रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी रास्वपाले निलम्बन गरेको छ । सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक सहयोग मागेको अडियो सार्वजनिक भएपछि पार्टीले कारबाही गरेको हो ।

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् ।सांसद श्रेष्ठले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा प्रसाईसंग भएको कुराकानीमा सुनिन्छ । प्रचण्ड सरकारमा सहभागी रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दाबी गर्दै आएको थियो ।

३ माघमा मन्त्रिपरिषद् विस्तार हुनुअघि भएको यो सम्वादमा सांसद ढाकाकुमार श्रेष्ठले भनेका छन्, ‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे २ जति चाहियो भन्दै थिए । मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर ।’

सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको कोर टिमले रकम मागेको सांसद श्रेष्ठले बताएका छन् । उनले भनेका छन्, ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका २/३ जना साथी हुनुहुन्छ । उहाँहरुलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन् ।’

ह्वाट्सएपमा भएको भनिएको संवादमा व्यवसायी प्रसाईंले पनि २ करोड सहयोग गर्ने, तर त्यसका लागि केही समय लाग्ने बताएका छन् । ‘तपाईँलाई मैले २ करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ’, प्रसाईंले भनेका छन्, ‘उनीहरुसँग टाइम माग्नुस्, म दिन्छु भन्नुस् ।’ प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने तर पछि आफ्नो काम गरिदिनुपर्ने शर्त राखेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स