१० लाख ब्याज तिरेको ८ औं दिनमै नामसारी

काठमाडौं । एनआईसी एशिया बैंकमाथि ऋणीहरूको घरजग्गा, सम्पत्ति बलपूर्वक कब्जा गर्ने गरेको आरोप देशैभरिका ऋणीहरूको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित भर्खरै बनेको एक होटलका सञ्चालक यसैगरी एनआईसी एशिया बैंकको कूदृष्टिको शिकार बन्न पुग्दा घरबार विहिन मात्रै हुन पुगेका छैनन्, सबै सम्पत्ति लिएर पनि करोडौं रुपैयाँ बक्यौता देखाइ कालोसूचीमा समेत परेका छन् ।

चलनचल्तीको बजार मूल्य करिब १५ करोड पर्ने २० कोठासहितको पाँच तल्ले भव्य होटल आकाश, होटलका प्रबन्ध निर्देशक उमाशंकर मिश्रको १ तले निजी आवास ४ करोड ८३ लाख रुपैयाँ मूल्यांकन गराइ बैंक कब्जा गर्न सफल भएको हो । बैंकले कर्जा प्रवाह गर्दा उक्त धितोको मूल्यांकन ५ करोड ८५ लाख रुपैयाँ थियो । अहिले होटल बनिसकेपछि करिब १ करोड मूल्यांकन घटाएर आफैले आफ्नो कब्जामा होटल लिएको हो ।

होटल आकाशका प्रबन्ध निर्देशक उमा शंकर मिश्रले २०७५ जेठ १३ गते (२७ मे २०१८) मा आफ्नी पत्नी पुष्पा मिश्रको नाममा लुम्बिनीस्थित रहेको होटल आकाश बनेको स्थानको ४६ धूर र निजी आवास रहेको २० धूर गरी जम्मा ६६.५ धूर जग्गा धितो राखेर एनआईसी एशिया बैंकको लुम्बिनी शाखाबाट होटल बनाउन कर्जा लिएका थिए ।

 

उमाशंकरले ५० लाख ओभर ड्राफ र दीर्घकालीन कर्जा–१ मा १ करोड ९५ लाख र दीर्घकालीन कर्जा–२ मा १ करोड ३२ लाख र दीर्घकालीन कर्जा–३ मा २३ लाख गरी कुल ४ करोड कर्जा लिएका हुन् ।

२०७५ साल जेठ १३ मा लोन स्वीकृत गराइ एनआईसी एशिया बैंकबाट पटक पटक गरी ४ करोड रुपैयाँ ऋण लिई आफूसँग भएको रकमसमेत गरी करिब पाँच करोड रुपैयाँ लगानी गरेर होटल बनाएका उमाशंकर मिश्रले सो होटलमा राम्रोसँग व्यवसाय गर्न नपाउँदै एनआईसी एशिया बैंकका कर्मचारीहरूले आँखा लगाउन थाले । जसको परिणाम आज होटल व्यवसवायी मिश्र व्यवसायमात्रै नभइ घरबार विहिन हुन पुगेका छन् ।

अझ रोचक कुरा के छ भने ऋणी सम्पर्क विहिन भएको भन्दै घरजग्गा लिलामको सूचना निकाली आफै सम्पत्ति सकार गरेको बैंक खातामा ऋणीले घरजग्गा नामसारी हुनु ठीक ८ दिन पहिले १० लाख रुपैयाँ र गत असोजमा ४० लाख रुपैयाँ जम्मा गरेको तथ्य भेटिएको छ ।

असोजमा किस्ता र ब्याज भुक्तानी गरे पनि बैंकले मंसिरमै लिलामीको सूचना निकालेर २०७९ चैत २९ गते मिश्रले कर्जा लिँदा धितो राखेको साढे ६६ धूर जग्गामा बनेको ५ तले २० कोठाको होटल आकाश र १ तले अर्को भवन राष्ट्र बैंकको निर्देशन विपरित हडपेको हो ।

ऋणीले सावा वा ब्याज भुक्तानी गर्दा गर्दै लिलाम गर्न नहुने भन्ने व्यवस्था विपरित एनआईसी एसिया बैंकले ऋणीको घरजग्गामा जसरी पनि हडप्ने नीति अन्तर्गत लुम्बिनीका मिश्रले सञ्चालन गरेको होटल आकाश कब्जा गरेको देखिएको छ ।
कोरोना महामारीको चपेटामा परेको होटल व्यवसायीहरूलाई राहत दिने सरकारी नीति विपरित एनआईसी एशिया बैंकले ऋणीले सावा ब्याज भुक्तानी गर्दागर्दै पनि बलपूर्वक होटल आकाश कब्जामा लिएको देखिएको छ । ऋणी मिश्रका अनुसार बैंकले पर्याप्त सूचना समेत नदिई होटल तथा जग्गा लिलाम गर्ने अन्तिम अवस्थामा पनि आफूले रकम जम्मा गर्दा समेत एकतर्फी रुपमा नामसारी गरेको गुनासो गरे ।

कोरोना महामारीले अस्तव्यस्त बनाउको उद्यम व्यवसाय त्यसमा पनि होटल व्यवसाय अझ चपेटा पर्यो र उनले सुरुका केही समय साँवा ब्याज भुक्तानी गर्न सकेनन् । देश चरम आर्थिक संकटमा फस्दै जाँदा होटल व्यवसायमा ह्रास आयो र जसका कारण उनले बैंकलाई सावा ब्याज तिर्न ढिलाइ भएको थियो ।

जब सबैतिर खुल्यो, उनले रकम भुक्तानी गर्न सुरु गरे । सोही अनुरुप नै गत असोजमा ४० लाख रुपैयाँ बुझाएका थिए । ४० लाख रुपैयाँ बुझाएको दोस्रो महिनामा नै लिलाम गर्ने सूचना बैंकले निकाल्यो । लिलाम गर्ने सूचनाकै बीच उनले थप १० लाख रुपैयाँ भुक्तानी गरी बैंकको सावाब्याज नियमित गर्दै थिए । तर, पनि बैंकले सामान्य सदासयता मात्रै होइन, राष्ट्र बैंकको व्यवस्थालाई समेत लत्याउँदै शक्तिको आडमा होटल नामसारी गरेको उनको दुखेसो छ ।

कर्जा प्रवाह गर्दा कस्तो थियो शर्त ?
बेस रेटमा १ प्रतिशत प्रिमियम थपेर कर्जा उपलब्ध गराउने सम्झौता बैंक र मिश्रबीच भएको थियो । बैंकको बेसरेट ११.५ प्रतिशत भएका बेला मिश्रसँग आफूले गरेको सम्झौतालाई तोड्दै पछि बैंकले प्रतिशत प्रिमियम थपेर कर्जाको ब्याज निर्धारण गर्यो । मिश्रले कर्जा लिँदा बैंकको बेसरेटमा १ प्रतिशत प्रिमियम थप्दा १२.५ प्रतिशत ब्याजदर निर्धारण हुनुपर्ने थियो । सो ब्याज बढाएर १६.९१ प्रतिशत पुर्यायो ।

त्यहि पनि सहेर मिश्रले बैंकको किस्ता र ब्याज तिर्दै थिए । राष्ट्र बैंकले कर्जा प्रवाह गदा गरेको सम्झौताभन्दा बढी प्रिमियम लिएका बैंकहरूलाई तत्काल प्रिमियम फिर्ता गर्न भने पनि एनआईसीले मिश्रको सम्झौताभन्दा बढी लिएको प्रिमियम फिर्ता गरेन ।

५० लाख रुपैयाँ वर्किङ क्यापिटल भएको होटल आकाश इन्टरशेनललाई बैंकले साँवा र ब्याज मिलाएको भन्दै सो कर्जा बढाएर ५ करोड ९८ लाख पुर्यायो । ‘१० वर्षको लागि भनेर लिएको उक्त कर्जा ५ वर्षमै बैंकले आफ्नो सम्पूर्ण सम्पत्ति कब्जामा लियो,’ होटल संघ नेपालको कार्यक्रमा भेटिएका उमाशंकरले भक्कानीदै हाम्रोअर्थलाई भने ‘ एनआईसी एशिया बैंकले मेरो सर्वश्व लुट्यो, न्याय पाइन भने आत्मदाह गर्छु ।’ असोजमा बैंकलाई सावा ब्याज बुझाएपनि मंसिरमै धितो लिलामीको सूचना निकाल्यो । बैंकले लिलामीको सूचना निकालेपछि पैसा खोज्दै दशतिर भौतारिए ।

यस्तो छ राष्ट्र बैंकको व्यवस्था
नेपाल राष्ट्र बैंकले ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको तीस दिनभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन पाइने छैन । यो व्यवस्था २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा/ब्याजमा मात्र लागु हुनेछ ।
तर, यदि कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको साँवा/ब्याज भुक्तानी नगरेमा पुर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन यो व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।


साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको २ करोडसम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी एक पटकको लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असूल उपर गरी देहायका शर्तहरुको अधीनमा रही कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सकिनेछ ।

यो क्राइसिममा उनलाई कसैले पैसा दिएन । पछि मिटरब्याजीसँग पैसा लिएर २०७९ चैत २१ गते १० लाख रुपैयाँ जम्मा गरे, ऋण अझ बढ्यो, न होटल बचाउन सके न घर नै,’ उनले थपे । उनका अनुसार चैत २१ गते १० लाख रुपैयाँ बुझाइ सकेपछि उनको किस्ता र ब्याज पुस १५ सम्मलाई पुग्छ । तर, योबीचमा उनको सम्पत्ति बैंकको भइसकेको छ ।

आफ्नो सम्पत्ति अर्कोलाई बिक्री नगरोस् भनेर उनी अहिले अदालती प्रक्रियामा जाँदैछन् । यसबीचमा उनले बैंकको नियामक निकाय नेपाल राष्ट्र बैंक र होटल संघ, नेपाल (हान)मा पनि उजुरी गर्दा गराएका छन् । राष्ट्र बैंकले यस विषयमा अहिलेसम्म केहि बोलेको छैन भने हानमा भर्खरै नयाँ कार्यसमिति आएकाले यस विषयमा छलफल हुन बाँकी छ ।

हानका नवनिर्वाचित अध्यक्ष विनायक शाहले अब यस विषयमा छलफल गर्ने बताए । ‘उमाशंकरजीबाट उजुरी पत्र आएको छ,’ उनले भने ‘यो पत्र हानको बैंकिङ समितिले हेरेर निकास खौज्छ ।’  बैकहरूले सामरिक हिसाबले महत्वपूर्ण, आर्थिक रुपमा चलायमान हुने स्थानका जग्गा, घर तथा अन्य भौतिक संरचनामा सजिलै ऋण लागनी गर्ने देखिएको छ ।

के भन्छन् बैंक प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की ?
एनआईसी बैंकको प्रदेश–५ प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्कीले बैंकले नियम संगत नै होटल आकाश र ह्याप्पी भिजिट टूर एण्ड ट्राभल्स रहेको धितो सकारेको बताए । उनले भने ‘उहाँ (उमाशंकर) लाई हामीले कर्जा तिर्न पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि नियम अनुसार लिलामी प्रक्रियामा गएको र सो प्रक्रियामा जाँदा धितो लिलामी बोलकबोल गर्न कोहि नआएपछि बैंक आफैले धितो सकारेका हौं ।’ यस विषयमा बैंकले ऋणी मिश्रलाई कुनै अन्याय नगरेको र बैंकले उल्टो उहाँलाई नै आफ्नो सम्पत्ति किन्न आग्रह गरिरहेको बताए ।

यस विषयमा एनआईसी एशिया बैंकबाट पीडित मिश्र भने बैंकले मेरो होटल तथा घर नामसारी गर्दा लागेको कर पनि तपाई तिर्नूस्, ऋण पनि तिर्नुस्, हामी तपाईको सम्पत्ति तपाईलाई फिर्ता दिन्छौ भनेको जानकारी गराए । ‘मैले बैंकले मेरो सम्पत्ति पास गर्दाको दस्तुर २५ लाख रुपैयाँ पनि तिर्नुपर्ने रे अनि मेरो नामका ल्याउदा लाग्ने कर पनि तिर्नुपर्ने रे, त्यसै त ऋणले थिचिएको म यदि मेरो नाममा ल्याउने हो भने अब मैले थप ५० लाख जुटाउनु पर्ने हुन्छ । बैंकले नै कालोसूचीमा राखिसकेकोले अब म खोटो सिक्का भइसकेको छु । मेरो साथै परिवारको पनि बिल्लीबाठ भयो, बैंकले मलाई फकाउँदै लुट्यो ।’

 

हेडलाइन्स