सकियो महासंघको निर्वाचन, मतगणना राति ८ बजेबाट, दोस्रो चरणमा नगइ विजय हासिल गर्न मुस्किल

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आज बुधबार सम्पन्न निर्वाचनको मतगणना राति ८ बजेबाट सुरु हुने भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको चुनावको आज बिहान १० बजे सुरु भएर ६ बजे सकिएको हो ।

मत खसाल्ने कार्य सकिएपनि गणना भने हुन बाँकी भएकोले परिणाम कस्तो आउँछ भनेर भन्न सकिने अवस्था छैन । यद्यपि दिनभरको चहलपहल हिजो राति भएको भोटको बढबढाअनुसार निर्वाचन दोस्रो चरणमा प्रवेश गर्ने देखिएको छ ।

दोस्रो चरणमा प्रवेश गर्दा पहिलो चरणको निर्वाचनमा तेस्रो स्थानमा परेका उम्मेदवारको प्यानलले जसलाई सपोर्ट गर्छ उसैको विजय हुने बुझिएको छ । अहिलेसम्मको बुझाइ अनुसार वरिष्ठ उपाध्यक्षका उम्मेदवारलाई पहिलो चरणमा चुनाव जित्न मुस्किल देखिएको छ ।

काठमाडौंस्थित प्रज्ञाभवनमा भएको उक्त निर्वाचनको मत गणना राति ८ बजेबाट सुरु हुने प्रमुख निर्वाचन अधिकृत लिलामणी पौडेलले बताए । उनका अनुसार एसोसिएटतर्फ १६ सय ४९ मत खसेको छ भने जिल्ला÷नगरतर्फ ११७ र वस्तुगततर्फ १२३ मत खसेको छ । र जिल्ला÷नगरतर्फ र वस्तुगततर्फ शतप्रतिशत मत खसेको छ भने एसोसिएटतर्फ सबै मत नखसेको पौडेलले बताए ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूले ५० प्रतिशत मत ल्याउन नसके निर्वाचन दोस्रो चरणमा जाने छ । यदि वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धीमध्ये कसैको पनि ५० प्रतिशत मत आएन भने दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म हुनेछ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्षमा वस्तुगततर्फका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वस्तुगततर्फका वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघई उम्मेदवार रहेका छन् ।

त्यस्तै जिल्ला/नगरतर्फको उपाध्यक्षका लागि ३, वस्तुगततर्फको उपाध्यक्षका लागि ३ र एसोसिएटतर्फको उपाध्यक्षका लागि २ जना चुनावी मैदानमा रहेका छन् ।

निर्वाचनमा विभिन्न ६४ पदका लागि ११६ जनाले प्रतिस्पर्धा गरेका छन् । जिल्ला/नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स