महासंघका वरिष्ठ उपाध्यक्षका दावेदार एउटै मोर्चामा, के होला त अब ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका दावेदारहरूलाई एउटै मोर्चामा ल्याउने तयारी भएको छ । वरिष्ठ उपाध्यक्षका दावेदारहरूलाई एउटै मोर्चामा ल्याएर महासंघको आगामी नेतृत्व सर्वसम्मतबाट चयन गर्ने पहल हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले थालनी गरेका हुन् ।

चुनावी सरगर्मी बढेसँगै उनले थालेको यो सर्वसम्मतको अभियानमा वरिष्ठ उपाध्यक्षका तीनजना आकांक्षीहरू उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर छलफल सुरु गरेका हुन् । ढकालले वरिष्ठ उपाध्यक्षको सर्वसम्मति जुटाउन उनीहरूलाई एउटै मोर्चामा उभ्याएर पलह सुरु गरेका छन् ।

यहि आगामी चैत्र २८ र २९ गते हुने ५७ औँ वार्षिक साधारण सभासभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व चयन गर्नेछ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको लागि अध्यक्ष बन्ने व्यवस्था भएकाले ढकालले सर्वसम्मतबाट नेतृत्व चयन गर्न खोजेका हुन् ।

‘महासंघलाई सबै उद्योगी व्यवसायीहरुको साझा प्लेटफर्म बनाउनुपर्छ भन्ने मेरो धारणा हो,’ सर्वसम्मतको छलफल बैठकमा वरिष्ठ उपाध्यक्ष ढकालले भने ‘मैले महासंघमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौ भन्ने चाहेको हुँ ।
यसै शिलशिलामा महासंघका ७ वटै प्रदेशको निर्वाचन सकिएको छ र सबै प्रदेशमा अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व निर्वाचित पनि भएका छन् । यसले महासंघमा राम्रो संस्कारको पनि विकास गरेको छ । अहिले मुलुकको अर्थतन्त्र र व्यवसायीहरू समस्यामा रहेको बताउँदै यस्तो अवस्थामा निजी क्षेत्रबीच एकता र सहमतिको झनै ठूलो खाँचो रहेको बताए ।

‘हामी एक भयौ भने मात्र निजी क्षेत्र बलियो हुन्छ । हाम्रो महत्व बढ्छ । हाम्रा माग सम्बोधन गराउन सकिन्छ । अहिलेको अवस्थामा झन हामी एक हुनुको विकल्प छैन,’ उनले भने, ‘निजी क्षेत्रलाई चौतर्फी संकटले घेरिरहेको अवस्थामा हामी विभाजन नहौऔँ । एकता र सहकार्यबाट समाधान खोजौँ । मैले त अहिलेको विधानमा रहेको ३ वर्षे कार्यकालको व्यवस्थालाई २ वर्षमा झारेर अहिलेको दुई कार्यकालमै तीनै जना आकांक्षीहरूलाई मिलाउन सकिन्छ भनिरहेको छु । यसमा तपाईहरूको साथ र सहयोग अपेक्षा गरेको छु ।’

महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जना आकांक्षीहरू मैदानमा उत्रिएपछि उनले सर्वसम्मतको पहल सुरु गरेका हुन् । हुन त यस अघि पनि उनले सर्वसम्मतबाट चुनावी प्रक्रियामा जाने पहल गरेका थिए । उनको पहलकैबीच चुनावी महोल तात्दै गएको हो । के गर्लान छ आकांक्षीहरूले त्यो भने हेर्न वाँकी नै छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स