काठमाडौं-मेघौली र काठमाडौं-सुनौली पर्यटकीय बससेवा शुरु

काठमाडौं ।काठमाडौंबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु गरिएको छ । विसं २०६० देखि काठमाडौं–पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौं-मेघौली बस सेवा शुरु गरेको हो ।

प्रालिका अध्यक्ष प्रल्हाद लोहनीले कोरोनाबाट थलिएको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पहिलोपटक काठमाडौं-मेघौली पर्यटक बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिए ।

यस्तै उक्त बस सेवाले आजैदेखि काठमाडौं-भैरहवा-सुनौलीसमेत बस सेवा विस्तार गरेको छ । भारतीय पर्यटकलाई लक्षित गरेर काठमाडौं-भैरहवा-सुनौली बस सेवा विस्तार गरिएको अध्यक्ष लोहनीको भनाइ छ । नयाँ गन्तव्यमा बस विस्तार गरेसँगै अब दैनिक ४ बसले यात्रुलाई सेवा प्रदान गर्ने भएका छन् ।

काठमाडौंदेखि मेघौलीका लागि हरेक दिन बिहान ७ः०० बजे सोह्रखुट्टेबाट र काठमाडौंदेखि भैरहवा हुँदै सुनौलीसम्म हरेक दिन बिहान ७ः३० बजे बालाजुबाट बस छुट्नेछन् । उक्त बसको टिकट प्रालिको कार्यालय, अनलाइन र इसेवामार्फत काट्न सकिने अध्यक्ष लोहनीले बताए ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड-१९ को बढ्दो सङ्क्रमणका कारण उक्त कार्यक्रम स्थगन गरिएको थियो । राजधानीको मुख्य पर्यटकीयस्थल ठमेललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले सेवा प्रदान गर्दै आए पनि कोरोनाका कारण उक्त बस सेवा रोकिएका थिए । हाल काठमाडौंको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स