थ्री स्टार हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडको पहिलो चरणको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आज सोमबार वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले ४ लाख ९२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित खोटाङ जिल्लाका आयोजना प्रभावितलाई निष्काशन गरेको छ । यसमा हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ११ सम्मका स्थानीय, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको वडा १ देखि वडा नम्बर ७ सम्मका स्थानीयले आवेदन दिन सक्ने छन् । त्यस्तै कम्पनीले ७३ हजार ८ सय ७५ कित्ता सेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरेको छ।

आयोजना प्रभावितले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ४ लाख ९२ हजार ५ सय कित्ताको लागि आवेदन दिन सक्ने छन्। त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७३ हजार ८ सय ७५ कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

स्थानीयले छिटोमा वैशाख २५ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा जेठ ९ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने वैशाख २५ गतेसम्म मात्र आवेदन दिन सकने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई सेयर निष्काशन गरि बाँडफाँट गरेपछि कम्पनीले सर्वसाधारणलाई सेयर निष्काशन गर्ने छ ।

कम्पनीले खोटाङ जिल्लाको सपसुप खोलामा ६।६ मेगावाटको सपसुप खोला स्मल हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८ पुस २३ गतेबाट व्यापरिक उत्पादन गरिरहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स