काठमाडौं। अब जीवन बीमा कम्पनीहरुले बीमकलाई कुनै पनि प्रकारको भ्रममा पारेर पोलिसी बेच्न नपाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिका–२०७९ ले कम्पनी, अभिकर्ता र बीमितलाई नियम ल्याएको छ ।
निर्देशिकाअनुसार जीवन बीमालेखमा बीमालेखको प्रस्तावित नाम बजारमा प्रचलनमा रहेका बीमालेखहरू भन्दा फरक हुनु पर्नेछ । बीमक कम्पनीले बीमालेखको बीमांक रकम निर्धारण गर्दा बीमा गर्न चाहने व्यक्तिको आर्थिक क्षमता र पुनर्बीमाको पर्याप्तताको आधारमा गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
बीमालेख तयार गर्दा न्यूनतम बीमा अवधि ५ वर्ष कायम गरी तयार गर्नु पर्नेछ । म्यादी जीवन बीमाको हकमा भने न्यूनतम बीमा अवधि एक वर्ष कायम गर्न निर्देशिकाले खुला गरेको छ ।
बीमालेख खारेज वा रद्द भएमा पूरक करार स्वतः रद्द हुनेछ । पूरक करारको बीमा अवधि, बीमाशुल्क रकम र बीमांक रकम पूरक करारको प्रकृतिअनुसार बीमांकीले निर्धारण गरे बमोजिम हुने व्यवस्था छ ।
बीमा कम्पनीले बीमालेखको सर्त तथा सुविधा र प्राविधिक विश्लेषण गरी बीमांकीय रकमबाट बीमादर तालिका तयार गराउनु पर्नेछ । बीमा कम्पनीले पुरा शुल्क नलिई वा प्राप्त भएको मितिभन्दा अगाडिको मितिदेखि लागु हुनेगरी कुनै पनि बीमालेख जारी गर्न पाउने छैनन्। कम्पनीले बीमालेख अन्तर्गत दर निर्धारण गर्दा समावेश गरेको बोनस लोडको दर कम्तीमा फ्युचर बोनस रिजर्भको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
बीमकले बीमालेख जारी भएको ३ वर्षको बीमाशुल्क भुक्तान गरेपछिमात्रै अर्थात बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भएपछिमात्र सरेण्डर गर्न तथा बीमालेख सुरक्षण राखी कर्जा प्रदान गर्न सकिने व्यवस्था पनि निर्देशिका उल्लेख गरिएको छ । बीमकले बीमालेख धितो राखी कर्जा लिन बढीमा समर्पण मूल्यको ९० प्रतिशत र घटीमा १० हजारसम्म कायम गर्नुपर्ने नियम छ ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/04/जीवन-बीमालेख-सम्बन्धी-निर्देशिका-२०७९.pdf”]