काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था समितिले प्रतिनिधिसभाका सांसदहरूको आजदेखि इलेक्ट्रोनिक हाजिरीको व्यवस्था मिलाएको छ । यसअघि सांसदहरूले रजिस्टरमा हाजिरी गर्दै आएको थिए ।
सांसदहरूको इलेक्ट्रोनिक हाजिरीको व्यवस्था नहुँदा उनीहरु उपस्थित भए/नभएको जानकारी नहुने र संसदमा सांसदहरुको आवश्यक न्युनतम उपस्थिति संख्या समेत नपुग्नेजस्ता समस्या हुँदै आएको थियो । विद्युतीय हाजिरीपछि उक्त समस्या हट्ने सभामुखले बताए ।
प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गरिने सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।
आज अपराह्न ४ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा बजेट अधिवेशन आह्वान गरिएको हो । अधिवेशनमा उपस्थितिका लागि सबै सांसदलाई संघीय संसद् सचिवालयले यसअघि नै सूचनामार्फत अनुरोध गरिसकेको छ । यस अधिवेशनमा मुख्यरूपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।