काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म १४.४४ गुणबढी आवेदन परेको छ ।
बिहीबार साँझ ५ः१२ बजेसम्ममा १२ लाख २८ हजार २०० आवेदकबाट १ अर्ब ३५ करोड ७ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड ३५ लाख ७ हजार ९६० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।
जुन सर्वसाधारणलाई निष्काशन गरेको ९ लाख ३४ हजार ९१५ कित्ता सेयरको १४.४४ गुणा बढी हो ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ । जसअनुसार ९२ हजार ४९१ आवेदकले मात्रै सेयर पाउनेछन् ।
कम्पनीले सर्वसाधारणका लागि वैशाख ४ गतेदेखि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले आफ्ना कर्मचारीलाई २२ हजार ४ सय ३९ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ५६ हजार ९९ कित्ता सुरक्षित गरि सर्वसाधारणलाई ९ लाख ३४ हजार ९ सय १५ कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।
कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ निष्कासन गरि बाँडफाँट गरिसकेको छ ।
कम्पनीले सङ्खुवासभाको पिलुवाखोलामा ४.७२ मेगावाटको अपर पिलुवाखोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन थालिसकेको छ । कम्पनीले पिलुवाखोलामा नै ७।७ मेगावाटको अपर पिलुआ १ आयोजना निर्माण गर्नको लागि उत्पादन अनुमति पत्र पेश गरेको छ ।