काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।
लामिछानेले सोमबार चितवन–२ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि मंसिर ४ गते भएको निर्वाचनमा पनि लामिछाने सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
चितवन–२ बाट उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले जनता भन्दा बाहेकको शक्ति आफूसँग नभएको दाबी गरे।
चितवन–२ मा प्रधानमन्त्रीको भित्रि समर्थन छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले त्यस्तो केही नभएको बताए। ‘‘मलाई कसैको समर्थन छैन । कसैसँग गठबन्धन नगरी चुनाव आफ्नो बलमा जित्नुपर्छ भनेर लागेका छौं । कसैले समर्थन गर्छ भने हामी धन्यवाद भन्छौं ।’ लामिछानेले भने।
यस क्षेत्रको उपनिर्वाचनमा कांग्रेसबाट चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले उम्मेदवारी दर्ता गर्दै छन् ।
उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरूले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।