काठमाडौं । वैशाखदेखि बैंकहरूले १२ प्रतिशतमै कर्जा दिन सक्ने देखिएको छ । अहिले बैंकहरूसँग करिब सवा २ खर्बभन्दा बढी लगानी योग्य पुँजी भएको र बैंकहरूको आधार दर समेत घट्ने देखिएको बकर्जाको ब्याजदर १२ प्रतिशतसम्म कायम गर्न सकिने नेपाल बैकर्स एसोसिएसनका पूर्व अध्यक्ष भुवन दाहालले जानकारी दिए ।
‘मुद्दति निक्षेप खाताको ब्याजदर राष्ट्र बैंकले भने झै १० प्रतिशतमात्रै घटाउँदा पनि १० या ९.९ प्रतिशतको हाराहारीमा ब्याजदर कायम हुन्छ अर्थात १० प्रतिशतमै डिपोजिट लिएमा पनि १२ प्रतिशतसम्म कर्जा दिन सकिन्छ,’ उनले भने ‘त्यसमा २ देखि ३ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरूले सहजै लगानी गर्न सक्छन् ।’ बैंकहरू आधार दर पनि विस्तारै घट्दै गएको छ ।’
गत आवदेखि अहिलेको पुससम्म हेर्ने हो भने कर्जा प्रवाहमा खासै वृद्धि हुन सकेको छैन । बैंकहरूको कर्जा प्रवाहमा संकुचन आउँदा त्यसको धक्का कुल गार्हस्थ्य उत्पादनमा पर्ने देखिएको छ । सरकारले चालु आवमा ७ प्रतिशतको आर्थिक वृद्धिदर पुर्याउने प्रक्षेपण गरेको छ । आन्तरिक उत्पादन बढाउने तथा पुँजी निर्माण गर्ने निजी क्षेत्रतर्फको कर्जा घट्दा यसको प्रत्यक्ष असर बजारमा देखिएको नै छ ।
‘औसतमा १२ प्रतिशत कर्जाको ब्याजदर भनेको बढी होइन ।’ कोभिड अगाडि पनि कर्जाको ब्याजदर औसतमा यस्तै थियो । अहिले पनि उस्तै छ । ‘कोभिडका बेला बैंकको ब्याजदर घटेका कारणले अहिले ब्याजदर महँगो भएको भनिएको हो, इतिहासदेखिलाई हेर्ने हो भने कर्जाको ब्याजदर औसतमा ११/१२ प्रतिशतकै हाराहारीमा छ ।’
देशको अर्थतन्त्र निर्माणमा ७० प्रतिशत हिस्सा बोकेको निजी क्षेत्रतर्फको कर्जा प्रवाहमा आएको कमीका कारण अर्थतन्त्रमा थप असर पर्ने अनुमान गर्न सहजै सकिन्छ । चालु आर्थिक वर्षको सुरुदेखि नै बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पुँजी कम नहुँदा कर्जा प्रवाह हुन त्यति सकेन ।
डिमाण्ड अनुसार सप्लाइ हुन नसकेपछि कर्जाको रेट बढ्यो र कर्जाको रेट बढेपछि केहि समय त ऋण प्रवाह भएपनि पछिल्लो केहि महिना यता कर्जा लिनेहरू विस्तारै घट्दै गए । बैंकहरूले मुद्दति निक्षेपमा समेत माथिल्लो अंकमा ब्याजदर दिएर निक्षेप संकलन गरे पनि चर्को ब्याजका कारण कर्जा प्रवाह हुन सकेन अर्थात महँगो कर्जा उद्यमी व्यवसायीहरूले लिएनन् । सो कारण अहिले बैंकहरूमा २ सय २५/३० अर्ब लगानी योग्य पुँजी थुप्रिएको छ ।
ब्याजदर चर्को हुनुको मुख्य कारण भनेको पैसा नहुनु हो । यो पहिलो समस्या थियो भने फिक्स रेटमा कर्जा प्रवाह गर्ने अभ्यास नबढ्दा पनि यो समस्या आएको हो ।’ केहि बैंकले केहि वर्षअघि देखिन फिक्स रेटमा कर्जा दिन सुरु गरेपनि सबैले गरेका छैनन् । फिक्स दरमा कर्जा दिने अभ्यास बसाल्न सकियो भने ब्याजदर बढ्छ भनेर आत्तिनु पर्ने हुँदैन । बजार एक हिसावले आफ्नै गतिमा चलिरहन्छ ।
ब्याजदर तलमाथि हुँदा अलिकति ब्याजदर बढ्यो भने आम ग्राहक आत्ति हाल्छन् । सन्तुलित हिसावले बजारलाई बजारको नेचर अनुसार ब्याजदर कायम हुँदा आएको यो समस्या निवारण गर्न अर्थात आम ग्राहकले ढुक्कतका साथ कर्जा लिन फोल्टिङ रेटमा कर्जा नलिइ फिक्स रेटमा लिने अभ्यास गर्नुपर्ने उनले बताए ।
पछिल्लो समय अर्थतन्त्रमा पनि केहि सुधार देखिएको र बैंकहरूमा लागनी योग्य पुँजी भएकाले बजार चलायमान हुने क्षेत्रमा लगानी गर्नुपर्ने सानिमा बैंकका पूर्व सीईओ समेत रहेका दाहालले बताए ।
अहिले बैंकहरूको सीडी रेसियो ८५.४३ प्रतिशत रहेको छ । पुस मसान्तसम्म ९० प्रतिशतभन्दा केहि तल बैंकहरूको सीडी रेसियो कायम थियो । गत आवको पुस मसान्तमा अधिकांश बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि थियो । यसको अर्थ गत आवको तुलनामा यस आवमा अर्थतन्त्रमा सुधार भएको छ भन्ने हो । केहि बैंकहरू स्प्रेड दरको कारणले पनि वैशाखदेखि ब्याजदर घटाउँनै पर्ने अवस्थामा देखिएका छन् ।
गत वर्षको भन्दा यस वर्ष बैंकमा विदेशी मुद्रा सञ्चिति बढेको छ, व्यापार घाटा घट्दै गएको छ, बैंकसँग भएको लगानी योग्य पुँजी बजारलाई चलायमान गराउने घर कर्जामा बैंकहरू केन्द्रीत हुने सके यसले अर्थतन्त्र निर्माण गर्न सहयोग मिल्ने उनको भनाइ छ ।
घर कर्जा भनेको त्यस्तो कर्जा हो जसमा भएको प्राय सबै खर्च देशभित्र नै रहन्छ । अर्थात घर बनाउनका लागि आवश्यक पर्ने सबै सामग्री नेपालमै पाइने र केहि मात्रै आयातीत सामान प्रयोग हुने गर्छ ।
अहिलेको अवस्था घर कर्जा जति राम्रो र बजारमा छिटो प्रभाव देखिने अन्य कर्जा हुँदैन, १ करोड रुपैयाँमा घर निर्माण हुँदैछ भने बैंकले ७० प्रतिशत लगानी गर्छ भने बाँकी ३० प्रतिशत घरधनीले लगानी गर्ने हुनाले बैंकले ७० लाख लगानी गर्दा बजारमा १ करोड रुपैयाँ आउँछ । ‘सो कारणले पनि अहिले बैंकहरूले बढि फोकस गर्नुपर्ने कर्जा भनेको घर कर्जा हो,’ उनले भने ।