अर्थमन्त्री डा.प्रकाशशरण महतको अर्थतन्त्र सुधार्ने ७ प्रतिवद्धता, सेयर बजारदेखि करसम्मका क्षेत्र

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लागि ७ वटा प्रतिवद्धता गरेका छन् । उनले आफू अर्थमन्त्रीमा नियुक्त भएपछि संकटको डिलमा रहेको अर्थतन्त्र उकास्न अर्थात यसबाट सहि अवतरण गर्न यस्तो प्रतिवद्धता गरेका हुन् ।

डा.महतले आर्थिक सुशासन कायम गर्दै चालु र फजुल खर्च घटाएर खर्च मितव्ययिता गर्ने पहिलो प्रतिवद्धता गरेका छन् । चालु खर्चमा कम गरेर पुँजी निर्माण हुने पुँजीगत खर्च बढाउन जोड दिने उनको भनाइ छ । पुँजीगत खर्च बढाउन आफूले मन्त्रालय तथा परियोजना प्रमुखसँग बसेर समेत छलफल गर्ने उनको भनाइ छ ।

अर्थमन्त्रीको दोस्रो प्रतिवद्धता अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रसँगसँगै सहकार्य गर्दै अर्थतन्त्रलाई बलियो बनाउने हो । संकटको डिलमा रहेको अर्थतन्त्रलाई दिगो रुपमा विकास गर्न राष्ट्र बैंक र निजी क्षेत्रको अहम भुमिका हुने भन्दै उनले यस्तो समन्वय र सहकार्य गरेर अघि बढ्ने बताएका हुन् ।

१. खर्चमा मितव्ययित (चालु खर्च घटाउने पुँजीगत खर्च बढाउने)
२.अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रसँग मिलेर अर्थतन्त्र उकास्न महत्वपूर्ण भूमिका खेल्ने
३.करका दरलाई भन्दा दायरा बढाउनलाई जोड दिने
४. ब्याजदर घटाउन पहल गर्ने
५.सेयर बजार र घरजग्गामा लगानी गर्ने लगानीकर्तासँग सहकार्य गर्ने
६. वाह्य क्षेत्रको लगानी बढाउन पहल गर्ने
७. संकट बेला अर्थतन्त्र जोगाउन जस्तो सुकै निर्णय पनि लिन सक्ने

अहिले अर्थमन्त्रीका रुपमा महत आएपछि उनले सुरुमै गभर्नर अधिकारीको सहयोग मागेका छन् । उनले अधिकारीसँग मिलेर अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । अर्थमन्त्री महतले वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि राष्ट्र बैंकसहित सबै निकायले एक आपसमा समन्वय गरेर काम गर्नु पर्ने बताए । ‘फिजिकल पोलिसी र मनिटरी पोलिसी एउटै लयमा मिलाएर लैजानु पर्छ ।’ अहिलेको आर्थिक निरासालाई आशामा बदल्न राष्ट्र बैंक र निजी क्षेत्रसँग समन्वय आवश्यक छ, राष्ट्र बैंक र मन्त्रालय मिलेर अगाडि बढ्नुपर्छ, उनले भने ।

करका दरलाई भन्दा दायरालाई बढाउनेमा अर्थ मन्त्रालयले जोड दिने बताए । आफू अर्थमन्त्रीमा नियुक्त भएपछि बजेट नआउने समयसम्म बजेट निर्माणमा लाग्ने र वैज्ञानिक बजेट बनाएर खर्च कटौतीदेखि पुँजी निर्माण गरी राष्ट्रलाई समृद्ध बनाउन लाग्ने उनको अठोट छ । गरिबी निवारण, रोजगारी सिर्जना तथा दिगो विकासमा आफू बढी केन्द्रित हुने उनले बताएका छन् ।

करका नयाँ नयाँ क्षेत्रको पहिचान गर्ने र अहिले भइरहेका करका क्षेत्रमा पनि प्रभावकारी कार्यान्वयन गर्नेमा उनले जोड दिएका छन् । दरलाई भन्दा दायरा बढाउने उद्देश्यका साथ अघि अर्थमन्त्री डा.पौडेल अघि बढेका छन् । सुरुमै उद्योगी व्यवसायप्रिति ‘पोजिटिभ्स भाइव्स’ देखाएका अर्थमन्त्री डा. महतले कर नबढाउने पक्षमा रहेको संकेत गरेका छन् । यसको अर्थ आगामी आर्थिक वर्षको बजेटमा चालु आवकै करका दरले निरन्तरता पाउँछ भन्ने हो ।

‘संकटमा रहेको अर्थतन्त्र बचाउन जस्तोसुकै निर्णय पनि लिन सक्छु, अहिले ब्याजदरको विषयमा व्यापक चर्चा भएकोले ब्याजदर घटाउन पहल गर्नेछु,’ उनले भने ।

अर्थमन्त्री महतले भने यी दुई क्षेत्रप्रति ‘ग्रिन सिग्नल’ देखाएका छन् । अर्थमन्त्री डा. महतले घट्दै गएको सेयर बजारर र घरजग्गा व्यवसायमा आएको मन्दीले लगानीकर्तालाई निराश बनाउँदै गएको र अब विभिन्न निकायको सहकार्य र समन्वयमा यी क्षेत्रको सुधारको लागि पनि काम गर्ने बताएका छन् । यी दुवै क्षेत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले चिन्ता व्यक्त गरेका छन् ।

अहिले धेरैको ध्यान सेयर बजार र घरजग्गा व्यवसायमा पनि देखिएको छ । लगानीकर्ताहरुले सेयर बजारमा १६ खर्ब बढी गुमाएको बताइरहेका छन् । घरजग्गा व्यवसायमा पनि मन्दी आउँदा यसको असर सबै क्षेत्रमा परेको छ । यी दुई क्षेत्रमा लगानी गर्ने लगानीकर्ताका पीडा र दुःखहरू सुनिनसक्नु छ । यसको अर्थ सेयर बजार बढाउन पनि उनले उचित पहल गर्ने बुझिएको छ । भने घरजग्गाको कारोबारमा पनि अहिलेको शिथिलताबाट बाहिर निक्लेर अघि बढ्नु पर्ने उनको भनाइ छ ।

अहिले अर्थतन्त्रका देखिएको निराशालाई आशामा बदल्न सबैले सहकार्य गर्नु पर्ने उनको धारणा छ । अर्थतन्त्र सुधारको लागि जस्तो सुकै कठोर निर्णय लिनु परेपनि निर्णय गर्न पछि नहट्ने उनको भनाइ छ ।

‘एक्लैले केही गर्न सकिँदैन, सबैसँग सहकार्य गरेर अगाडि बढ्छु, वर्तमान समस्या समाधानका लागि मलाई सबैको सहयोग आवश्यक छ, ‘लगानीको वातावरण सुधार गर्न राष्ट्र बैंकको मूख्य भुमिका छ, राष्ट्र बैंकको पनि मलाई सहयोग चाहिन्छ, हामीले मिलेर काम गर्नु पर्छ,’ अर्थमन्त्री महतले भनेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स