काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले टुकुचा (इइच्छुमती) खोलाको क्षेत्राधिकारभित्रको जग्गा सार्वजनिक हितमा ल्याउने स्पष्ट पारेका छन् । मेयर बालेन साहले आज बिहान द्विट गर्दे भनेका छन् ‘टुकुचा खोलाको क्षेत्रधिकार भिधको व्यक्ति विशेषको नाममा त्रृटीवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरबासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइनेछ ।’
अदालतको फैसला पछि टुकुचामाथि बनेका भवन भत्काउने तयारीमा महानगर, मुआब्जाको लागि संघीय सरकारसँग समन्वय
उनले अगाडि भनेका छन् ‘पाटन उच्च अदालतको यस फैसलाबाट पनि यो पुष्टि हुन्छ कि टुकुचा खोलाको प्राकृतिक अधिकार पुनः स्थापना गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको छ । खोला छोप्ने कार्य बर्जित हो, यस्तो कार्यलाई सक्रियता पूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरुप हामीले चालेका कुने नि कदम खेरा गएका छैनन् ।’
टुकुचा खोलालाई प्राकृतिक स्वरुपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रुपमा मान्यता दिएको छ । टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ ।
बालेन साहको यो द्विटसँगै अब टुकुचा खोला माथि बनेका व्यक्ति तथा कर्पोरेट हाउसहरूको भवन भत्काएर नदिको बग्न पाउने प्राकृतिक अधिकारलाई पुनः स्थापित गर्ने देखिएको छ । उच्च अदालतको यो फैसलाले व्यक्ति तथा कुनै कर्पोरेट हाउसहरूले निजी प्रयोजनमा ल्याएका जमिन पुन सार्वजनिक हितमा प्रयोग हुने देखिएको छ ।
यस्तो छ वागमती सभ्यता विकास समितिको अध्ययन प्रतिवेदन
सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकारप्राप्त एकीकृत वागमती सभ्यता विकास समितिले साढे दुई वर्षअघि टुकुचा खोलाको करिडोर व्यवस्थापनका लागि पूर्वसम्भाव्यता अध्ययन गराएको थियो। बोनाफाइड इञ्जिनियरिङ कन्सल्टेन्सी प्रालिले तयार पारेको उक्त पूर्वसम्भाव्यता प्रतिवेदनमा टुकुचा खोलाको वास्तविक अवस्था छर्लंग पारेको छ ।
प्रतिवेदनले टुकुचाको प्रत्येक खण्डको अवस्था मात्र औंल्याएको छैन, कुन ठाउँ कसरी अतिक्रमणमुक्त गर्ने र कसरी नयाँ ढंगले पुनर्निर्माण गर्ने भनेर डिजाइन पनि प्रस्ताव गरेको छ । यो खुला क्षेत्रलाई पार्क र साइकल लेनका रूपमा विकास गरेर सर्वसाधारण निम्ति खुला गर्न सकिने प्रतिवेदनले सुझाएको छ । यो खुला क्षेत्रलाई खोलाको करिडोरका अतिरिक्त पार्कका रूपमा प्रयोग गर्न सकिने प्रतिवेदनले औंल्याएको छ।
