वित्तीय सुशासन जोखिम मूल्यांकनः मेलम्ची नगरपालिका प्रथम, ८९.५ प्रतिशत प्रारम्भिक नतिजा

काठमाडौ । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्चीले आर्थिक वर्ष २०७८/०७९ को प्रारम्भिक नतिजामा ८९ दशमलव पाँच प्रतिशत अंक प्राप्त गर्दै जिल्ला प्रथम भएको हो ।

मेलम्चीले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९२ दशमलव ८६, कार्यान्वयन क्षमता तथा व्यवस्थापन ९७ दशमलव ९३, लेखाङ्कन तथा प्रतिवेदनमा शत् प्रतिशत, अनुगमन मूल्यांकन तथा लेखा परीक्षणमा ८१ दशमलव २५ र राजस्व व्यवस्थापनमा ८५ दशमलव २९ प्राप्त गरेको जनाइएको छ । जिल्ला समन्वय समितिले मूल्यांकन गरी अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

सो मूल्यांकनःअनुसार जिल्लाको भोटेकोसी गाउँपालिकाले ६५ अंक, जुगल गाउँपालिकाले ५० अंक, पाँचपाखरी थाङ्पाल गाउँपालिकाले ५४ अङ्क, हेलम्बु गाउँपालिकाले ४१ दशमलव पाँच अंक, चौतारा साँगाचोकगढी नगरपालिकाले ६६ अंक, बलेफी गाउँपालिकाले ६० दशमलव पाँच अंक, बाह्रबिसे नगरपालिकाले ६४ अंक, त्रिपुरासुन्दरी गाउँपालिकाले ६१ दशमलव पाँच अंक, लिसङ्खुपाखर गाउँपालिका ५४ दशमलव पाँच अंक र सुनकोशी गाउँपालिकाले ४२ दशमलव पाँच अंक प्राप्त गरेका छन् । मेलम्चीले आर्थिक वर्ष २०७७÷७८ मा पनि ७१.५ अंक प्राप्त गर्दै पहिलो भएको थियो ।

मेलम्चीले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ८६ प्रतिशत अंक दाबी गरेको छ । स्वमूल्यांकनको विषय क्षेत्रहरुको समग्र स्थितिमा ९२ दशमलव ८६ प्रतिशत प्रक्रियागत स्थितिमा ८३ दशमलव ८२ परिणात्मक स्थितिमा ८४ दशमलव ४४ प्रतिशत अंक दाबी गरेको छ । अब सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसको गुणस्तर परीक्षण गरी नगरपालिकाको अन्तिम नतिजा प्राप्त हुने मेलम्चीको सूचना प्रविधि शाखा प्रमुख अर्पना श्रेष्ठले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले आगामी आवमा दुईवटै मूल्यांकनमा ९० प्रतिशतभन्दा माथि अंक आउने गरी काम गर्ने लक्ष्य लिइएको जानकारी दिए । नगरपालिकाको मूल्यांकनपछि नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधानले आगामी वर्षहरूमा पनि स्थानीय तहमा प्रथम हुने गरी काम गर्ने बताए ।

सो नगरपालिका लगातार दोस्रोपटक जिल्लामै प्रथम भएको हो । आव २०७८/०७९ मा पनि मेलम्ची स्थानीय तह संस्थागत स्वमूल्यांकनमा प्रथम भएको नगरपालिकाले जनाएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स