नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मा बीमा सचेतना कार्यक्रम

नवलपरासी । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयद्वारा आज नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) जिल्लाको सरावल गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सरावल गाउँपालिकाका उपाध्यक्ष बासमती चमारले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षा गर्नका लागि बीमा आवश्यक भएकाले गाउँपालिकाले आगामी नीति तथा कार्यक्रममा बीमालाई समावेश गरी अगाडि बढ्ने जानकारी दिए ।

नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, बीमाको पहुँच विस्तारमा स्थानीय तहको भूमिका लगायतका विषयमा प्रस्तुती गरे । साथै, उनले बीमा सम्बन्धी नीति तर्जूमामा प्राविधिक सहयोग गर्न प्राधिकरण तयार रहेको बताए ।

कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुले बाली बीमा गर्न नमानेको, गाडीको बीमा दाबी भुक्तानीमा जटिलता रहेको, दाबी सम्बन्धी समस्या हल नभएको, बीमाका बारेमा जानकारी नपाएको लगायतका धारणा राखेका थिए ।

यसैगरी, नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिकामा यही वैशाख ११ गते बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले गाउँपालिकाले आर्थिक सहयोग गरी विपन्न बर्ग र अशक्तलाई समेत बीमाको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष यादवले बीमा जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्ने र बचत गर्ने एक माध्यम समेत भएको उल्लेख गर्नुहुँदै बीमा सम्बन्धी नीति तर्जूमामा प्राविधिक सहयोग गर्न नेपाल बीमा प्राधिकरणलाई आग्रह गरे ।

नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले बीमा दाबी गर्दा आवश्यक कागजात सहित आफैले दाबी गर्नुपर्ने र विचौलियालाई त्यसको जिम्मा दिन नहुने बताउनुहुँदै कुनै समस्या परेमा प्राधिकरणलाई जानकारी दिन आग्रह गरे ।

कार्यक्रममा सम्बन्धित गाउँपालिकाका वडा अध्यक्ष, सदस्य र कर्मचारी, विभिन्न बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख÷प्रतिनिधि, अगुवा कृषक, सहकारी संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स