काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई नयाँ स्टक एक्सचेन्ज , कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स वितरण गर्ने बाटो खुलेको छ । सर्वोच्च अदालतले लाइसेन्स वितरण गर्ने प्रक्रिया रोक्न माग गर्दै परेको रिट खारेज गरेसँगै बोर्डलाई लाईसेन्स वितरण गर्ने प्रक्रिया सुरु गर्न बाटो खुलेको हो ।
सर्वोच्चले नयाँ व्यापारिक लाइन्सेन्स वितरण प्रक्रियाविरुद्ध परेको अधिवक्ता दीपकविक्रम मिश्रको रिट खारेज गर्दै सेबोनको पक्षमा फैसला सुनाएको हो।
न्यायधिशद्वय अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलाशले मिश्रको रिट खारेजीको आदेश दिएको हो ।
रिट निवेदक अधिवक्ता दिपक विक्रम मिश्रले अधितोपत्र बोर्डले सुरु गरेको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै असोज ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा करिब ६ महिनापछि आज अन्तिम फैसला आएको हो।
यसअघि गत फागुन १५ गते संवैधानिक इजलाशमा यसैसम्बन्धी परेको मुद्दाको आदेशको मिसिल झिकाएर अर्को सुनुवाइको लागि पेस गर्नका लागि अदालतले आदेश दिएको थियो।
सेबोनले गत असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो। बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने सूचनामा जनाएको थियो। ब्रोकर लाइसेन्सका लागि ४६ कम्पनीले आवेदन दिएका छन् भने स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि आवेदन परेको छैन।