काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती गरिएको छ ।
भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन् । उनी श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुन् । हाल उनले झण्डै डेढ बिघा जग्गामा श्रीखण्ड, रक्तचन्दन र अगरउडको खेती गरेका छन् । उनले विसं २०७२ सालमा नेपाल चन्दन प्रालि दर्ता गरेर खेती सुरु गरेको हो ।
विसं २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गरेएका पन्त अहिले सबै काम छाडेर श्रीखण्ड, रक्तचन्दन र अगरउडको बिरुवा उत्पादनमा सक्रिय छन् । वन विभागको अनुमति लिएका उनले भने, ‘रक्तचन्दनको खेतीबारे यहाँका किसान जानकार छैनन ।’ पन्तले उत्पादन गरेका बिरुवा स्थानीय बजार, सङ्घसंस्थाका साथै वन कार्यालयले खरिद गर्ने गरेका छन् ।
सुरुआतमा खेती गर्ने उद्देश्यले व्यवसाय थालिए पनि पछि जमिन नपाउँदा नर्सरी बनाएर बिरुवा उत्पादनमा लागेको पन्त बताए । अहिले खेतीबाट भएको मुनाफाको ५० प्रतिशत दिने गरी जमिन भाडामा लिएको बताए । महेन्द्रनगरकै उल्टाखाममा अर्का एक किसानले पनि आठ कठ्ठामा यो व्यवसाय सुरुआत गरेका उहाँले जानकारी दिए।
काठमाडौंमा विभिन्न बालीका विषयमा अनुसन्धान गरेका पन्तले सन् २०१६ मा दक्षिण भारतबाट तालिमसमेत लिएका बताए । ‘वार्षिक १८ लाखदेखि २० लाख रूपैंयाँसम्मको कारोबार हुन्छ’, उनले भने, ‘व्यवसाय बढाउन जिल्ला वन कार्यालयदेखि प्रदेश सरकारसम्म धाए पनि कहीँकतैबाट सहयोग प्राप्त भएन ।’ अहिले ‘श्रीखण्डको भित्री काठ अहिले तीन हजार पाँच सयदेखि चार हजार रूपैयाँसम्ममा बिक्री हुने गरेको छ’, उनले भने, ‘रक्तचन्दनको कारोबार भने हालसम्म यहाँ भएको छैन ।’
कृषिमा आधारित व्यवसाय गरेर आत्मसन्तुष्टि मिलेको उल्लेख गर्दै पन्तले कानुनीरूपमा स्वीकृति लिएर व्यवसाय गर्न कुनै समस्या नरहेको बताए । व्यावसायिक कृषिले आर्थिक अवस्थामा सुधार आउनसक्ने सम्भावना धेरै भए पनि त्यसतर्फ खासै ध्यान पुग्न नकसकेको उनको भनाइ छ ।
धार्मीक कार्यमा रक्तचन्दन र श्रीखण्डको बढीजसो प्रयोग गरिन्छ । रक्तचन्दनको बिरुवा रोपेको १८ वर्षमा तयार हुने पन्त जानकारी दिए । एक बिरुवाको तौल तीन क्विन्टलदेखि पाँच क्विन्टलसम्म हुनुका साथै विभिन्न किसिमका आयुर्वेदिक औषधि उत्पादनमा यसको प्रयोग हुने गरेको छ । श्रीखण्डको डाँठ र जराबाट बहुमूल्य तेल उत्पादन गर्न सकिन्छ ।