ड्युटीमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षकमाथि खुकुरी प्रहार

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षकमाथि शुक्रबार राति खुकुरी प्रहार भएको छ ।

दोधारा चादँनी नगरपालिका–७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैँसिरमाथि चार/पाँचजनाको युवा समूहले खुकुरी प्रहार गरी घाइते बनाएको छ ।

सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने युवाको खोजी भइरहेको बताए । ‘जोगबुढा झोलुंगे पुल नजिकैको पसलमा मादक पदार्थ सेवन गरेर हो-हल्ला गरिरहेका युवाहरुलाई सम्झाउँदा उल्टै खुकुरी प्रहार गरी भागे’, सशस्त्र प्रहरी उपरीक्षक रावलले भने, खुकुरी प्रहार गर्नेको पहिचान भइसकेको छ, खोजीकार्य जारी छ ।’

सशस्त्र प्रहरीका अनुसार खुकुरी प्रहार गर्नेमा स्थानीय रोहन बइक र रोशन दमाईं लगायतका युवाको समूह हो । खुकुरी प्रहारबाट सशस्त्र प्रहरी नायब निरीक्षक चैँसिरको बायाँ पाखुरामा चोट लागेको छ ।

‘ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि खुकुरी प्रहार गर्नेलाई कडाभन्दा कडा कानुनी कारबाही हुन्छ’, रावलले भने, ‘त्यसका लागि नेपाल प्रहरीसित पनि समन्य भइरहेको छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स