काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुँजी नपुर्याउने बीमा कम्पनीलाई असारमसान्तसम्म पुँजी पुर्याउनको लागि समय थप गर्ने भएको छ । प्राधिकरणले गरेको व्यवस्था अनुसार धेरै बीमा कम्पनीहरूले पुँजी पुर्याएपनि चुक्ता पुँजी पुर्याउन नसकेका कम्पनीहरूको लागि पुँजी पुर्याउन ३ महिना समय थप गर्न लागेको हो । पुँजी पुर्याउन नसकेका कम्पनीलाई सहजीकरण गर्न असारमसान्तसम्मको समयावधि दिएर पुँजी पुर्याउन दिने छलफल भएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
‘पुँजी नपुर्याउने बीमा कम्पनीहरूको असारमसान्तसम्मको अनअडिटेड रिपोर्ट (अपरिष्कृत वित्तीय विवरण) हेर्छौ,’ उनले भने ‘कम्पनीको अवस्था हरेर राइट सेयर निष्काशन गर्न दिने र त्यसपछि पनि पुँजी अपुग भएमा प्राधिकरणले गरेको व्यवस्था अनुसार फोर्स मर्जरमा पनि लैजान सकिन्छ ।’
प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरेको छ । जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफले मात्रै नियामक निकायले तोके बमोजिमको न्यूनतम पुँजी कायम गरेको छ भने निर्जीवन बीमा कम्पनीतर्फ शिखर, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनीले पुँजी पुर्याएका छन् ।
अहिले तत्काल पुँजी पुर्याउन समस्या देखिएको भनेको नेपाल इन्स्योरेन्स र प्रभू इन्स्योरेन्सको हो । दुई कम्पनीमध्ये नेपाल इन्स्यारेन्सले सम्पत्ति बिक्री गरेर पुँजी पुर्याउने भनिरहेको छ भने प्रभु इन्स्योरेन्सले विदेशी पार्टनर खोजिरहेको भनेको छ । अन्य भने मर्जको प्रकृया छन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानलाई १ वर्षभित्र कम्पनीमा जान भनेकोले अहिले त्यसको कुरा भएन । अन्यले भने आ–आफ्नो ठाउँबाट पहल गरिरहेका छन् ।
प्रभु लाइफ र महालक्ष्मी लाइफ पनि मर्जरमा जानको लागि उनीहरूले संयुक्त क्यालिण्डरनै निकाली सकेका छन् । प्रभु ठूलो ग्रूप र महालक्ष्मी लाइफ कान्छो कम्पनी भएपनि चुक्ता पुँजी धेरै भएको कम्पनी हो ।
जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्सको पुँजी यसअघि नै पुगिसकेको छ भने एलआईसी भारतीय लगानीको कम्पनी भएकाले उसको पुँजीमा कुनै समस्या देखिएको छैन । त्यसरी नै मेटलाइफ विदेशी कम्पनी हो भने सिटिजन, सन नेपाल, आईएमई, रिलायबल लाइफ इन्स्योरेन्सको पनि पुँजी थप गर्नुपर्ने देखिएको छ ।
निर्जीवन बीमा कम्पनीतर्फ शिखर, नेको इन्स्योरन्सको पुँजी पुग्छ भने नेशनल र ओरिएढटल विदेशी लगानीका कम्पनी हुन् भने एनएलजीको सस्थापन पक्षले पुँजी थप गर्ने भनिएको छ ।
अब भने प्राधिकरणले २५ प्रतिशतसम्म हकप्रद सेयर निष्काशन गर्न दिने तयारी पनि गरेको छ । बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिने र त्यसपछि पनि अपुग भएमा अधिकतम २५ प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न दिने तयारी प्राधिकरणले गरेको हो ।
आईजीआई र प्रुडेन्सियलले एकीकृत कारोबार गर्नको लागि अन्तिम सम्झौता गरिसकेका छन् भने युनाइटेड र अजोड इन्स्योरेन्स मर्जरको प्रकृयामा रहेका छन् ।
साउन १ गतेदेखि एकीकृत कारोबार गरेर बीमा क्षेत्रमै पहिलो पटक र्मरको खाता खोलेको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले साउन १ बाटै एकीकृत कारोबार सुरु गरिसकेका छन् । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले कार्तिक १४ गते लक्ष्मी पूजाको दिनदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।
प्राइम, युनियन, र गुराँस लाइफले यहि वैशाख महिनाभित्र एकीकृत कारोबार गर्ने गरी कार्य गरिहेका छन् । सूर्य लाइफ र ज्योति लाइफले पुस ७ गतेबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स फागनु १७ गतेबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् ।