काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संघीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संसद् सचिवालयले जनाएको छ । सरकारको नीति तथा कार्यक्रमले देशको उत्पादन तथा उत्पादकत्व बढाउनेमा केन्द्रित हुने बताइएको छ ।
राष्ट्रपति पौडेलले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिमा चयन भएपछि संसदमा उनको यो पहिलो सम्बोधन हुन लागेको हो।
संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम छ । नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलको सम्बोधन प्रति ती बैठकमा टेबुल गर्नेछन् ।
सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ । सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ ।