काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रका गतिविधिलाई डिजिटल माध्यममा प्रस्तुत गर्दै आएको फाइनान्सियल नोटिसेस डटकमको मोबाइल एप नयाँ फिचरहरुका साथ अध्यावधि गरिएको छ । बैंक तथा वित्तीय क्षेत्रका गतिविधिको जानकारीलाई डिजिटल माध्यममा प्रस्तुत गर्ने एपले आफ्ना सुविधाहरू विस्तार गर्दै बहुउपयोगी एपको रुपमा विकास गर्दै आएको छ ।
हाम्रो दैनिक कारोबारलाई व्यवस्थित र सरल बनाउन सहयोग गर्ने लेजर बुक अर्थात् डिजिटल क्यास बुकमा ग्राहक र आपूर्तिकर्ताहरुका लागि छुट्टाछुट्टै कारोबार प्रविष्टि गर्ने सुविधाहरु थपिएका छन् । एपमा दैनिक रुपमा गरिने खर्च र आम्दानीको हिसाब विवरण राख्ने ‘एक्सपेन्स ट्य्राकर’ को फिचर र व्यक्तिगत वा संस्थाको दैनिक लेनदेन तथा कर्जा सापटीको लेखा राख्न सकिने ‘क्रेडिट ट्य्राकर’ लाई थप व्यवस्थितका साथ अध्यावधिक गरिएको छ ।
बिना इन्टरनेट अफ लाइन भएको समयमा पनि कारोबारहरु प्रविष्ट गर्न सकिने यस एपमा उपलब्ध ब्यक्तिगत तथा व्यवसायीक वित्त व्यवस्थापनका फिचरहरुले प्रयोगकर्ताहरूलाई खर्चहरू निगरानी गर्न, खर्च कटौतीका क्षेत्रहरू पहिचान गर्न र राम्रो क्रेडिट स्कोर कायम राख्न मद्दत गर्दछ। लेजर बुक एपहरूले साना तथा मझौला व्यवसायी र स्व–रोजगारी व्यक्तिहरूलाई आफ्नो वित्त व्यवस्थापन गर्न, वित्तीय विवरणहरू तयार गर्न र लगानीको बारेमा सूचित निर्णयहरू लिन सक्षम बनाउने कम्पनीले जनाएको छ ।
एपमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुमा गुनासो गर्न सकिने सुविधा थप गरिएको छ । पछिल्लो समय सम्बन्धित बैंक तथा वित्तीय संस्थामा उक्त संस्थाको सेवा सुविधालगायत अन्य जनगुनासाहरु गर्न सकिन्छ । सम्बन्धित वित्तीय संस्थाबाट पनि गुनासोको सुनुवाई नभए सिधै नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाई पोर्टलमा गई गुनासो गर्न सकिने सुविधा पनि रहि आएको छ ।
कतिपय अवस्थामा बैंक वित्तीय संस्थामा गुनासो गर्नुपर्दा ग्राहकहरुलाई सम्बन्धित गुनासो विभागका जानकारीहरु एकै एपमार्फत् सहजै भेट्न सकून् भन्दै एपमा सम्पूर्ण बैंकको गुनासो गर्न सकिने सुविधा थप गरिएको कम्पनीले जनाएको छ । यस एपमा वित्तीय क्षेत्रका सम्पूर्ण सूचना, समाचार तथा महत्वपूर्ण आर्थिक जानकारी, स्टक मार्केट, आगामी कार्यक्रम, नयाँ योजना तथा नयाँ फिनटेक अफरहरु समावेश छन् ।
सूचनाहरुलाई अडियो नेपाली भर्सनमा समेत सुन्न मिल्ने यो एप नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रयोग गर्न सकिन्छ । यसले प्रयोगकर्ताको दैनिक व्यवहार सजिलो बनाउनुका साथै वित्तीय साक्षरता तथा ज्ञानको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । अध्यावधिसँगै थप विस्तारित भर्सन र बहुउपयोगी ‘फाइनान्सियल नोटिसेस’ एप एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोर र आइओएस प्रयोगकर्ताका लागि एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । एपका नयाँ सुविधाहरूले प्रयोगकर्ताहरूलाई आफ्नो वित्तीय व्यवहारलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न र आफ्नो लगानीको बारेमा सूचित निर्णयहरू लिन सक्षम बनाउने कम्पनीको विश्वास छ ।