‘कोरोना महामारीले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न अवसर मिलेकोे छ’

कोभिड—१९ महामारीले संसारलाई बन्धक बनायो, हामी सबैलाई घरभित्रै बस्न बाध्य बनायो । यसले हाम्रो दिनचर्या, जीवनयापन, सामाजिक एवम् आर्थिक गतिविधिमा धेरै प्रभाव पार्याे । व्यापार श्रृङ्खलामा ठूलो असर पर्याे भने उत्पादनदेखि वितरण र आपूर्तिसम्मको चक्रलाई भत्कायो । अर्थतन्त्रलाई शिथिल बनायो । गरीबी र बेरोजगारी बढायो । कतिपय उद्योगी व्यापारीहरू पलायन नै हुन पुगे ।

कोभिडको जोखिम अझै सकिएको छैन । यद्यपि विभिन्न देशहरूले कोभिडका कारण टुटेको व्यापार श्रृङ्खलालाई जोगाउन विभिन्न प्रयत्नहरू गरेका छन् । आफ्नो अवस्था, क्षमता र सम्भावना अनुसार उत्पादन बढाउनेदेखि अन्य राष्ट्रसँगैको सहकार्यलाई अघि बढाएर व्यापार श्रृङ्खलालाई जोगाउने प्रयास गरिरहेका छन् । नेपाल पनि टुटेको व्यापार श्रृङ्खाला जोड्ने प्रयासमै छ ।

हामी यो महामारीको चपेटाबाट अहिल्यै पूर्णरुपमा बाहिर आउन नसके पनि विस्तारै छुटकारा पाउने प्रक्रियामा छौं । कोभिडको जोखिम र प्रभावबाट छुटकारा पाउन पछिल्लो समय आएको कोरोना विरुद्धको खोपले पनि केही हदसम्म सहयोग पु¥याउने विश्वास गरिएको छ । यद्यपि कोरोनाको विस्तार र खोपको उपलब्धताको आधारमा सन् २०२२ मा मात्रै विश्वभरका मानिसहरु खोप लगाउन सकिने विज्ञहरुले बताउँदै आएका छन् ।

कालो बादलमा चाँदीको घेरा हुन्छ भने जस्तै यस महामारीले हामीलाई आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न अवसर दिएको छ । अब उत्पादन र पूँजी निर्माणमा विशेष जोड दिनैपर्छ भन्ने गतिलो पाठ हामीले सिकेका छौं । उत्पादनदेखि वितरण र आपूर्तिसम्मको श्रृङ्खलालाई चुस्त बनाउन पूर्वाधार विकास गर्नुपर्छ भन्ने शिक्षा पाएका छौं ।

सूचना तथा सञ्चार प्रविधि र विज्ञानको विकास र प्रयोगविना अघि बढ्न सकिदैन भन्ने पाठ सिकेका छौं । यसर्थ, महामारीमा तमाम प्रभाव र असरका बावजुद यसले सिकाएको पाठलाई सकारात्मक पमा लिएर त्यसको अनुसरण गर्दै आत्मनिर्भर अर्थतन्त्र विकासमा जुट्नुपर्छ ।

पुनरुत्थानको प्रयास

कोभिडबाट मुलुकको उद्योग व्यापार, शिक्षा, पर्यटनलगाएत अधिकांश क्षेत्र प्रभावित भए । धेरै क्षेत्रहरु एक—अर्कामा जोडिएका हुनाले पनि एउटा प्रभावित हुँदा अर्को स्वतः प्रभावित हुने अवस्था आयो । कतिपय क्षेत्रका व्यवसायीहरु त पलायनै हुनुपर्ने अवस्था समेत आएको छ ।

धेरै जसो धनी देशहरुले मनी सर्कूलेशनका लागि भन्दै आफ्ना उद्योगी व्यवसायीहरुलाई पैसा नै बाँडेर राहत दिए । नगद प्रवाहमा सहजीकरण गरिदिए । जसका कारण ती देशमा माग र आपूर्तिको श्रृङ्खला चाँडै पुरानो अवस्थमा फर्कियो, कामदारहरुको रोजगारी पनि फर्कियो ।

तर, नेपाल जस्ता गरीब देशहरुले नगद राहत दिन सकेनन् । नगद प्रवाहमा प्रत्यक्ष सघाउने क्षमता पनि भएन । यसले गर्दा उद्योगी व्यवसायीहरु पलायन हुन पुगे, श्रमिक मजदुरको रोजगारी गुम्न पुग्यो । यद्यपि नेपालका उद्योग व्यवसाय पनि क्रमशः पुनरुत्थानको बाटोमा छन् । कतिपय क्षेत्रहरु पूर्णरुपमा सञ्चालनमा आएका छन् भने कतिपय अझै पुनरुत्थान हुने बाटोमै छन् ।

विभिन्न क्षेत्रअनुसारका उद्योग व्यवसायले कोरोनाको कहर कम हुँदै जाँदा आफ्नो बाटो समातिरहेको अवस्था छ । खासगरी खाद्यन्नलगायत थुप्रै उत्पादनमूलक क्षेत्रहरु पुरानै लयमा फर्किसकेका छन् । निर्माण, स्वास्थ्य, शिक्षालगायत क्षेत्र पनि संचालनमा आईसकेका छन् । तर, अझै राम्रोसँग लय समाउन सकेका छैनन् ।

मूल्य तथा वितरणमा केही चुनौतीहरू भए पनि हामीले त्यसलाई समाधान गर्दै अघि बढाइरहेका छौं । तर, होटेल, रेष्टुरेन्ट, व्याङ्केट, अन्तर्राष्ट्रिय हवाईलगायत क्षेत्र अझै पनि समस्यामै छन् । कारोना शुरु भएदेखि बन्द भएका यी क्षेत्रहरू भर्खर खुल्न थालेका छन् ।

जोखिमकै बीच व्यवसायीले सकेसम्म व्यावसायीक गतिविधिलाई निरन्तरता दिइरहेका छन् । संकट आयो भन्दैमा हामी पछि हट्ने भन्ने हुँदैन । नेपालमा कोभिड विरुद्धको खोपको उपलब्धताले उद्योगी व्यवसायीहरुलाई केही ऊर्जा भने थपिदिएको छ । सोही कारण पनि अहिले. हामी निडर भई खुला रुपले व्यापार व्यवसाय गरिरहेका छौं । कोरोनाले थिलथिलो बनाएको अर्थतन्त्रलाई पुनः पहिलेकै अवस्थामा फर्काउन सरकारले व्यवसायीको आवश्यकता बुझिदिनुपर्छ ।

असहज आयात-निर्यात
नेपाल अहिलेसम्म आयातमूखी अर्थतन्त्र भएकै मुलुक हो, हामी धेरै वस्तुमा परनिर्भर छौं । त्यति मात्रै होइन, नेपालमा उत्पादन हुने धेरैजसो वस्तुको कच्चा पदार्थ पनि आयात नै गरिन्छ । कोरोना महामारीका कारण विश्व बजारमा माग र आपूर्तिको श्रृङ्खला खल्बलिँदा नेपाल पनि त्यसबाट प्रभावित बन्यो । केही समय श्रृङ्खला पूर्णरुपमा भत्किएकाले अहिले पनि कच्चा पदार्थको आयातमा समस्या देखिएका थियो । कच्चा पदार्थ र सिपिङलगायतको मूल्यसमेत बढेकोे छ । यसले हाम्रो व्यापारदेखि उत्पादनसम्मको लागत बढाएको छ ।

व्यापार चक्रमा असर पर्दा त्यसबाट उत्पादन क्षेत्रसमेत प्रत्यक्ष प्रभावित हुने नै भयो । कच्चा पदार्थको सुपथ र सहज रुपमा आपूर्ति नहुँदा उत्पादन गर्न गाह्रो भएको छ । निर्यातका लागि आवश्यक ढुवानीको व्यवस्था मिलाउनसमेत अप्ठ्यारो भएको परिस्थिति छ । एकातर्फ थुप्रै शिपिङले चर्को मूल्य असुली रहेका छन् ।

एयर ट्राभलले पनि निरन्तरता पाएको छैन, यसले गर्दा धेरैजसो कार्गो सेवाहरु हालसम्म पनि संचालनमा आउन सकेका छैनन् । यस्ता तमाम कारणले आयात निर्यात व्यापारले पुरानो लय समात्न सकेको छैन । यसर्र्थ हामी उद्योगी व्यवसायी र राज्यको ध्यान आयात निर्यातलाई सहज बनाउनेतर्फ हुनुपर्र्ने देखिएको छ ।

सूचना प्रविधिको विकास र प्रयोग

कोरोना महामारीको जोखिम रहकै यो अवस्था र त्यसले सिर्जना गरेकोे परिस्थितिमा हामीले पछिल्लो समय प्रचलित सूचना प्रविधि (आईटी) क्षेत्रको विकास र प्रयोगलाई बढाउनुको विकल्प छैन । आईटीको प्रयोगलाई विशेष ध्यान दिएर अघि बढ्न सके फाईदा लिन सकिने देखिन्छ ।