‘इच्छुमती’ समेत भनिने टुकुचा खोलालाई कन्सल्टेन्सीले दश भागमा बाँडेर अध्ययन गरिएको थियो। ती दश भागमध्ये कुन ठाउँमा खोलाको अवस्था कस्तो छ भन्नेबारे स्याटलाइट, ड्रोन र स्थलगत तस्विरसहित प्रतिवेदनमा वर्णन गरिएको छ ।
प्रतिवेदनअनुसार खोलाको पहिलो खण्ड भाटभटेनीस्थित टुँडालदेवी मन्दिरबाट चिनियाँ दूतावाससम्म जान्छ । यसको दुरी ७ सय ८० मिटर छ ।
आवासीय क्षेत्रमा पर्ने यो खण्डमा खोला जुन दिशातर्फ बग्छ, त्यसको दायाँ ६ मिटर फराकिलो बाटो छ भने बायाँतर्फ घरहरू छन् । यहाँ घर र बाटोले दुवैतिरबाट खोला च्यापेर साँघुरो पारेको छ । खोला खुम्चाउन माथिबाट कंक्रिटको स्ल्याब हालिएको छ र त्यो स्ल्याबमा पैदलमार्ग बनाइएको छ ।
यति मात्र होइन, खोलालाई बाँध्न दायाँबायाँ पर्खाल लगाइएको छ । खोलाको दुबैतर्फ चार मिटर क्षेत्र खाली छाड्नुपर्ने नियम यहाँ कार्यान्वयन भएको छैन ।
बालुवाटारमा टुकुचा मिचिएको घटना धेरै पुरानो होइन। सहरी योजनाकार तथा भूमिगत जलस्रोत विशेषज्ञ पद्मसुन्दर जोशीले २०५६ सालमा चिनियाँ दूतावाससँगैको टुकुचा छोपेर सडक निकालिएको बताएका छन् ।
टुकुचाको दोस्रो खण्ड चिनियाँ दूतावासदेखि गैरीधारा (नारायणहिति दरबार संग्रहालयको उत्तर) सम्म जान्छ। यसको लम्बाइ एक हजार मिटर छ । यो ठाउँ पनि आवासीय क्षेत्रमा पर्छ। यहाँ खोला बग्ने दिशाको देब्रेतर्फ ६ मिटर फराकिलो सडक रहेको प्रतिवेदनमा छ।
दायाँतर्फको भाग भने धेरै अतिक्रमणमा परेको छ । कतिपय ठाउँमा स्ल्याब राखेर खोला छोपिएको छ। केही ठाउँमा त खोलालाई दुवै किनारमा पर्खाल लगाएर नालीमा परिणत गरिएको छ। यहाँ पनि खोला किनारको जग्गा ४ मिटर खाली राख्नुपर्ने नियम पालना भएको छैन।
यही खण्डको बीचमा नीलसरस्वती मन्दिर पर्छ । उक्त मन्दिरमा धार्मिक पूजाआजाका लागि टुकुचाको पानी प्रयोग गर्नुपर्छ । यो सांस्कृतिक चलन अहिलेसम्म जारी छ ।
टुकुचा खोलाको ४ सय ८० मिटर लामो तेस्रो खण्ड नारायणहिति दरबार संग्रहालय परिसर भित्रैबाट बग्छ । प्रतिवदेनअनुसार यो खण्ड नारायणहिति संग्रहालयको पूर्वी भाग हुँदै गणतन्त्र स्मारक पार्कसम्म पुग्छ । निषेधित क्षेत्रमा पर्ने हुँदा यहाँको ड्रोन तस्बिर खिच्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।
‘स्याटलाइट तस्बिरहरू हेर्दा टुकुचा खोलाको यो हिस्सा सुरक्षित नै छ भन्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यहाँ खोला बग्ने दिशाको देब्रेतिर करिब २५ हजार २ सय ७० वर्गमिटर क्षेत्र खुला देखिन्छ ।’
टुकुचाको चौथो खण्ड नारायणहिति संग्रहालयदेखि तीनधारा मार्गसम्म जान्छ । यसको लम्बाइ ४ सय ४० मिटर छ । बिहीबार महानगरले उत्खनन् गरेको जयनेपाल हलको प्रांगण यही खण्डमा पर्छ ।
