पश्चिमी वायुको प्रभावले काठमाडौंसहित देशका केही स्थानमा वर्षा हुने

काठमाडौं । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले काठमाडौंसहित देशका केही स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ ।

‘पश्चिमी वायुको प्रभावले काठमाडौंमा अहिले छिटफुट वर्षा भएको छ, दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा छिटफुट वर्षाको सम्भावना छ’, महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने ।

काठमाडौंमा आज बिहानैदेखि आंशिक बदली रहनुका साथै भर्खरै छिटफुट वर्षासमेत भएको छ । उपत्यकामा खण्डित रुपमा वर्षा भएको माशाखाले जनाएको छ ।

‘मोखा’ चक्रवातको प्रभाव छैन

बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने महाशाखाकाले उल्लेख गरेको छ । मौसमविद् समीर श्रेष्ठले नेपालमा मोखा चक्रवातको कुनैपनि प्रभाव नरहेको बताए ।

‘चक्रवात पूर्वतर्फ सरिरहेको छ, नेपालमा यसले असर गर्दैन’, उनले भने, ‘नेपाललाई नछोइकन बंगालको खाडी हुँदै तटीय क्षेत्रमा अघि बढेको चक्रवातले भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमारमा मुख्य असर पर्ने देखिन्छ ।’

उक्त चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएर उत्तर-उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स