हिमालयन लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आज, पौन ८ अर्ब चुक्ता पुँजी भएको बन्यो कम्पनी

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भइ आज वैशाख २६ गतेदेखि एकिकृत कारोबार शुरु गर्दैछन् । यी तीन कम्पनीले एक आपसमा गाभिन बीमा प्राधिकरणबाट वैशाख १३ गते अन्तिम स्वीकृति पाएका थिए ।

सोही अनुरुप यी कम्पनीले एकीकृत कारोबारका लागि मिति तय गरेका हुन् । मर्जर पछि यी तीन कम्पनीको कारोबार हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट हुनेछ । यी तीन कम्पनी बराबरी हैसियतमा गाभिन लागेका हुन् । मर्जर पछि हिमालयन लाइफको चुक्ता पुँजी ७ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ । नयाँ बनेको हिमालयन लाइफमा मनोजलाल कर्ण सिईओ बनेका छन् भने अध्यक्ष सुलभ अग्रवालले सम्हाल्नेछन् ।

हाल प्राइम लाइफको चुक्ता पुँँजी २ अर्ब ७७ करोड छ । अहिले प्रस्तावित १३ प्रतिशत बोनश सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब १४ करोड पुग्छ । त्यस्तै युनियनको चुक्ता पुँँजी २ अर्ब १५ करोड रुपैयाँ छ ।

प्रस्तावित ८.६५ प्रतिशत बोनस सेयर वितरण पछि चुक्ता पुँजी २ अर्ब ३३ करोड पुग्नेछ । साथै गुराँसको २ अर्ब २३ करोड रुपैयाँ रहेको छ । प्राइम लाइफ र गुराँस लाइफ २०६४ सालदेखि संचालनमा आएका हुन् भने युनियन लाइफ इन्स्योरेन्सले २०७४ सालदेखि जीवन बीमा व्यवसाय प्रारम्भ गरेको थियो ।

मर्जर पश्चात बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने जनाइएको छ । एकिकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनाको काम गर्नु पर्ने भएकोले वैशाख २३, २४ र २५ गतेसम्म ३ वटै कम्पनीले प्रदान गर्ने सम्पूर्ण बीमा सेवाहरु बन्द थियो ।

युनियन र प्राइमको वैशाख ६ गते सम्पन्न विशेष साधारणसभाबाट र गुराँस लाइफको पनि वैशाख ६ गते नै सम्पन्न वार्षिक साधारण सभाबाट यी तिनै कम्पनीले मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए । नेपाल धितोपत्र बोर्डले यी तिन कम्पनीलाई वैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले बैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स