काठमाडौं । पुँजी बजारको वर्तमान परिवेशलाई नियाल्दा सरकार तथा नियमनकारी निकायहरूले तत्काल आत्मबल खस्केका लगानीकर्तालाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।
नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको अवस्था हेर्दा राम्रो नै देखिएता पनि तिनै बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य भने अत्यन्त न्यून विन्दुमा आएको पाइन्छ । बजारका सूचकहरूलाई हेर्दा बैंक वित्त संस्थाको मूल्य आम्दानी अनुपात( पीई रेसियो) १० प्रतिशतभन्दा कमको हाराहारी हुनुलाई कम्पनीको मूल्य अत्यन्त न्यून रहेको मानिने विश्व बजारमो प्रचलन रहेको छ ।
पुँजी बजारमा आईपीओ भर्नेको संख्या हेर्ने हो भने हालको अर्थतन्त्र बिग्रिएको यस्तो समयमा पनि १५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ता रहेको पाइन्छ । विगतमा २५ लाखसम्मले आईपीओमा आवेदन दिएका थिए । यसरी डीम्याट खाता खोल्नेहरूको संख्या पनि सीडीएससीका अनुसार लगभग ५६ लाख रहेको पाइन्छ । नेपालको जनसंख्याको करिब १८ प्रतिशत मानिसहरूको सम्लग्नता रहेको पुँजी बजारमा केहि ठूला लगानीकर्ता रहेता पनि अधिकांश साना लागनीकर्ताहरू छन् भने अन्यमा गृहिणीहरू रहेको तथ्यांकले देखाउँछ ।
यस परिवेशमा नेपाल राष्ट्र बैंकले २ वर्ष अगाडि ल्याएको मौद्रिक नीतिमा ४/१२ को नीतिले ठूला लगानीकर्तालाई सेयर धितो कर्जा सीमा अनिवार्य घटाउनु पर्ने व्यवस्थाको कारण उनीहरू १२ करोडको सीमामा माथिल्लो विन्दुमै बेचेर सहज रुपमा अवतरण गर्दा साना लगानीकर्ताको हक हितको लागि भनेर राष्ट्र बैंकले २५ लाखसम्मको सेयर धितोकर्जा सहज बनाइदिनाले गर्दा ठूला लगानीकर्ताले साना लगानीकर्तालाई आफ्नो लोनको भारी साना लगानीकर्ताको थाप्लोमा सारिदिए जस्तै सेयर ट्रान्फर भइदिनाले ठूला लगानीकर्ता हाई सन्चोमा रहने र साना लगानीकर्ता पानी बिनको माछा झै छटपट्टि आत्म हत्या गर्नुपर्ने परिस्थितिको सिर्जना नीतिगत रुपमा राष्ट्र बैंककै नीतिले सिर्जना भएको छ ।
साना लगानीकर्ता तथा गृहिणीहरूलाई भने सानो ऋण भएपनि हालको विन्दुमा आईपुग्दा आफ्नो सम्पूर्ण सम्पत्तिको करिब दुई तिहाई गुमिसेकेको अवस्था छ भने केहि क्षमता हुनेहरूको पनि यस्तै अवस्था रहे केहि महिनामानै लगानी जति पानीमै बगाए सरह हुने आँकलन गर्न सकिन्छ ।
हाल सेयर बजारमा वैदेशिक रोजगारीबाट भएको कमाइ पनि पुँजी बजारमा लगाउनेहरूले अब के का लागि लगानी गर्ने भन्ने दिन नआउला भन्न सकिन्न् ।
प्रत्येक महिना तलब तथा अन्य आम्दानीको सानो सानो रकमलाई पुँजी बजारमा लगाउँदै आफूलाई चाहिएको बेला एकमुष्ठ बिक्री गरी आफ्नो गर्जो टार्नको लागि र नयाँ व्यवसाय तथा भौतिक सम्पत्ति जोड्नको लागि पनि यो पुँजी थोरै थोरै लागनी गरि पुँजी निर्माण गर्ने गतिलो स्थान हो ।
जसले राज्यलाई पुँजीगत लाभकर तिर्नुका साथै स्टार्टअप कम्पनीहरूलाई स्थायित्व प्रदान गर्नको लागि महत्वपूर्ण भुमिका खेलेको हुन्छ । जसबाट रोजगारी समेत सिर्जना भइ राष्ट्र निर्माणमा महत्वपूर्ण भुमिका खेल्छ ।
पुँजी भनेको जहाँ सहज हुन्छ र जहाँ पुँजीले पुँजीको सिर्जना गर्छ त्यो ठाउँमा नै लगानीको वातावरण बन्ने हो र लगानी थपिने पनि हो । जुन देशमा पुँजीको क्षयीकरण सरकारको नीतिको कारणले हुन्छ भने अवश्य पनि त्यस देशबाट पुँजी पलायन भई अन्य देश जान्छ ।
सरकार तथा राष्ट्र बैंकले आफूले लिने नीतिले सिमित वर्ग र पार्टीको हित भन्दा पनि आम जनतालाई राहत पुग्ने गरी नीति बनाउनु पर्दछ । र पुँजी बजारमा फसेका साना लगानीकर्ता तथा गृहिणीहरूलाई उकास्ने नीति लिनु नै राज्यको अहिले दायित्व र आवश्यकता हो ।