आगामी वर्षको कार्यक्रम पेस गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका कार्यक्रम तर्जुमा गरेर जेठ १० गतेभित्र पेस गरिसक्न विभागीय प्रमुखलाई निर्देशन दिएको छ । कामपाको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले आइतबार विभागीय प्रमुखहरुको बैठकमा चालु आर्थिक वर्षको सिलिङ नबढ्ने गरी, कार्यान्वयन योग्य कार्यक्रम तर्जुमा गर्न विभिगीय प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।

‘महानगर गौरवका योजना के हुन सक्छन् ? सोच र परिकल्पना पत्र निर्माण गर्नुहोस्, अधिकारीले भने, ’हामीले महानगर कस्तो बनाउन चाहेका छौँ। कार्यक्रमबाट देखिनुपर्छ। यी कार्यक्रम नागरिकसँग जोडिने खालका हुनुपर्छ । कार्यान्वयन योग्य हुनुपर्छ ।’ आर्थिक वर्ष २०८०/०८१ अधुरा योजना पूरा गर्ने वर्ष हुने र त्यसपछि कुनै पनि अधुरा योजना बाँकी नरहने गरी कार्यक्रम तर्जुमा गर्न पनि बैठकमा उनले जोड दिए ।

कामपाका विभागहरु काठमाडौं प्लाजामा सार्ने विषयले बैठकमा लामो समय लिएको थियो। अहिलेसम्ममा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र सचिवालय, प्रशासन विभाग, सामाजिक विकास विभाग, स्वास्थ्य विभाग, कानुन तथा मानव अधिकार विभाग, विपद् व्यवस्थापन विभाग, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखापरीक्षण एकाइ, खरिद एकाइ प्लाजामा सरिसकेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय आगामी जेठ ३ गतेभित्र, सहकारी विभाग जेठ ६ गतेभित्र, सहरी व्यवस्थापन विभाग जेठ ८ गतेभित्र प्लाजामा सरिसक्ने योजना कामपाको छ ।

कार्यालय सार्ने निहुँमा कुनै पनि सेवा रोकिनुहुन्न। सेवामा कोही पनि सेवाग्राहीले दुःख पाउनु हुँदैन। बैठकमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, प्लाजामा सहयोग कक्ष स्थापना गरेर सेवाग्राहीले सूचना दिने र सहयोग उपलब्ध गराउने बताए। सहायता कक्षबाटसम्बन्धी जानकारी र सहयोग प्राप्त हुनेछ ।

प्लाजाको बाहिर सेतो पृष्ठभूमिमा रातो अक्षरले महानगरपालिका लेखेको बोर्ड राखिसकिएको छ । भित्र विभागहरुको संकेतका लागि हरियो पृष्ठभूमिमा सेतो अक्षरले नाम लेखिनेछ । हरेक तलामा कुन कुन विभाग छन् नाम लेखिनेछ । यही वैशाखदेखि नै कामपाको १४ वटै विभागले काठमाडौं प्लाजाबाट सेवा दिने भने पनि यस अघि रहेका केही कार्यालयहरु अयन्त्र नसरेकाले समस्या भएको कामपाको भनाइ छ । –रासस

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स