अर्थतन्त्रमा सुधार ल्याउन परिसंघको १० बुँदे सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतलाई अर्थतन्त्र सुधार ल्याउन आग्रह गरेको छ । परिसंघको टोलीले आज अर्थमन्त्री डा महतलाई भेटेर मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको हो ।

परिसंघले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव अर्थमन्त्रीलाई दिएको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले हालको चुनौतीपूर्ण अर्थतन्त्रमा तत्काल सुधार ल्याउन ब्याजदर घटाइनुपर्ने, तरलता सहज गराईनुपर्ने एवं लगानीका लागि प्रोत्साहन गर्नुपर्ने बताए । ‘यी तीन विषयलाई केन्द्रमा राखेर उच्च मनोबलका साथ काम भए अर्थतन्त्रमा छिटो सुधार आउँछ,’ उनले भने ।

परिसंघले ब्याजदर घटाउन एवं तरलताको स्थिती सहज बनाउन क्यास रिजर्भ रेसियो (सीआरआर) तीन प्रतिशतमा झारिनुपर्ने, बैंक दर घटाइनुपर्ने, बैंक तथा वित्तीय संस्थामा रहेको स्थानीय तहको सञ्चित कोषमा भएको मौज्दात रकमको सत् प्रतिशत निक्षेपको रुपमा गणना गर्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

मुद्दती खाता र बचत खाताको ब्याजदरको अन्तर अधिकतम पाँच प्रतिशत हुने व्यवस्था हटाउनुपर्ने, शेयर बजार तथा घरजग्गामा जाने मार्जिन ल्याण्डिङमा जोखिमभार १०० प्रतिशतमा झारिनुपर्ने सुझाव पनि परिसंघले दिएको छ । निर्माण क्षेत्रमा दिनुपर्ने भुक्तानी छिटो निकासा गराउन पनि परिसंघले सुझाव दिएको छ । यसले बजारमा तरलता बढाउन सहयोग पुग्नेछ ।

सो भेटमा अर्थमन्त्री डा. महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनले सकारात्मक वातावरण सिर्जना गर्न लागिपर्ने बताए । ‘अर्थतन्त्र सुधारका लागि सकारात्मक वातावरण निर्माण गर्न पूर्णरूपमा लाग्नेछौँ, जहाँबाट समस्या आएको छ, त्यहीबाट सुधार गर्न तयार छौँ, त्यसमा तपाईँको पनि सहयोग आवश्यक पर्छ,’ उनले भने ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स