महामारीको अवस्थामा पनि घरमै बसीबसी काम गर्न सकियो । सूचना प्रविधिमा भएको पछिल्लो विकासले त्यो सम्भव भएको हो । महामारीको अवस्थमा पनि आईटी क्षेत्रले धेरै ठूलो प्रगति गरिरहेको छ । यसले हामीलाई प्रविधिमा लगानी बढाउनुपर्छ भन्ने पाठ सिकाएको छ । अब आईटीको विकास र उपयोग गर्दै यस क्षेत्रमा लगानी बढाउनै पर्ने देखिएको छ ।

धेरै जसो सेवा प्रदायकले दिने सेवा सूचनाप्रविधिको प्रयोग मार्फत घर तथा कार्यालयमा बसेरै लिने व्यवस्था मिलाउनुपर्छ । हाल हामी कहाँ प्रविधिको प्रयोग सुरु भए पनि भौतिकरुपमा उपस्थित हुनुपर्ने र सनाखत गर्नुपर्ने पुरानो व्यवस्था कायमै छ । त्यसले काम र झञ्झट थपएिको छ । भौतिकरुपमा उपस्थित हुनुपर्ने व्यवस्थाको तुरुन्तै अन्त्य हुनुपर्छ ।

पूँजी निर्माणको आवश्यकता

नाराले मात्र कुनै पनि मुलुक सम्मृद्ध भएको छैन । पहिले त हामी आफै देशलाई कता लैजाने भन्ने बारे प्रष्ट हुन सकेका छैनौं । हामी अहिले नेपालमा समाजबाद मात्रै भनिरहेका छौं । तर, नेपालमा समाजवादको नाराले मात्रै पूँजीको विकास गर्न सक्दैन । नाराले मात्रै पूँजी निर्माण गर्न सकिदैन भन्ने कुरा विभिन्न कम्यूनिष्ट राष्ट्रहरुले देखाइसकेका छन् । कतिपय देशहरुले पूँजीवादको नारा नलगाईकनै पूँजी निर्माण गरेको देखिन्छ ।

जस मार्फत ती मुलुकका नागरिकहरुले सहजरुपमा आधारभूत आवश्यकता पूरा गर्न पाएका छन् । नेपालले पनि पूँजीवादको नारा लगाइ पूँजीवादतिरै लाग्नुपर्छ भन्ने मेरो मान्यता छ । पूँजीवादबाटै ढिलोचाँडो समाजवादमा पुगिने हो, यसर्थ अहिलेको आवश्यकता पूँजीको निर्माण र विकास हो ।

पूँजी निर्माणको आधारको रुपमा हामीलाई आवश्यक अधिकांश वस्तु तथा सेवाहरु आफ्नै देशमा उत्पादन गर्ने क्षमता राख्नुपर्दछ । सम्भव भएका वस्तुहरु स्वदेशमै उत्पादन गर्ने र सम्भव नभएका वस्तुहरुका लागि भने निश्चित देशसँग मिलेर आपसी हितअनुसार अघि बढ्ने नीति लिनुपर्छ र सोही अनुसार कार्य गर्नुपर्छ ।

हामीलाई कस्तो वाद चाहिएको हो ? पूँजीवाद कि समाजवाद ? अनि समाजवाद भनेको कस्तो हो ? यी सबै प्रश्नको उत्तर पहिल्याएर हामीले कस्तो अर्थतन्त्र बनाउन खोजेको हौं भन्ने स्पष्ट हुनुपर्छ । यसका लागि देशका विज्ञहरु, निजी क्षेत्र र राजनीतिकर्मीहरुले निर्णय लिनुपर्छ ।

यसर्थ पूँजी निर्माण र विकासका लागि निजी क्षेत्रलाई उत्पादन वृद्धितर्फ जोड दिन उत्प्रेरित गर्नुपर्छ । बजार विस्तारको व्यवस्था सरकारले गरिदिनुपर्ने हुन्छ । यस्तै नेपाली जनतामा पनि नेपालमै उत्पादित वस्तुहरुको उपयोग गर्नुपर्छ भन्ने सोचको विकास गर्नुपर्ने देखिन्छ । सरकासले स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोगमा जोड दिनुपर्छ ।

स्वदेशी वस्तुको प्रयोग गर्न ल्याएको निर्देशिकाको परिपालना हुनुपर्छ । सरकारले यी वस्तुहरुमा हामी आत्मनिर्भर हुँदैछौं, यी वस्तुहरुको अवस्था यस्तो छ भन्ने लगायतका जानकारीहरु संग्रहित गर्नुपर्छ र सोही अनुसार उत्पादनमा बल पुग्ने र खपत बढाउने नीति लिनुपर्छ ।

उद्योगी व्यवसायीहरु कति कठिन परिस्थितिमा बाँचिरहेकाछन् भन्ने कसैलाई वास्ता छैन । तर उसको कमाईमा सबैले आँखा लगाईरहेका छन् । उद्योगी व्यवसायीलाई हेर्ने नजरिया नै फरक छ । त्यसैले हामी उद्योगी व्यवसायीलाई हेर्ने नजर समेत बदल्न आवश्यक छ । हामीलाई पूँजी निर्माण र विकासको साधकको रुपमा हेरिनुपर्छ ।

