आवेदनहरूको नाम पुरानो कम्पनीसँग जुधेपनि कुनै औचित्य रहँदैनः सेबोन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड( सेबोन) ले स्टक एक्सचेञ्चको लागि आवेदन माग गरेको आज अन्तिम दिन हो । आजसम्म बोर्डमा विभिन्न समूह मिलेर तीन वटा एक्सचेञ्ज सञ्चालन गर्नको लागि आवेदन दिएका छन् ।

हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेञ्जको आवेदन बोर्डमा दर्ता भएको छ । यी तीन मध्ये हिमालयन स्टक एक्सचेञ्ज नामक कम्पनी पहिला पनि बोर्डमा दर्ता भएको थियो । २०६६ मंसिर १५ गते बोर्डमा दर्ता भएको उक्त कम्पनीले बोर्डलाई निवेदन शुल्क वापत २५ हजार रुपैयाँ पनि बुझाएको थियो

आवेदन नै खुला नगरी त्यति बेला सेबोनमा दर्ता भएका कम्पनीहरूले अहिले बोर्डले आवेदन खुला गर्दा आवेदन दिएनन् । त्यसैले अहिले उक्त कम्पनीहरूको आवेदन नआएको र त्यतिबेला दिएको आवेदनको कुनै औचित्य नभएको सेबोन उच्च स्रोतले जानकारी दिएको छ । ‘अहिले आवेदन दिएका कम्पनीहरूलाई सेबोनले कम्पनी दर्ता गर्न सिफारिस दिएपछि मात्रै कम्पनी दर्ता हुने भएकोले कम्पनीको नाम जुध्न गएमा प्रस्तावित कम्पनीहरूको नाम परिवर्तन गर्न सकिन्छ,’ सेबोन उच्च स्रोतले भन्यो ।

अहिले र पहिलाको अवस्था फरक छ । अहिले नियमावली नै संशोधन गरेर नयाँ व्यवस्थाअनुसार आवेदन लिइएको हो । पहिला त्यस्तो थिएन । कम्पनी दर्ता गरेर सेबोनमा आउनु पथ्र्यो । अहिले सेबोनबाट सिफारिस लिएरमात्रै कम्पनी दर्ता गर्नु पर्ने व्यवस्था छ । अहिले नीति नियमनै परिवर्तन भएकोले पुराना दर्ता भएको कम्पनीको कुनै औचित्य नभएको सेबोनले बताएको हो ।

स्टक एक्सचेञ्जको पुँजीमा पनि ठूलो अन्तर छ । पहिला ५ करोड रुपैयाँ भए पुग्ने स्टक एक्सचेञ्जको लागि अहिले ३ अर्ब रुपैयाँ पुँजी आवश्यक पर्छ । यी सबै कारण पहिला दर्ता भएका कम्पनी अहिले योग्य हुँदैनन् । यदि उनीहरूलाई यस्तो प्रकृतिको कम्पनी सञ्चालन गर्नु थियो भने अहिलेको मापदण्ड अनुसार आवेदन दिनुपर्ने हुन्छ,’ सेबोनले भन्यो ।

जति बेला ति कम्पनीहरू सेबोनमा दर्ता भए त्यति बेला आवेदन माग नै गरिएको नगरी दर्ता भएको सेबोनका पूर्व कार्यकारी निर्देशक निरज गिरीले बताए । ‘त्यतिबेला नयाँ स्टकको लागि आवेदन माग नै भएको थिएन,’ उनले भने ‘ती कम्पनीहरू त्यतिकै दर्ता भएका हुन् ।

अहिले आवेदन माग गरेका आएका निवेदन हुन्, सो कारणले पहिलाको कम्पनी कुनै भ्यालिडिटी हुँदैन । अहिले प्रस्ताव लिएर आएका कम्पनीले नियम र प्रक्रिया अनुरुप आएका हुन् । फेरि यो प्रस्ताव हो, कम्पनीले नाम जुध्यो भन्यो भने नाम त परिवर्तन गर्न पनि सकिने उनले बताए ।

२०६५ फागुन १८ गते बोर्डमा नेशनल स्टक एक्सचेञ्जले लाइसेन्स माग्दै आवेदन हालेको थियो भने काठमाडौं स्टक एक्सचेञ्जले २०६५ साल फागुन २२ गते बोर्डमा निवेदन दिएको थियो ।

नेपाल सेक्युरिटिज एण्ड डेरिभेटिभ एक्सचेञ्जले २०६५ चैत २४ गते आवेदन दिएको थियो । हिमालयन स्टक एक्सचेञ्जले २०६६ साल मंसिर १५ गते बोर्डमा निवेदन दिएको थियो । यी सबै कम्पनीहरुले २५ हजार आवेदन दस्तुर तिरेका थिए । र उनीहरुसँग कम्पनीका संस्थापकहरुको अद्यावधिक विवरण समेत बोर्डले मागेको थियो । तर तिनै नामहरुमा अहिले बोर्डले नयाँ निवेदन लिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स