नियम मिचेर तह फड्केका प्रदिप अधिकारीको नागरिक उड्डयन प्राधिकरणमा ताण्डव

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको कर्मचारीहरुका सेवाका शर्त तथा सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ३.२ लाई मिचेर मिश्रित सेवा समूह भएको एरोड्रोम सेफ्टी एण्ड स्ट्याण्डर्ड विभागको ११ औं तहको पदलाई खुला प्रतियोगिता मार्फत पद पूर्तिगरी प्रदिप अधिकारीलाई ४ वर्ष अगाडी एकै चोटी ८ तहबाट प्राधिकरणको एरोड्रोम सेफ्टी एण्ड स्ट्याण्डर्ड विभागको निर्देशकमा नियुक्त गरिएको थियो ।

सो नियम अनुसार सेवा/समूहिकृत नहुने वा मिश्रित सेवा समूह भएका सबै तहका पदहरु १०० प्रतिशत कार्य क्षमताको मूल्यांकनको आधारमा पदपूर्ति गरिने उल्लेख छ । यसरी धादलीमार्फत् कनिष्ठ अधिकारीलाई सबैभन्दा सिनियर बनाईएको थियो । उनी निर्देशकमा नियुक्त भएपश्चात निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका तीन वटै आयोजनाहरूलाई राष्ट्रिय गौरवको आयोजनामा एकीकृतगरी आयोजना प्रमुखको जिम्मेवारी दिइएको थियो ।

तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परी एरोड्रम ईञ्जिनियरिङ विभागको निर्देशकको निधन भए पश्चात ७ दिन नबित्दै सो विभागको जिम्मेवारी समेत निज अधिकारीले लिएका थिए । हालसम्म उनी राष्ट्रिय गौरवका आयोजना तथा एरोड्रम ईञ्जिनियरिङ विभागको प्रमुखको रुपमा दोहोरो जिम्मेवारी छन् । राजनैतिक पहुँचको आधारमा प्राधिकरणमा कब्जा जमाएका अधिकारीले ती आयोजना र विभागहरुको निर्माण, परामर्श तथा जग्गा अधिग्रहणमा अनियमितता गरी अकुत सम्पति आर्जन गरेका छन् ।

कतिपय परामर्शदाता कम्पनी र निर्माण कम्पनीमा समेत उनको साझेदारी रहेको छ । यसरी आर्जन गरेको अकुत सम्पत्ति उनले जग्गामा लगाएका बुझिएको छ । सेवामा प्रवेश गरेको छोटो अवधिमै ललितपुरमा २ ओटा घर र प्रशस्त जग्गा जमिन जोडेका छन् । यिनै विषयमा निज विरुद्ध अख्तियारमा परेको कैयौं उजुरीहरू समेत राजनैतिक पहुँचको आधारमा तामेलीमा पर्दै आएको छ ।

प्राधिकरणमा आफू सबैभन्दा चलाख, शक्तिशाली र धनवान रहेको उनको बुझाइ छ । प्राधिकरणको दैनिक कामकाज भन्दा उनको समय सेटिङ र चाकडी मै बित्ने गरेको छ । उनको कर्तुत विरुद्ध आवाज उठाउने हिम्मत प्राधिकरणमा कसैको छैन । करिब १ महिना अघि प्राधिकरणमा भएको कर्मचारी आन्दोलनमा उपनिर्देशक श्यामकिशोर शाहले उनको कर्तुत खोलि दिँंदा पोखरा, भैरहवादेखिको आयोजनाबाट आफू निकटका कर्मचारीहरुलाई रातारात काजमा काठमाडौं झिकाएर शाह विरुद्ध शक्ति प्रदर्शन गरेका थिए ।

शाहले बिना गल्ति पनि माफी माग्दा समेत निजले आन्दोलनरत कर्मचारीहरुको सामुन्ने शाहलाई तथानाम फोहोरी शब्दहरु बोल्दै सक्काइदिने धम्की तथा मानसिक तनाब दिएका थिए । प्राधिकरणमा उनी निकै बदनाम र उदण्ड पात्र हुन् । प्राधिकरणलाई निज अधिकारीले आफ्नो पैतृक सम्झिन्छन् ।

सरुवा बढुवामा समेत निज अधिकारीले धेरै कर्मचारीलाई दुःख दिँदै आएका छन् । आफूसँग सम्बन्धित कार्यक्षेत्र भन्दा अरु निर्देशनालय र विभागमा समेत निजले आधिपत्य जमाएकाले सम्पूर्ण कर्मचारीहरु चिन्तित तथा आतंकित छन् । प्राधिकरणका समस्त कर्मचारीहरुले यिनको व्यवहारबाट यथाशीघ्र मुक्ति चाहेका छन् ।

