काठमाडौं । यूनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
चालु आवको यो अवधिमा कम्पनीको खुद नाफा ६९.०६ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २२ करोड ४ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३७ करोड २६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले बिक्रीमार्फत १ अर्ब ९६ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.१५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले बिक्रीमार्फत १ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ७६ प्रतिशत बढेको छ भने कुल आम्दानी २०.२६ प्रतिशत बढेको छ । कम्पनीको खर्च समीक्षा अवधिमा ९.२३ प्रतिशत बढेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २२० रुपैयाँ ३४ पैसा बढेर ५३९ रुपैयाँ ४१ पैसा पुगेको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ४ हजार १२६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४४.५१ गुणा रहेको छ ।
९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ७० करोड ७७ लाख रुपैयाँ सञ्चित छ ।