सेयर बजारमा अवैध कारोबार गर्ने ज्ञानेन्द्रलाल प्रधानलाई ७५ हजार जरिवानासहित १० वर्षसम्म सूचीकृत संस्थाको सञ्चालक तथा महाप्रबन्धक बन्न नपाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ज्ञानेन्द्रलाल प्रधानलाई ७५ हजार रुपैयाँ जरिवानासहित १० वर्षसम्म कुनै पनि सूचीकृत संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन नपाउने गरी कारवाही गरेको छ ।

नेपाल हाइड्रो डेभलोपर लिमिटेडका तत्कालीन अध्यक्ष प्रधानले कानुन विपरित सेयर बिक्री गरेको पुष्टि भएपछि धितोपत्र बोर्डले कारबाही गरेको हो । आइतबार बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले प्रधानलाई कारवाही गर्ने निर्णय गरेको हो ।

बोर्डले प्रधानलाई सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरित धितोपत्र कारोबार गरेको भन्दै धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ (७) अनुसार ७५ हजार रुपैयाँ नगद जरिवाना गरेको छ ।

कानुन विपरीत सेयर कारोबार गरेकोबारे प्रधानले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि कानुन अनुसार कारबाही गरिएको बोर्ड स्रोतले बतायो । ‘बजारमा मनलाग्दी गर्नेमाथि पनि बोर्डले कारबाही गर्दैन भन्ने अवस्था अब नरहने हो,’ बोर्डका एक अधिकारीले भने ।

धितोपत्र सम्बन्धी ऐन २०६३ दफा १०८ अनुसार कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको कुनै पद धारणा गरेको व्यक्तिले दफा १०१ बमोजिम कुनै पद धारणा गरेको व्यक्तिले दफा १०१ बमोजिम कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको १० वर्ष अवधि पूरा नभएसम्म कुनै पनि सूचिकृत कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य नहुने उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स