न्यून ब्याजदर पुनरुत्थानको आधार

पछिल्लो समय एकल अंकको ब्याजदर हुनपर्छ भन्ने माग तथा सुझावहरू आईरहेका छन् । खासगरी दोहोरो अंकको ब्याजदर हुँदा लागत उच्च हुन गई उद्योग व्यवसाय संचालनमा समस्या भइरहेको देखिन्छ । यसर्थ देशको विकास गर्नका लागि कर्जाको ब्याजदर ६ देखि ७ प्रतिशतभन्दा बढी हुन हुँदैन ।

हामीले पैसा बचत भन्दा पनि लगानी गर्ने बानी बसाल्नुपर्छ । लगानीबाट आएको प्रतिफलले नै पुग्ने अवस्थामा बचतको काम छैन । ठूला देशहरुका प्रायः नागरिकहरुले बैंकमा पैसा जम्मा नगरी लगानी गर्छन्, सोहीअनुसार देशको क्रयशक्ति पनि बढेको पाइन्छ । कोरोनाले थलिएको उद्योग व्यवसायलाई उकास्न ६ देखि ७ प्रतिशतको बैंक ब्याजदर पर्याप्त हुन्छ । बैंकको ब्याजदर यो स्तरमा आएको खण्डमा पलायन भएका व्यापार व्यवसाय पनि फर्किने सम्भावन रहन्छ ।

स्रोत साधनको परिचालन र उपयोग

कोभिडको महामारीको जोखिम केहि कममात्र भएको हो । अर्थतन्त्र शिथिल भएको छ, यस्तो अवस्थामा मुद्रास्फीति पनि कम हुने संभावना देखिएको छ । अहिले अर्थतन्त्र पुनरुत्थानको लागि हामीलाई ठूलो लगानी चाहिएको छ । यसका लागि सरकारसंगै निजी क्षेत्रले पनि विदेशी श्रृण र लगानी ल्याउन पहल गर्नुपर्छ । आन्तरिक स्रोत साधनबाट मात्रै हामीले खोजेको विकास र उन्नति सम्भव नहुन पनि सक्छ । यसर्थ बाह्य स्रोत परिचालनका लागि स्पष्ट र सहज नीति हुनुपर्छ ।

नेपालसँग स्रोत र साधनको कमी छैन तर यसलाई सही उपयोग गर्ने गरी नीतिगत व्यवस्था हुनु पर्ने अत्यन्तै आवश्यक छ । नेपालमा भएको पानी, जडिबुटी लगायत प्राकृतिक वस्तुलाई मूल्य अभिवृद्धि (भ्यालू एड) गरेर विक्री गर्न सकेमा हामीले प्रशस्त लाभ लिन सक्छौं । त्यसो त संसारका कतिपय देशहरुमा क्रच्चा पदार्थ नभए पनि उच्च मूल्यका वस्तुहरु उत्पादन गरिरहेका छन्, जसलाई हामी पनि किन्छौं ।

तर हामीसँग स्रोत र साधन भएपनि राम्रो योजना र सोचका साथ अघि नबढ्दा त्यसको उचित उपयोग र परिचालन गर्न सकेका छैनौं । स्रोत साधनको सही ढंगले परिचालन गर्न सकेको अवस्थामा नेपालजस्तो सानो मुलुकले पनि चाँडैं सफलता पाउन सक्दछ ।

संस्कृति/प्रकृतिको संरक्षण गर्दै विकास

नेपाल संस्कृति बेचेरै पनि धनी हुन सक्ने सम्भावना बोकेको मुलुक हो । त्यसैले हामीले हाम्रो संस्कृतिको जगेर्ना गरी यसको सही विकासमा जोड दिनुपर्छ । त्यसका लागि आवश्यक पूर्वाधारहरु जस्तै हवाइमार्ग, सडकलगायतको विकास गरिनुपर्छ ।

यसको सहजीकरणका लागि निजी र सरकारी क्षेत्र भनेर नछुट्याई सबै मिलेर अघि बढ्नुपर्छ । हाम्रो सांस्कृति एवम् प्राकृतिक श्रोत साधन देखाएर लाखौं पर्यटक भित्र्याउन सकिन्छ । त्यसबाट ठूलो परिमाणमा विदेशी मुद्रा कमाउन सकिन्छ । त्यसो गने सक्ने हो भने हामी संसारकै सबैभन्दा धनी मुलुक पनि बन्न सक्छौं ।

(यो लेख चेम्बर स्मारिका–२०७७ बाट साभार गरिएको हो । )

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स