२०८० मा नेपालको भाग्यः भूकम्प तथा प्राकृतिक प्रकोपको भय, सत्ता परिवर्तनदेखि अर्थतन्त्र संकुचनसम्मको योग

बंगलादेश, श्रीलंका र नेपालका लागि राम्रो

काठमाडौं । विक्रम संवत् २०८० को राजा बुध, मन्त्री शुक्र रहनेछन् । वर्षारम्भमा शुभको प्रभाव बढिरहेको छ । राजा र मन्त्री दुबै एक अर्कामा मित्र भाव राख्ने अनि बुध राजा भएर शुक्रको नक्षत्रमा, शुक्र मन्त्री बनेर चन्द्रमाको नक्षत्रमा रहन्छन् । शुभ ग्रह भएकाले वर्षभरि शुभ कार्य धेरै हुनेछन् । यज्ञ यज्ञादिमा रुचि बढ्नेछ । धार्मिक पर्याटनमा लाभ उठाउन सकिने वर्ष हो। बुध राजा भएको कारक व्यापार व्यवसाय निर्यातमा बढोत्तरी हुनेछ ।

अर्थतन्त्रमा ठूलो नोक्सान भई राष्ट्र असफलताउन्मुख हुन सक्छ । सत्तासमेत परिवर्तन हुन सक्छ । विस्थापित शक्तिले अवसर पाउन सक्छन्, अकल्पनीय व्यक्तिको अकस्मात् उदय भएर ऐतिहासिक कार्य गरेर देशलाई नयाँ रूप दिने सम्भावना रहन्छ । प्रतिष्ठित व्यक्तिको निधनले राजनीतिमा संकट आउन सक्छ ।

वर्ष लग्नदेखि अष्टम मेषमा राहुसहितको सूर्य, बुधले देशको आर्थिक अवस्था कमजोर हुनेछ । वर्षारम्भमा बनेको लग्नादि योगको बल वार्षान्त्यसम्म रहनेछ । यस्तो समयमा उतार चढाव धेरै आउने सम्भावना रहन्छ । तृतीय भावमा चन्द्र भाग्यभावमा शुक्र रहेको हुँदा राज्यकोषलाई मिलिजुली खाने प्रयासलाई निस्तेज गर्दै उपलब्धिमूलक कार्यमा अधिक खर्च गर्ने प्रयास हुनेछ ।

राज्यको निर्यात बढाउने र आयात घटाउने प्रयास हुँदा राष्ट्रिय ढुकुटी स्थिर रहने सम्भावना हुन्छ । वर्र्ष लग्नदेखि आठौँमा रहेको राहुले विदेशी ऋण बढ्ने सम्भावना हुन्छ । केही समय बुध, शुक्र बक्र हुनेले राज्यले बाटो बिराउँदा संघर्षमा जनता आन्दोलित हुनेछन् ।

प्राविधिक र विज्ञानले निर्माणमा जोड दिने हुँदा आधुनिक शैलीबाट कृषि उद्योगका साथै अन्य उद्योग अगाडि बढाउने प्रयासले गर्दा धार्मिक पर्यटकको वृद्धि हुनेछ ।

राजा मन्त्रीको नक्षत्रमा, मन्त्री चन्द्रमाको नक्षत्रमा बसेकाले महिलाशक्ति राज्य सञ्चालनमा र देश निर्माणमा पुरुषभन्दा अग्र हुनेछन् । विज्ञानमा चासो बढ्नेछ । प्राकृतिक स्रोतको खोजीमा जनचासो बढ्नेछ । वाणिज्य कारक बुध, विज्ञान कारक शुक्रको विशेष प्रभाव रहने हुँदा वर्षको आरम्भमा अधिकार प्राप्तिका अवाज प्रशस्तै उठ्ने सम्भावना रहन्छन् ।

मन्त्री पदमा आसीन शुक्रले प्रशासनिक दक्षतालाई महिला तथा वैज्ञानिकहरूबाट निर्देशनात्मक तवरले बढावा दिने हुँदा राजनीतिलाई प्रतिबद्धता उन्मुख गराउन बल पुग्नेछ । दिग्भ्रमित भइरहेका बुद्घिजीवी र जिम्मेवार व्यक्तिहरू महिलाद्वारा नियन्त्रित हुने हुँदा बाध्य भई संगठित हुँदा छद्मभेषी, मानवविरोधी जमात निस्तेज हुने सम्भावना रहन्छ ।

बौद्धिक व्यक्तित्वहरूको एकताले अनैतिक कार्य गर्नेहरू विश्वभर तरंगित हुनेछन् । राजनीतिक दलले नियन्त्रणमा लिने प्रयास गर्दा राजनीतिमा स्वेच्छाचारी बढ्ने सम्भावना रहन्छ ।

परिणामस्वरूप समाजमा विचलन आउन सक्छ, बौद्धिक वर्गहरू संगठित हुँदा शुभ ग्रहको प्रभाव बलियो रहेकाले सबैले धैर्य धारण गर्दै समन्वयतिर जोडिने प्रयास गर्नेछन्। त्यसबाट सकारात्मक प्रभावलाई बल पुग्नेछ। संयम र सजग भएमा ऐतिहासिक कार्य गर्ने अवसर मिल्ने देखिन्छ ।

यस वर्षको वर्ष प्रवेश कन्या लग्नमा भएको छ । यो द्विस्वभाव लग्न भएकाले राज्य सञ्चालकहरू द्विविधामा पर्न सक्ने सम्भावना हुन्छ । लग्नेश, चतुथेश, सप्तमेश र दशम भावको मालिकद्वारा बनेको लग्नादी योगले बलियो बनाएको छ । भाग्येश, पञ्चमेशको महत्वपूर्ण भूमिका हुन्छ ।

