काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको महासंग्राम चुनाव नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ । महासंघको आगामी नेतृत्व लिन अन्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । चुनावी नतिजा आफ्नो पक्षमा पार्न तीनै पक्ष पछिल्लो केही सातादेखि रौनकमा रहेका छन् ।
अघिल्ला वर्षहरूको झै यस वर्ष पनि पछिल्लो साताको पनि पछिल्लो दिनमा तीनै पक्ष आफू र आफ्नो प्यानललाई विजय गराउन साम, दाम, दण्ड, भेद प्रयोग गरिरहेका छन् । मंगलबार राती तीनै पक्षले राजनीतिक दबाबका साथै पैसा बढाबढ गरेर भोट किन्ने प्रयास गरेका थिए । यो बढाबढमा को को कति सफल भए र कसले कति भोट किन्न सके त्यो त चुनावी परिमाणले देखाउने नै छ । तीन पक्षको पहिलो चरणमा ५० प्रतिशत मत नआउने देखिएपछि तीनै पक्षले दोस्रो चरणमा जान प्रयास गरेका छन् ।
जिल्ला–नगरका उद्योग वाणिज्य संघका अध्यक्षहरू पार्टीगत रूपमा आउन भएकाले राजनीतिक दबाबको ठूलो अर्थ राख्छ । त्यही भएर वरिष्ठ उपाध्यक्षका आकांक्षीहरुले राजनीतिक नेतृत्वलाई दबाब दिएर आफ्नो पक्षमा मतदान गराउने प्रयास गर्छन्। जिल्ला–नगरका ७० प्रतिशत प्रतिनिधि कांग्रेस निकट छन् ।
उमेशलाललाई एमालेको समर्थन छ । उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठ तथा सहाना प्रधानका छोरा हुन्। उनी राजनीतिबाट टाढा रहेर उद्योग व्यवसायमा संलग्न भएपनि यति बेला त्यो विरासतले पनि उनलाई केहि सपोर्ट गर्छ नै ।
उमेशलाललाई जिताउन महासंघ पूर्वअध्यक्ष विनोदबहादुर चण्डिराज ढकाल र पूर्वउपाध्यक्ष भाष्कराज राजकर्णिकार पनि लागेका छन् । उमेशलाल श्रेष्ठका लागि उनीहरू बानेश्वरको आनन्दभूमि होटलमा निरन्तर जम्मा भइरहेका हुन्छन् ।
उमेशलालले एमाले मात्रै होइन कांग्रेसको समर्थनका लागि आफ्नो प्यानलमा कांग्रेस निकटलाई ठाउँ दिएका छन् उमेशलालको प्यानलबाट वस्तुगत सदस्यमा नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान उठेका छन् । प्रधान कांग्रेसीको भोट तान्न सक्रिय थिए ।
उनी कांग्रेसका नेता प्रकाशमान सिंह निकट छन् । वस्तुगत उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल पनि कांग्रेस निकट हुन् । वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार अन्जन श्रेष्ठले पनि कांग्रेसको भोट तान्न मेहनत गरेका छन् । उनले कांग्रेस महामन्त्री गगन थापामार्फत भोट आफूतिर तान्ने प्रयास गरेका छन् । थापाले अन्जनका लागि प्रत्यक्ष रुपमै सहयोग गरेका छन् ।
कांग्रेसका नेता विश्वप्रकाश शर्माले अन्जनलाई नै सहयोग गरिरहेका छन्। अञ्जन श्रेष्ठको हकमा पनि आनन्द मुल्मीसहितको टिम सक्रिय छ । उनलाई पनि अग्रजले सघाइरहेका छन् । उनलाई मुल्मीसहितको समूहले सहयोग गरिरहेको भए पनि उनको समूहकै उम्मेदवार जोत्सना श्रेष्ठले छोड्नु र प्रवलजंग पाण्डेले उम्मेदवार हुन नमान्नुले उनलाई केही सकस परेको महासंघका प्रतिनिधिहरूबीच चर्चा चलेको छ ।
वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार रामचन्द्र संघईलाई कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको प्रत्यक्ष साथ छ । संघईलाई भने मारवाडी समुदायले सहयोग गरिरहेको छ । महासंघमा मूलतः मारवाडी समुदायभन्दा नेवार समुदाय बलियो मानिन्छ । यही समुदायबाट पछिल्लोपटक पशुपति मुरारका अध्यक्ष भएका थिए । त्यसपछिको अध्यक्षको लाइनमा संघई लागेका हुन् ।
