बीमा व्यवसायको लागत घटाएर दायरा विस्तार गर्नुपर्छः अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा व्यवसाय क्षेत्रको प्रभावकारी नियमन आवश्यक रहेको बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५५औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले बीमा क्षेत्रको नियामकका रुपमा रहेको प्राधिकरणले व्यावसायिकताको खाँचो मात्रै औल्याएर नियामक आफै सरकारी कम्पनी ध्वस्त गर्ने कार्यमा संलग्न भएको बताए ।

‘नियामक आफैले आफ्नो व्यावसायिकता पूरा गरे–नगरेको बारे समीक्षा गर्नुपर्ने भएको छ,’ उनले भने ‘पुरातन शैलीले नभई अब नवीनतम प्रविधिको प्रयोगमार्फत स्वस्थ, प्रतिस्पर्धी र ग्राहकको सुरक्षालाई ध्यानमा राखी बीमा व्यवसाय चलाउन नियामकको भूमिका बनाउन आवश्यक छ ।’

‘बीमा व्यवसाय विस्तार गरेर लागत कम गर्नुपर्छ,’ उनले भने ‘बीमा कम्पनीको संख्या धेरै भएकाले यो व्यवसायलाई थप मजबुद र प्रतिस्पर्धी बनाउन मर्जरको नीति लिइनुपर्छ । यति धेरै बीमा कम्पनीलाई लाइसेन्स दिनु ठीक थिएन । बीमा पोलिसी दिँदा जे जस्ता सेवासुविधा दिने भनेर प्रतिबद्धता जनाएका छन्, त्यो कार्यान्वयन भए÷नभएको बारे नियामकले नियमन गर्न आवश्यक छ ।’

अरु के के भने अर्थमन्त्री डा. महतले
अब यसलाई प्रतिस्पर्धी एउटा साइजमा ल्याउनु पर्दछ । हाम्रो जस्तो अर्थतन्त्र भएको देशमा कति वटा बीमा कम्पनी आवश्यक पर्ने हो ? कति बीमा कम्पनीहरु दीगो रुपमा बाँच्न सक्छन र ग्राहकहरुको क्षमतालाई धान्न सक्छ ।
यद्यपि यही कुरालाई ध्यानमा राखेर मर्जरमा जाँदैछ । सुरुमा यत्रो धेरै बीमा कम्पनीहरूलाई अनुमति दिनु नै ठीक थिएन । अब त्यसको कोर्स करेक्सन हुनु जरुरी छ । ती कम्पनीहरुलाई स्वस्थ, प्रतिस्पर्धी र ग्राहकको सुरक्षा र ग्राहकमैत्री कम्पनीको रुपमा विकास गर्न जरुरी छ ।

त्यसको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण दायित्व र भूमिका अपेक्षा गरिएको छ । यसको लागि व्यावसायिक दक्षता अभिबृद्धि अर्को महत्वपूर्ण पाटो हो । आधुनिकीकरण गर्न जरुरी छ । परम्परागत तरिकाबाट होइन । नियामक आफैले सरकारी कम्पनीलाई डिस्ट्रोय गरेर अर्कोलाई फाइदा दिने, अर्कोलाई फाइदा दिन अर्कोलाई दिने यो नियामकको काम होइन ।

त्यसलाई साँच्चिकै विधिको शासनभित्र बसेर सञ्चालन गर्ने नियामकको जिम्मेवारी हुन्छ । मलाई आशा छ, विश्वास छ, आउने दिनमा नेपाल बीमा प्राधिकरणले त्यो भूमिकालाई बखुबी निर्वाह गर्नेछ ।

म मन्त्रीको हैसियतमा काम गरेको सात हप्ता लाग्दैछ । बजेटको अन्त्यै नजिकमा अर्थमन्त्रालयको जिम्मेवारीमा आएँ । र, जति पनि अर्थमन्त्रालय मातहतमा जोडिएका संस्थाहरु छन् । बैंकहरु छन, बीमा छन्, कोषहरु छन्, अरु नियामक निकायहरु छन्, यी सबैलाई नजिकबाट र गहिरिएर हेर्न पाएको छैन । बजेट सकिएपछि मैले यी फरक फरक संस्थाहरुमा त्यसको प्रभावकारिता के छ ? कहाँ व्यावसाकियताको अभाव छ ?

त्यो सबै खोजी गर्नेछु । म राजनीति चाखो छ भनेर भन्दिन, राजनीतिक तहबाट बेला बखतमा हुने हस्तक्षेपले पनि व्यावसायिकतामा ह्रास आएको छ । त्यसो गर्न दिइने छैन । अबका दिनमा सबै निकायमा व्यावसायिक ढंगबाट काम गर्नुपर्दछ ।

खासगरी, अर्थमन्त्रालय र जोडिएका संरचनाहरु त्यो हिसाबले चलेन भनेदेखि राज्य संयन्त्रहरु यही हिसाबले अघि बढाउन कठिन हुन्छ । अर्थमन्त्रालय मातहतमा पारदर्शी, व्यावसायिकता, उत्तरदायी र जवाफदेहीलाई प्राथमिकतामा राख्नु पर्दछ । नेपाल बीमा प्राधिकरणलाई यही नीति पालना गर्न आग्रह गर्दछु ।

जति पनि बीमा कम्पनीहरु देशैभरि सक्रिय भइरहनु भएको छ, यहाँहरुको पनि जिम्मेवारी छ । बीमा भन्ने वित्तिकै सुरक्षा भन्ने कुरा आउँछ । त्यसैको लागि त नागरिकले बीमा गर्छन नि । सबै बीमा कम्पनीरुले त्यही जिम्मेवारीलाई पालना गर्नुहुनेछ । एउटा मात्रै कम्पनीलाई कुनै पनि कुरामा सुरक्षा दिन समस्या देखिएको छ भने त्यसलाई नियामकसँग बसेर समाधान गर्नुपर्दछ ।

बीमाको लक्ष्य लागत घटाउने र कभरेज विस्तार गर्नुपर्दछ । जति दायरा फराकिलो पार्न सकिन्छ, त्यति नै लागत घट्ने हुँदा त्यसतर्फ ध्यान दिनुहोला । मितव्ययितालाई ध्यानमा राखेर काम गरौं । के के सेवा हामी दिँदैछौं, पारदर्शी हिसाबले दिऔं । लिँदा चाही हामी धेरै कुरा बाचा गर्ने, सम्पूर्ण कुरा भइहाल्छ भनेर मार्केटिङ गर्ने जब बीमितलाई सेवा आवश्यक पर्छ, त्यस बेलामा अनेकौं बाहना गरेर दुःख दिने जिम्मेवारीबाट पञ्छिने गर्नु हुँदैन । त्यस्तो बेलामा नियामक बीमा प्राधिकरण रेखदेख गरेर सही मार्गमा ल्याउनु पर्दछ । सरकारले बीमालाई उच्च प्राथमिकता दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स