारको पहिलो सातादेखि अष्ट्रेलियाको सिड्नीमा उडान गर्ने

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ ।

सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो । विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले उल्लेख गरेको छ ।

विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाएको छ । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमको जहाज तत्काललाई सिंगापुरमा ‘टेक्निकल अवतरण’ गरेर सिड्नी उड्नेछ ।

‘आगामी असार ६ गते (जुन २१ तारिख) लाई लक्षित गरेर उडान स्वीकृतिका लागि स्लट, अवतरण पर्मिटलगायतका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ, स्लट पाइएको छ, बाँकी प्रक्रियामै छ’, उनले भने । उडानका लागि निगमले हाल जिएसए (जनरल सेल्स एजेन्ट) छनोट लगायत प्रक्रिया पनि अगाडि बढाएको छ ।

त्यस्तै, निगमले सिंगापुर र सिड्नीमा इन्धनका लागि पनि कम्पनी छनोटको काम गरिरहेको उल्लेख गरेको छ । सिंगापुर र सिड्नी विमानस्थलका लागि एमआरओ (मेन्टेनन्स, मर्मत र अपरेशन) समेत छनोट गरिसकेको छ । निगमले वाइडबडी ‘ए’ ३३० जहाजबाट अष्ट्रेलियाको सिड्नीमा सिधा उडानको तयारी गरेको जनाएको छ ।

मलेसिया–भैरहवा एघार हजार चार सय ६१ मै उडाउने

वायुसेवा निगमले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्दैछ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर ११ हजार चार सय ६१ कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।

‘मलेसिया–भैरहवा–काठमाडौंका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौं’, निगमका सहायक प्रवक्ता घिमिरेले भने । उनका अनुसार मलेसिया–भैरहवाका लागि एघार हजार चार सय ६१ र मलेसिया–भैरहवा–काठमाडौंका लागि १२ हजार तीन सय ४६ भाडादर कायम गरिएको छ ।

निगमको उडान नम्बर आरए ४२१ जहाज जेठ २९ गते काठमाडौंबाट मलेसियाको क्वालालम्पुर उडान गर्ने र जेठ ३० गते आरए उडान नम्बर ४२२ जहाज क्लालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं आइपुग्ने उडान तालिका रहेको छ । यो गन्तव्यमा निगमको न्यारो बडी ‘ए’ ३२० जहाजले उडान भर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स