लक्ष्मी र सनराइज बैंकबीच मर्जर सम्बन्धि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर, स्वाप रेसियो कति ?

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकका तर्फबाट सञ्चालक इ.बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

डीडीए रिपोर्टअनुसार दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन्। मर्जरपछि बन्ने बैंकको नाम ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ राख्ने सहमति भएको छ।

त्यस्तै, लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत रहनेछन्।

गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ।

उपरोक्त सम्झौतापत्र दुवै बैंकको साधारण सभामा पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति प्राप्त गरेपछि दुवै बैंकले एकीकृत कारोबार शुरु गर्नेछन्। दुवै बैंकले सम्पूर्ण प्रक्रियाहरु टुंग्याई आगामी असार मसान्तभित्रै एकीकृत कारोबार शुरु गर्ने लक्ष्य राखेका छन् ।

लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ। दुई बैंक मर्जपछि चुक्ता पुँजी २१ अर्ब ६५ करोड हुनेछ।

लक्ष्मी बैंकको निक्षेप संकलन १ खर्ब ४२ अर्ब ६४ करोड रुपैयाँ र सनराइज बैंकको १ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ । यस्तै, लक्ष्मी बैंकको कर्जा १ खर्ब ३७ अर्ब ४ करोड रुपैयाँ र सनराइज बैंकको १ खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

मर्जर पश्चात् बन्ने बैंकको निक्षेप संकलन २ खर्ब ६७ अर्ब ८३ करोड रुपैयाँ र कर्जा २ खर्ब ५६ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।

लक्ष्मीको जगेडा कोषमा ४ अर्ब ५५ करोड छ भने सनराइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स