ग्रह वक्र र मार्ग, ग्रहको संयोग, उच र नीच सबैको अवस्थालाई मिलाउनुपर्छ । वर्ष आरम्भ हुँदा चन्द्रमा मकर राशिमा बस्छ । नेपालको राशिदेखि तृतीय स्थानमा भएकाले शुभ हा । लग्नेश र दशमेश भई बुध वर्ष लग्नबाट अष्टम भावमा लग्नादि योग बनाएर रहँदा बलशाली हुन्छन्।

सप्तमेश र चतुर्थेश गुरु, जगलग्नदेखि सप्तम भावमा छन् । गुरु वर्षारम्भ हुँदाको समयमा नेपालको राशिदेखि पञ्चम भावमा अस्त छन् । वर्र्ष लग्नदेखि सप्तम भावमा बसेर लग्नमा दृष्टि दिने हुँदा देशले गति लिनेछ ।

२०८० सालको वर्षारम्भमा दशमभावमा सेनाधिपति मंगल मकर राशिमा, चन्द्रमा, सूर्य, बुध राहु अष्टमभावमा, शनि षष्ठ भावमा कुम्भ राशिमा रहेकाले ग्रहस्थितिले निकै उचारचढाव सामना गर्नुपर्ने छ । विशेष गरी राजनीति, धर्म र न्याय क्षेत्रमा विचलन ल्याउन सक्छ ।

सावधानी नअपनाए न्यायपालिकाले कार्यपालिकालाई कब्जा गर्न खोज्छ । यो अवस्था जटिल हुने भएकाले सजग सचेत हुनु जरुरी छ । थोरै मात्र चुक्यो भने अवस्था गम्भीर र जटिल हुनेछ । यस प्रसंगमा लग्नकुण्डलीको योगबल पनि महत्वपूर्ण हुन्छ ।

यस वर्ष वर्षारम्भमा लग्नादि योग मेष राशिको राहुले बनाएको छ । यसको मुख्य फल प्रायः उतारचढाव आउने हो। यस्तो समयमा संकट सामना गर्नुपरे पनि परिणाम सकारात्मक निस्कनेछ ।

प्रयास गरेमा वर्षारम्भको दिन चन्द्रमा देशको राशिदेखि तृतीय स्थानमा भएकाले ग्रह अति बलिया छन्। राहु र सूर्य एकसाथ ग्रहण योगमा रहनेछन्। यसलाई ग्रहका हिसाबले अशुभ कोणबाट बुझे पनि मेषको राहु र उच्च सूर्यले अष्टम भावमा लग्नादि योग बनाएर रहेको हुँदा मिलाएर हेर्दा यसबाट लाभका अवसर विशेषतः नेपालका लागि धेरै हुनेछ ।

वर्षको राजा र मन्त्री पदमा रहेका ग्रह वर्र्ष लग्न र देशको राशिबाट अनुकूल रहँदा शुभ मानिन्छ। मंगलको सम्बन्ध रगत, पृथ्वी, रोग, आगो, हातहतियार र सेनामा रहन्छ ।

२०८० वैशाख २९ गतेसम्म मंगल मिथुन रहँदा राजनीतिमा संकट, आगलागी, भूकम्प, आँधीहुरीका साथै विमान दुर्घटनामा महत्वपूर्ण व्यक्तिको निधन हुन सक्छ ।

शुक्रको सम्बन्ध सम्पूर्ण विज्ञान, विशेषतः स्वास्थ्य विज्ञान, स्त्री, भोगविलाश, सुन्दरता, सम्भोगमा रहन्छ । वर्षारम्भमा वर्र्ष लग्नदेखि नवम र देशको राशिबाट सप्तम कूटनीतिक भावमा रहने हुँदा महिला हिंसामा अग्रसर पुरुष र महिला अधिकारमा अग्र महिलाहरूको द्वन्द्व बढ्न सक्ने देखिएको छ ।

आ–आफ्नो स्वार्थले प्रेरित शक्तिको चलखेलमा राष्ट्रिय संकट आउन सक्छ । यस्तो समयमा अज्ञात रोग प्रकट हुन सक्ने, चोरी, अराजक कार्य, प्राकृतिक विपत्ति आउन सक्छ ।

असार ३१ गतेदेखि बक्र भएका मन्त्री शुक्र भाद्र १२ गते मात्र मार्गी हुनेछन् । सोही समयमा श्रावण १८ अस्ताउँदै भाद्र १ गते उदाउनेछन् । यस्तै श्रावण ३१ गते राजा बुध बक्री हुँदै भाद्र ६ गते अस्ताएर भाद्र २१ गते उदाउने, २३ गते मार्गी हुनेछन्। वर्र्षका राजा, मन्त्रीका बक्र योगले अविभावकीय भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ ।

यस वर्र्ष बंगलादेश, श्रीलंका र नेपालका लागि राम्रो चीन, भुटान, भारत, अफगानिस्तानलाई प्रतिकूल र पाकिस्तान मध्यम छ । यस वर्ष पश्चिमा मुलुकको अवस्था उतारचढाव रहनेछ ।

यस्तो स्थितिमा प्राकृतिक प्रकोप र राजनीति तरलता बढ्नेछ । विशेष गरी समुद्री ज्वालामुखी, आँधीका कारण विश्व तरंगित हुन सक्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स