शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौं : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताएका छन् ।

आज आफूसँग भेट गर्न आएका नेकपा (एकीकृत समाजवादी)का नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिसँगको छलफलमा उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए । ‘निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी छुट्ने छैनन्’, उनले भने ।

उपप्रधानमन्त्री श्रेष्ठले यस प्रकारको ठगी सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको उल्लेख गरे । अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उनको भनाइ छ । ‘यो भ्रष्टाचार मात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको सङ्गठित अपराध हो । यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्यविरुद्धकै अपराध हो’, उनले भने ।

सो प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख उल्लेख गर्दै उनले दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पु¥याइने दृढता व्यक्त गरे । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट आफूले दह्रो साथ र आडभरोसा पाएको उनको भनाइ छ ।

‘मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस् उसलाई नपक्रनुस् भनेर दबाब दिएको छैन । दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उनीहरूको कुरा छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘प्रधानमन्त्रीको निर्देशन र आडभरोसा छ । दोषीलाई कारबाही गरियोस् निर्दोस नपरुन् भन्ने छ सबैको कुरा ।’

उनले प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए । ‘राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईंहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु,’ उनले भने ।

भेटमा एकीकृत समाजवादीका नेताले शरणार्थी प्रकरणमा सरकारले प्रशंसनीय काम गरेको भन्दै बधाई दिएका थिए । यो अनुसन्धान प्रक्रियामा आफूहरूको पनि समर्थन रहने भन्दै उनीहरूले कुनै पनि दबाबको अगाडि नझुक्न उपप्रधानमन्त्री श्रेष्ठलाई सुझाव दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स