हाल अधिकारी आफू भन्दा माथिका ३ जना १२ तहका अधिकृत तथा आफूभन्दा सिनियर ११ तहका ७ जना निर्देशकहरुलाई पछि पर्दै पैसाको आडमा प्राधिकरणको महानिर्देशक बन्ने दौडधुपमा छन् ।

अधिकारीले हाल प्राधिकरणमा मुरारी भण्डारीलाई संरक्षण गर्दै आएका छन् । अधिकारीद्वारा परिचालित भण्डारी विगतमा विभिन्न योजनाको प्रमुख हुँदा सफल नेतृत्व दिन नसकी आयोजनाको प्रमुखबाट बारम्बार हटाइएका पात्र हुन् ।

हाल निज भण्डारीको आफ्नै पुरानो दरबन्दीमा काज फिर्ता भएपछि एरोड्रम ईञ्जिनियरिङ विभाग छोड्न पर्ने भएकोले यसमा अधिकारी असन्टुष्टी देखिन्छन् । भण्डारीको काज फिर्ता थमौती गर्नको लागि निमित्त महानिर्देशक राजकुमार क्षेत्रीलाई निज अधिकारले प्रलोभन तथा दबाब दिइरहेका छन् ।

जताततै बेथिती

अधिकांश निर्देशकहरु आफ्नो दरबन्दीमा रहेका छैनन् । मानव संशाधन विभागको निर्देशकमा ४ वर्ष पहिला बढुवा भएका बाबुराम पौडेल एरोड्रम सेफ्टी एण्ड स्ट्याण्डर्ड विभागमा काजमा छन् । मानव संशाधन विभागको जिम्मेवारी अर्कै व्यक्तिलाई दिएको छ । अर्काको जिम्मेवारीमा फेरि अर्को छन् ।

यसरी अकुत सम्पत्तिको प्रलोभन देखाएर तथा राजनैतिक शक्तिको दूरुपयोग गरेर यी तीन जना निर्देशकहरु आफ्नो पदमा नबसिदिनाले सबै विभागमा चेन इफेक्ट परेको छ । यो प्रवृत्तिले प्राधिकरणको नियम कानुनको धज्जी उडाएको छ । विभागको उच्च पदस्थ कर्मचारीहरु भएर पनि उनीहरु हालसम्म आफ्नो दरबन्दीमा एकदिन पनि हाजिर भएका छैनन् । विभागमा भन्दा तल्लो तहको कार्यालय भए पनि उनीहरु आयोजनाहरुमा रमाउने गरेका छन् ।

बाबुराम र मुरारी भन्दा २० वर्ष पछि प्राधिकरणमा सेवा प्रवेश गरेका प्रदिप अधिकारी नियम मिचेर उनीहरु भन्दा पहिला ११ औं तह पुगेपछि दुवैजना यसलाई स्वीकार गर्न बाध्य छन् । यस्तो अभ्यासबाट उनीहरु मातहतका कर्मचारीहरुले के शिक्षा लेलान भन्ने गम्भिर प्रश्न खडा भएको छ । प्राधिकरणमा उपल्लो तह ओगटेर आफ्नो दरबन्दीमा जान नरुचाउने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी देखिन्छ ।

यस्तो प्रवृत्तिले सक्षम तथा इमान्दार कर्मचारीहरुको वृत्ति विकास प्रभावित बनेको छ । उनीहरु ओझेलमा परेका छन् । अन्यायमा परेका छन् । ३० औं वर्षदेखि कार्यरत कर्मचारीहरु यस्तो अराजकता र बेथिति कहिल्य नदेखेको भन्दै एकापसमा साउती गर्छन् ।

नयाँ महानिर्देशकलाई चुनौती

यस्तै, बेथितिको बीच प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएपश्चात प्राधिकरण नयाँ नेतृत्वको प्रतिक्षामा छ । पोखरेलले सुधारका धेरै प्रयासहरु गरेका थिए तर समयावधि कम भएकोले सबै काम गर्न भ्याएनन् । नयाँ नेतृत्व आए पश्चात यस्तो भद्रगोल स्थितिलाई निर्मुलपारी प्राधिकरण नयाँ ढंगबाट अघि बढ्ने पखाइमा आम कर्मचारीहरु रहेका छन् ।

निज प्रदिप अधिकारीको चंगुलमा फस्न पुगेमा नयाँ आउने महानिर्देशक बदनाम भै निजको कार्यकाल अगावै बैहिर्गमन हुनसक्ने चुनौती छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स