काठमाडौं । सिटी होटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज मंगलबार बिहान सेयर बाँडफाँट गरेको हो।
कम्पनीको आईपीओमा कुल १९ हजार ७ सय ४८ जनाको आवेदन परेको थियो। जस मध्ये १९ हजार ७ सय ३९ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । जस अनुसार १६ हजार ७ सय ४० जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी २ हजार ९९९ आवेदकको हात खाली भएको छ।
आईपीओको नतिजा प्रकाशन भएको केही समयपछि यी ३ तरिकाबाट हेर्न सकिने छ ।
१. बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/,
२.सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,
३. सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ हेर्न सकिने छ ।
मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।
कम्पनीले चैत्र २१ देखि वैशाख ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आईपिओ बिक्रि खुला गरेको थियो। कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई १ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्काशन गरेको थियो।
नेपाली श्रमिकलाई छुट्याईएको उक्त सेयर बाँडफाँट गरेपछि अब कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ।
कम्पनीले सर्वसाधारणका लागि भने वैशाख २५ गतेदेखि आईपीओ बिक्री खुला गर्नेछ। जारी पुँजीको ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
सर्वसाधारणले पनि यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।
यस आईपीओमा लगानीकर्ताले छिटोमा वैशाख २८ गते र ढिलोमा जेठ ८ सम्म आवेदन दिन सकिने छ।