आज नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभा, चुनावी नतिजा मिश्रित आउन सक्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (नेउवाम) को ५७ औँ साधारणसभा आज सुरु हुँदैछ । याक एण्ड यति होटलमा हुने उद्घाटन समारोहपछि महासंघका पदाधिकारीको चुनाव भने २९ चैतमा प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

महासंघको विधानअनसार ६४ जनाको कार्यसमिति हुनेछ । अहिले महासंघमा अध्यक्षबाहेकका पदमा निर्वाचन हुन लागेको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानले व्यवस्था गरेका कारण अहिले अध्यक्षको चुनाव हुँदैछ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल नै आगामी कार्यकालको लागि अध्यक्ष बन्ने छन् ।

महासंघको इतिहासमा पहिलोपटक तीन जना वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवार भएका छन् । त्यसले महासंघको चुनावी माहौल निकै रोचक बनाएको छ । अहिले वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धा गर्दैछन् ।

उपाध्यक्षमा उमेशलाल श्रेष्ठको समूहबाट वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल, एसोसिएटतर्फबाट भरत आचार्य र जिल्ला नगरतर्फबाट भने दिनेश श्रेष्ठ उम्मेदवार भएका छन् । महासंघको जिल्ला नगर उपाध्यक्षमा उमेशलाल श्रेष्ठको समूहबाट हाल जिल्ला, नगर उपाध्यक्ष रहेका दिनेश श्रेष्ठले दोहोरिन चाहेका कारण पुनः उम्मेदवारी परेको हो ।

दिनेश श्रेष्ठले संघाईको समूहका सुरकृष्ण वैद्य र अञ्जन श्रेष्ठ समूहका अरुणराज सुमार्गीसँग प्रतिस्पर्धा गर्नेछन् । अञ्जन श्रेष्ठको समूहबाट मनिषलाल प्रधान र संघाईको समूहबाट सकुन्तलाल हिराचन उम्मेदवार छन् । अनि, एसोसिएटतर्फ भने भरतराज आचार्य दुईवटा समूहको उम्मेदवार भएका छन् । उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको समूहमा रहेका आचार्यले संघई समूहका जोत्सना श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन् ।

जोत्सनाले अञ्जन श्रेष्ठको समूह छोडेर संघईको समूहका गएर उम्मेदवारी दिएकी हुन् । अञ्जन श्रेष्ठको समूहले प्रवलजंग पाण्डेलाई उम्मेदवार बनाउन लागेको थियो । तर, पाण्डेले उम्मेदवार नदिने भएपछि अञ्जन श्रेष्ठ समूहले आचार्यलाई नै समर्थन गरेको हो ।

समूहगत प्रतिस्पर्धा भइरहेका बेलामा भावी अध्यक्ष तथा अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको ग्रिन सिग्नल कसलाई हुन्छ भन्नेले पनि उम्मेदवारीमा फरक पर्नेछ । अध्यक्षले आफूलाई काम गर्न सहज हुने टिम बनाउनका लागि तीन समूहमध्ये एउटा समूहका उम्मेदवारलाई ग्रिन सिग्नल दिनेछन् ।

चुनावी मैदानमा खटेका उद्योगी व्यवसायीहरूको भनाइमा ढकालले सर्वसम्मत गराउने प्रयास गरिरहेका छन् ।

उमेशलाललाई जिताउन महासंघ पूर्वअध्यक्ष विनोदबहादुर चण्डिराज ढकाल र पूर्वउपाध्यक्ष भाष्कराज राजकर्णिकार पनि लागेका छन् । उमेशलाल श्रेष्ठका लागि उनीहरू बानेश्वरको आनन्दभूमि होटलमा निरन्तर जम्मा भइरहेका हुन्छन् ।

अञ्जन श्रेष्ठको हकमा पनि आनन्द मुल्मीसहितको टिम सक्रिय छ । उनलाई पनि अग्रजले सघाइरहेका छन् । उनलाई मुल्मीसहितको समूहले सहयोग गरिरहेको भए पनि उनको समूहकै उम्मेदवार जोत्सना श्रेष्ठले छोड्नु र प्रवलजंग पाण्डेले उम्मेदवार हुन नमान्नुले उनलाई केही सकस परेको महासंघका प्रतिनिधिहरूबीच चर्चा चलेको छ ।

संघईलाई भने मारवाडी समुदायले सहयोग गरिरहेको छ । महासंघमा मूलतः मारवाडी समुदायभन्दा नेवार समुदाय बलियो मानिन्छ । यही समुदायबाट पछिल्लोपटक पशुपति मुरारका अध्यक्ष भएका थिए । त्यसपछिको अध्यक्षको लाइनमा संघई लागेका हुन् ।

चुनावी खर्चमा भन्दा पनि मतदातामा लगानी बढाएका संघई पनि बलियो उम्मेदवार भएको प्रतिनिधिहरू बताउँछन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालको साथ र सहयोग छ । उनी अहिले जिल्लाबाट आउने प्रतिनिधिहरूसँग निरन्तर सम्पर्कमा छन् ।

महासंघको इतिहासमा पहिलोपटक वरिष्ठ उपाध्यक्षमा तीन जना उम्मेदवार भएका कारण चुनाव दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि छ । उम्मेदवारहरू भने दोस्रो चरणमा प्रवेश नगरोस् भन्ने प्रयासमा छन् । दोस्रो चरणमा प्रवेश गर्दा चुनावी लेनदेन निकै पेचिलो हुने सम्भावना हुन्छ ।

प्रतिस्पर्धाबाट बाहिरिने एक जना उम्मेदवारले दोस्रो चरणको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्छन्, उसैको पल्ला भारी हुने भएकाले अहिले नै डिल गर्ने प्रयासमा पनि उम्मेदवार देखिएका छन् । अहिले नै वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवारबीच दोस्रो चरणमा सहयोग आदानप्रदान गर्ने सहमति भएमा एकअर्काबाट मिश्रित चुनावी नतिजा आउन सक्ने चर्चा प्रतिनिधिहरूबीच भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स