डिजेल र मट्टीतेलको मूल्य १०/१० रुपैयाँले घट्दा पेट्रोलको ३ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०\१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाएको छ ।

सोमबार बसेको बोर्ड बैठकले डिजेल, मट्टीतेल र दुबै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको जानकारी दिएको छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको निगमले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

निगम सञ्चालक समितिको सो निर्णयसँगै अब डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ लिटर थियो । यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ ।

इन्धनको मूल्य घटेपछिको नयाँ मूल्य अनुसार हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १.३५० प्रतिकिलोलिटर कायम भएको छ ।

पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाएर १७५ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १८ सय रुपैयाँमै यथावत् राखिएको छ । पछिल्लो समय भारतबाट मूल्य घटेर आएको र इन्धनको उच्च मूल्यका कारण अर्थतन्त्र नै शिथिल बन्न थालेपछि आर्थिक चापका बाबजुद निगम मूल्य कटौती गर्ने अवस्थामा निगम पुगेको हो ।

शनिबार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर इन्धनको नयाँ मूल्य प्राप्त भएको थियो । सो मूल्यअनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डरमा ३० रुपैयाँ, पेट्रोल लिटरमा १ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको थियो ।

घटेको नयाँ मूल्यपछि निगमलाई १५ दिनमा एक अर्ब ५० करोड रुपैयाँ बढी नाफा हुने प्रक्षेपण गरेको थियो । अघिल्लो पटक पनि घटेर नयाँ मूल्य आउँदा पनि मूल्य समायोजन नगरेको निगमले यस पटक भने घटेर प्राप्त भएको नयाँ मूल्यभन्दा पनि बढीले उपभोक्ता मूल्य समायोजन गरेको हो ।

बितेको १५ दिनमा निगमलाई ५८ करोड रुपैयाँ बढी नाफा थियो । सरकारको ६ अर्ब ५० करोड ऋण र आईओसीको ८ अर्ब रुपैयाँ बक्यौता बाँकी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स