यो खण्डको करिब सम्पूर्ण हिस्सा जमिनमुनि पुरिएको र त्यसमाथि थुप्रै घर र सडक बनेको प्रतिवेदनमा छ । महानगरको उत्खननबाट जमिनमुनि टुकुचाको अवशेष भेटिनुले प्रतिवेदनको कुरा पुष्टि हुन्छ ।
खोलाको पाँचौं खण्ड तीनधारा मार्गदेखि बागबजारको सडकसम्म जान्छ । यो ४ सय ६५ मिटर लामो छ ।
यो खण्डका धेरैजसो ठाउँमा खोला बाँकी नै छ । यहाँ अहिलेसम्म पानी बगिरहेकै देखिन्छ। बागबजारको घना बस्तीबीच पर्ने भए पनि यो खण्डमा खोला छेउछाउ केही खुला क्षेत्र पनि बाँकी रहेको प्रतिवेदनमा छ । कतिपय ठाउँमा भने ठूला घरहरूले खोलाको साँध मिचेका छन्। ती घरले खोलाछेउ चार मिटर क्षेत्र छाड्नुपर्ने नियम पालना नगरेको प्रतिवेदनले औंल्याएको छ।
छैठौं खण्ड बागबजार सडकदेखि अद्वैत मार्ग (शंकरदेव क्याम्पस) सम्म जान्छ । जम्मा २ सय ८० मिटर लामो यो खण्डमा पनि धेरैजसो ठाउँमा खोला बाँकी छ । पानी बगिरहेकै छ ।
तर किनारमा चार मिटर छाड्नुपर्ने नियम उल्लंघन गरी साँध मिचेर घरहरू बनेकाले यहाँ पानी भएको ठाउँसम्म पुग्न सकिँदैन। खोला करिब करिब फोहोर र ढल बग्ने नालीमा परिणत भएको छ । शंकरदेव क्याम्पस पनि टुकुचा खोलाको यही खण्डमा पर्छ ।
सातौं खण्ड इच्छुमती तरकारी बजार क्षेत्र हुँदै बग्छ । एक सय ६० मिटर लम्बाइको यो खण्डमा खोला बग्ने दिशातर्फ दायाँतिर तरकारी बजार छ भने बायाँतिर पैदलमार्ग बनाइएको छ । यहाँ तरकारी बजारले खोलाको चार मिटर साँध मिचेको प्रतिवेदनमा जनाइएको छ ।
इच्छुमती तरकारी बजारबाट अगाडि बढेपछि भृकुटीमण्डप क्षेत्रसम्म टुकुचाको आठौं खण्ड पर्छ। तीन सय २० मिटरको यो खण्डमा खोला बग्ने दिशातर्फ दाहिनेतिर भृकुटीमण्डपको बजार छ भने देब्रेतिर घरहरू बनेका छन्।
टुकुचाको नवौं खण्ड भद्रकाली क्षेत्रको पूर्वतर्फबाट बग्छ । यसको लम्बाइ ३ सय ५० मिटर छ ।
यो खण्ड भद्रकालीस्थित सेनाको मुख्यालय क्षेत्रबाट बग्छ । निषेधित क्षेत्रमा पर्ने भएकाले यहाँ पनि खोलाको दुवैतर्फ प्रशस्त खाली जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ ।
भद्रकालीदेखि बागमती नदीसम्मको हिस्सा टुकुचा खोलाको दसौं तथा अन्तिम खण्ड हो। यो ६ सय ६० मिटर लामो छ ।
यो हिस्सामध्ये थापाथलीदेखि त्रिपुरेश्वर सडकसम्म वरिपरि घना बस्ती छ भने थापाथली क्याम्पसको भागमा खुला ठाउँ बाँकी छ ।
त्योभन्दा अगाडि त्रिपुरेश्वरको कालमोचन महादेव मन्दिरमा पुगेपछि टुकुचा खोला बागमती नदीमा मिसिन्छ। यही ठाउँमा टुकुचाको पानी प्रशोधन निम्ति प्लान्ट राख्न सकिने प्रतिवेदनमा छ। यसबाट टुकुचाले बोकेर ल्याउने फोहोर प्रशोधन गरेर सफा पानी मात्र बागमतीमा पठाउन सकिन्छ ।