चुनावी खर्चमा भन्दा पनि मतदातामा लगानी बढाएका संघई पनि बलियो उम्मेदवार भएको प्रतिनिधिहरू बताउँछन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालको साथ र सहयोग छ । उनी अहिले जिल्लाबाट आउने प्रतिनिधिहरूसँग निरन्तर सम्पर्कमा छन् ।
महासंघको इतिहासमा पहिलोपटक वरिष्ठ उपाध्यक्षमा तीन जना उम्मेदवार भएका कारण चुनाव दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि छ । उम्मेदवारहरू भने दोस्रो चरणमा प्रवेश नगरोस् भन्ने प्रयासमा छन् । दोस्रो चरणमा प्रवेश गर्दा चुनावी लेनदेन निकै पेचिलो हुने सम्भावना हुन्छ ।
प्रतिस्पर्धाबाट बाहिरिने एक जना उम्मेदवारले दोस्रो चरणको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्छन्, उसैको पल्ला भारी हुने भएकाले अहिले नै डिल गर्ने प्रयासमा पनि उम्मेदवार देखिएका छन् । अहिले नै वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवारबीच दोस्रो चरणमा सहयोग आदानप्रदान गर्ने सहमति भएमा एकअर्काबाट मिश्रित चुनावी नतिजा आउन सक्ने चर्चा प्रतिनिधिहरूबीच भइरहेको छ । त्यसैले पनि महासंघको चुनावको परिणाम दोस्रो चरणपछिमात्रै निर्णय हुने देखिएको छ ।
यस्तो बन्नेछ महासंघको कार्यकारिणी समिति
महासंघको विधानअनसार ६४ जनाको कार्यकारिणी हुनेछ । अहिले महासंघमा अध्यक्षबाहेकका पदमा निर्वाचन हुन लागेको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानले व्यवस्था गरेका कारण अहिले अध्यक्षको चुनाव हुँदैछ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल नै आगामी कार्यकालको लागि अध्यक्ष बन्ने छन् ।
महासंघको इतिहासमा पहिलोपटक तीन जना वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवार भएका छन् । त्यसले महासंघको चुनावी माहौल निकै रोचक बनाएको छ । अहिले वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धा गर्दैछन् ।
उपाध्यक्षमा उमेशलाल श्रेष्ठको समूहबाट वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल, एसोसिएटतर्फबाट भरत आचार्य र जिल्ला नगरतर्फबाट भने दिनेश श्रेष्ठ उम्मेदवार भएका छन् । महासंघको जिल्ला नगर उपाध्यक्षमा उमेशलाल श्रेष्ठको समूहबाट हाल जिल्ला, नगर उपाध्यक्ष रहेका दिनेश श्रेष्ठले दोहोरिन चाहेका कारण पुनः उम्मेदवारी परेको हो ।
दिनेश श्रेष्ठले संघाईको समूहका सुरकृष्ण वैद्य र अञ्जन श्रेष्ठ समूहका अरुणराज सुमार्गीसँग प्रतिस्पर्धा गर्नेछन् । अञ्जन श्रेष्ठको समूहबाट मनिषलाल प्रधान र संघाईको समूहबाट सकुन्तलाल हिराचन उम्मेदवार छन् । अनि, एसोसिएटतर्फ भने भरतराज आचार्य दुईवटा समूहको उम्मेदवार भएका छन् । उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको समूहमा रहेका आचार्यले संघई समूहका जोत्सना श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन् ।
जोत्सनाले अञ्जन श्रेष्ठको समूह छोडेर संघईको समूहका गएर उम्मेदवारी दिएकी हुन् । अञ्जन श्रेष्ठको समूहले प्रवलजंग पाण्डेलाई उम्मेदवार बनाउन लागेको थियो । तर, पाण्डेले उम्मेदवार नदिने भएपछि अञ्जन श्रेष्ठ समूहले आचार्यलाई नै समर्थन गरेको हो ।
समूहगत प्रतिस्पर्धा भइरहेका बेलामा भावी अध्यक्ष तथा अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको ग्रिन सिग्नल कसलाई हुन्छ भन्नेले पनि उम्मेदवारीमा फरक पर्नेछ । अध्यक्षले आफूलाई काम गर्न सहज हुने टिम बनाउनका लागि तीन समूहमध्ये एउटा समूहका उम्मेदवारलाई ग्रिन सिग्नल दिनेछन् ।