एकै दिन उठ्यो करिब ८ अर्ब राजस्व, अझै सरकार २ खर्ब ३८ अर्ब घाटामा

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको मूल्य अभिवृद्धि कर(भ्याट) तिर्ने अन्तिम दिन हिजो मंगलबारमात्रै सरकारले ७ अर्ब ८९ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । अस्ति सोमबार वैशाख २४ गतेसम्म ७ खर्ब ७३ अर्ब ६५ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएकोको हिजो भ्याट बुझाउने अन्तिम दिन सो राजस्व बढेर ७ खर्ब ८१ अर्ब ५५ करोड ४२ लाख रुपैयाँ पुगेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

चालु आवको यो अवधिसम्म भएको राजस्व संकलन कुल लक्ष्यको ५३.५८ प्रतिशत हो । सरकारले चालु आवमा १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । सरकारले हालसम्म संकलन गरेको राजस्वमध्ये ६ खर्ब ६९ अर्ब ७० करोड ४७ लाख कर हो भने ७० अर्ब ८९ करोड ३० लाख गैर कर हो ।

सरकारले हिजो मंगलबार करिब ८ अर्ब राजस्व उठाएर करिब ४ अर्ब खर्च गरेको छ । हिजोमात्रै सरकारले ३ अर्ब ९६ करोड ९० लाख रुपैयाँ खर्च गरेको हो । सो खर्च सहित सरकारको कुल खर्च १० खर्ब १९ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

सो खर्चमध्ये पुँजी निर्माण गर्ने अर्थात पुँजीगत खर्च भने जम्मा ३२ प्रतिशतमात्रै भएको छ । चालु खर्च लक्ष्यको तुलनामा ६४.६५ प्रतिशत भएपनि पुँजीगत खर्च नहुने रोग भने फेरि पनि उस्तै बल्जिएको छ ।

खर्च र आम्दानीको रेसियो नमिल्दा सरकार अहिले पनि २ खबै ३८ अर्ब १३ करोड ५१ लाख रुपैयाँ बजेट घाटामा छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स