निगुरो बेचेर मनग्य आम्दानी

कावासोती । पूर्वी नवलपरासी कावासोती-११ की मनमाया बोटे दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप छिन् । उनले चैतदेखि साउन, भदौसम्म निगुरो टिपेर आफ्नो छ जना परिवारको खर्च चलाउँदै आएकी छिन् । दैनिक चार सयदेखि छ सय रूपैयाँ सम्म आम्दानी हुने उनले बताइन् ।

मनमायाजस्तै कावासोती-१२ की रीता माझी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो टिप्ने गरेको बताइन् । पूर्वी नवलपरासीको विषेश गरेर चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको जंगलमा निगुरो पाइन्छ । शिख्रौली, पिप्रहर, केउरानी, लौगाई, पिठौली, अमलटारीलगायतका नारायणी नदी नजिकका सामुदायिक वनमा पाइने निगुरो स्थानीय बजारदेखि काठमाडौंका भान्सासम्म पुग्ने गरेको छ ।

चैत सुरु भएदेखि पूर्वी नवलपरासीका विषेश गरेर मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा डोको बोकेर निगुरो खोज्नेको ताँती लाग्छ । बिहान झिसमिसेमै जंगल पसेका महिला तथा बालबालिका डोकोभरि निगुरो बोकेर निस्कन्छन् । स्कुले बालबालिकासमेत बिदामा स्टेशनरीको जोहो गर्न निगुरो टिप्न आउँछन् ।

वन आसपास बस्दै आएका धेरै बालबालिकाले निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् । विद्यालय पढ्ने बालबालिकादेखि कलेज पढ्दै गरेका किशोर–किशोरीले समेत बिदाको समयमा निगुरो टिप्ने गरेका छन् । दुई दशकदेखि नारायणी नदी आसपासका जंगलको निगुरो संकलन गर्दै जिल्लाको कावासोती, दलदले, रजहर, डन्डालगायतका बजारमा लगरे बिक्री गर्दै आएको कावासोती–१२ गैरीकी माया नेपालीले बताइन् ।

गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दुका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा दैनिक तीन–चार सय जनाले निगुरो टिप्दै आएका छन् । धेरै मजदुरले दैनिक निगुरो बेचेर परिवारको खर्च चलाउँदै आएका छन् । यस क्षेत्रबाट दैनिक निगुरो संकलन गरी जिल्ला विभिन्न बजारमा बिक्री गर्न लैजाने गरेको कावासोती–१२ मा रहेको राजरत्न मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद लम्सालले बताए ।

यहाँबाट स्थानीयदेखि नारायणघाट, काठमाडौंसम्मका व्यापारी निगुरो लैजाने गरेका छन् । स्थानीय बजारमै निगुरोको माग अत्यधिक हुने भएकाले स्थानीय बजार नै प्राथमिकता रहने गरेको मध्यविन्दुकी अनिता माझीले बताइन् । माझीका अनुसार कहिले वनबाट टिपेर ल्याएको निगुरो स्थानीय बजार नपुग्दै गाउँघरमा नै सकिन्छन् ।

निगुरोको माग अत्यधिक हुने गरेको र बजार राम्रो भए पनि जोखिम उठाएर स्थानीयले निगुरो संकलन गर्ने गरेका छन् । वनमा भेटिने एकसिंगे गैंडा, बाघको डर मात्रै होइन निकुञ्जको सुरक्षामा खटिएका सुरक्षाकर्मीको त्रास पनि उस्तै हुने कावासोतीका कृष्णबहादुर बोटेले बताए ।

विशेष गरेर नारायणी नदी किनारमा रहेका बोटे माझी मुसहरले चैतदेखि साउनसम्म नारायणीमा माछा मार्न अनुमति नपाउँदा निगुरो बेचेर घर चलाउँदै आए पनि वन्यजन्तु र निकुञ्ज प्रशासनको डरको कारणले जोखिम मोलेरै भए पनि निगुरो टिप्ने तथा संकलन गर्दै आएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स