काठमाडौं । वैशाख महिनामा बैंकको ब्याजदर घटाउने विषयमा सहमति जुटाउन वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू बैठकमा बसेका छन् । वैशाखदेखि ब्याजदर घटाउन सकिने तथ्यांकहरूले पनि बोलिरहेको र चौतर्फी रुपमा ब्याजदर घटाउन पहल भइरहेका बेला बैंकका सीईओहरू बैठकमा बसेका हुन् ।
‘ ब्याजदर घटाउने तथा अहिलेकै अवस्थामा राख्ने भन्नेबारे निर्णय गर्न नेपाल बैंकर संघको पूर्ण कमिटीको बैठक अहिले ९ बजेबाट बसेको छ । यो बैठकले बैशाख महिनामा बैंकको ब्याजदरका विषयमा निर्णय गर्नेछ ।
सरकार तथा अर्थमन्त्रीले ब्याजदर घटाउनुपर्ने निर्देशन दिइरहँदा तथा बजारले समेत तेसैगरी ब्याजदर घट्नुपर्ने आशा गरिरहेका बेला बैंकर संघको पूर्ण कमिटीको बैठक बसिरहेको छ ।
स्रोतका अनुसार आधा बैंकर ब्याजदर घटाउन नहुने यथास्थितिमा राख्नु पार्ने अडानमा छन् । आधा बैंकर भने ब्याजदर घटाउनुपर्ने भनिरहेका छन् । जे भएपनि पछिल्लो अवस्थामा पूर्व बैंकहरूले २ प्रतिशतसम्म घटाउन सकिने बताइरहेका छन् भने बैंकका साहुजीहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघले पनि बैंकहरूले २ प्रतिशतसम्म ब्याजदर घटाउने बताइरहेका छन् ।
वैशाखमा अब मुद्दति निक्षेपको ब्याजदर ९.९ प्रतिशत कायम गर्ने र सोही अनुपातमा बचतको ब्याजदर समेत घटाएर कर्जाको ब्याजदर घटाउने तयारी बैंकहरूले गरेका हन् । सरकारी सूचना अनुसार बजारमा तरलता सहज गर्नको लागि सार्वजनिक संस्थानको पैसालाई मुद्दति निक्षेपमा ६ प्रतिशतसम्म ब्याज दिएर कर्जामा राहत दिन सकिने स्वयम् बैंकर्सहरूले बताएका छन् । यसो भएमा अब फागुन महिनादेखि कर्जाको समेत ब्याजदर घट्ने देखिएको छ ।
बैंकहरूको तेस्रो त्रैमासिक रिपोर्टले अझ बैंकहरू ब्याजदर घटाउन सघाउने जानकारहरू बताउँछन् ।