काठमाडौं । वाणिज्य बैंकहरुले एक सातामा निक्षेप संकलनको तुलनामा कर्जा लगानी बढेको देखिएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार एक साता (असोज १ गतेदेखि असोज ८ गते) सम्मको अवधिमा बैंकहरुले ९ अर्ब निक्षेप संकलन गर्दा ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
वाणिज्य बैंकहरुले एक साताको अवधिमा निक्षेप संकलनको तुलनामा कर्जा लगानी करिब ४ गुणाले बढाएका हुन् ।
अघिल्लो साता बैंकहरुले ४१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । गत साता ४१ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो साता ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । गत साता ३९ खर्ब ३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।
हिन्दुधर्मालम्वीहरुको महान चाडपर्व दशैतिहार नजिकीएसँगै उपभोगिय वस्तुको माग पुर्ती गर्न व्यावसायीहरु आयात बढाउन कर्जा विस्तार बढाएका छन् । जसले गर्दा पनि कर्जा लिने बढेका छन् । सरकारको ढुकुटीमा थुप्रिएको रकम खर्च नहुँदा निक्षेप संकलन बढ्न सकेको छैन । सरकारको ढुकुटीमा मात्रै रकम थुप्रिदा बैंकहरुसँग भने लगानी योग्य पुँजी (तरलता) को अभाव हुन थालिसकेको छ ।
सरकारले चालु आवमा ११ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । असोज ११ गतेसम्म राजस्व लक्ष्यको १६.३५ प्रतिशत अर्थात १ खर्ब ८८ अर्ब २९ करोड रुपैयाँ संकलन गरेको छ ।
यो अवधिमा जम्मा १ खर्र्ब ६ अर्ब ५२ करोड खर्च गरेको छ ।
सो खर्चमध्ये पनि बजारलाई चलायमान बनाउने तथा विकास निर्माणमा गरिने पुँजीगत खर्च भने अत्यन्त न्यून छ । चालु आवमा ४ खर्ब ३५ अर्ब २४ करोड रुपैयाँ पुँजीगत खर्च गर्ने सरकारी लक्ष्य छ । यो अवधिसम्म ०.७२ प्रतिशत अर्थात ३ अर्ब १४ करोड रुपैयाँ मात्र पुँजीगत खर्च भएको छ ।
असोजको पहिलो साता बैंकहरुले ४० खर्ब २१ अर्ब नेपाली रुपैयाँ र १ खर्ब ५८ अर्ब विदेशी रुपैयाँ निक्षेप संकलन गरेका छन् । असोजको पहिलो साता ३७ खर्ब ५१ अर्ब नेपाली रुपैयाँ र १ खर्ब ५१ अर्ब विदेशी रुपैयाँ कर्जा लगानी भएको छ ।