बेसरेटको ६० प्रतिशतसम्म प्रिमियम लिन छुट दिनु कहाँको न्याय होः अन्जन श्रेष्ठ (अन्तरवार्ता)

५८ वर्षे इतिहास बोकेको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उम्मेदवारको उम्मेद्वारी दिएका अन्जन श्रेष्ठ हाल महासंघका वस्तुगततर्फका उपाध्यक्ष हुन् । महासंघ निर्वाचनका लागि तिखारिएको स्मार्ट टिम बनाएर अघि बढेका उपाध्यक्ष श्रेष्ठले महासंघको विभिन्न समितिमा बसेर २० वर्ष काम गरिसकेका छन् । नेपालको इतिहासमा छुट्टै पहिचान बोकेको लक्ष्मी ग्रूप व्यवसायीक घरानामा हुर्के बढेका श्रेष्ठले युवा अवस्थामा प्रवेश गर्दा नै व्यवसायीक अभ्यास सिकेका थिए, बुबा आमालाई सघाउने क्रममा ।

पोखराबाट सानो व्यवसायबाट व्यवसायीक यात्रा शुरु गरेको लक्ष्मी ग्रूप अहिले नेपालको ठूलो व्यवसायीक घरनाका रुपमा स्थापित भइसकेको छ । कम्फेक्सनरी, डेरी, अटोमोवाईलदेखि स्टिल उद्योगसम्ममा व्यवसाय विस्तार गरी सफलता हात पारेको सो ग्रूपले नेपाल उद्योग वाणिज्य महासंघका पनि आफ्नो प्रतिनिधित्व जमाउँदै आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फको उपाध्यक्ष बन्दै गर्दा सबैको मन जित्न सफल भएका लक्ष्मी ग्रूपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठसँग चुनावी एजेण्डा र अर्थतन्त्रका विषयलाई लिएर हाम्रोअर्थले गरेको कुराकानीको सार:

विश्वको अर्थतन्त्र नै हरेक ७/८ वर्षमा रिफर्म गर्नुपर्ने देखियो । पछिल्लो ट्रेण्डले त्यहि देखाउँछ । सन् २००८ को आर्थिक मन्दीबाट अर्थतन्त्र उकासिएको केहि समयमा नै फेरि समस्या आयोे । यसबाट नेपाललाई जोगाउन के गर्ने वा हामीले के पाठ सिक्ने ?

हो, विश्व अर्थतन्त्रमा अहिले ठूलो समस्या देखिएको छ । सन् २००८ को आर्थिक मन्दी पछि फेरि यो मन्दी देखिएको हो । पहिलाको कारण अन्य भएपनि अहिलेको प्रमुख कारण भनेको कोभिड हो । यसले विश्वभरको अर्थतन्त्रलाई थिलोथिलो पारिदियो । धेरैका उद्योग व्यवसाय बन्द भए, रोजगारी गुम्यो, अर्थतन्त्र नै ठप्प जस्तो आईसोलेटेड भयो । डेढ दुई वर्षसम्म अर्थतन्त्र त्यो अवस्थामा बस्दा अहिलेको समस्या निम्तिएको हो ।

हामीले अर्थतन्त्रलाई समय सापेक्ष रिभाइभ गर्नु पर्दो रहेछ भनेर सिकाएको छ । बजार कहिले पनि एकहोरो चल्दैन । यसलाई बुझेर बजारको डिमाण्ड अनुसारको आपूर्ति दिन सक्यो भने अर्थतन्त्रलाई सधै चलायमान बनाइ राख्न सकिदो रहेछ भन्ने हो ।

अर्थतन्त्रलाई चलायमान बनाइ राख्न तथा समस्या आउन नदिन समय सापेक्ष ऐन, कानुन पनि परिवर्तन गर्न सक्नु पर्ने हुन्छ । यदि ऐन कानुन समय सापेक्ष भएन भने त्यो नै अर्थतन्त्र निर्माणमा तगारो बन्छ । हामीले यदि समय सापेक्ष रिफर्म गर्न सक्यौ भने साना तिना समस्याले अप्ठ्यारो पार्दैन भन्ने हो । विश्व अर्थतन्त्रमा आएको मन्दीबाट हामीले पनि सिक्ने कुरा भनेको त्यहि नै हो । अर्थतन्त्रलाई चलाएमान बनाउन उद्योगधन्दा मैत्री कानुन, लगानी सहजता, उत्पादित सामानको बजारको सुनिश्चिता हुनुपर्छ भन्ने हो ।

महासंघले बनाएको भिजन डकुमेन्टमा व्यावसायिक लागत घटाउन भनिएको छ । जसका लागि हामीले पूर्वाधारको विकासलाई विशेष प्राथमिकता दिनुपर्छ । सरकारको लगानी बढाउने, सरकारले खर्च बढाएर मनी सर्कुलेसन बढाउन सके नेपालमा व्यवसाय बढ्दै जान्छ ।

यस्तै व्यवसाय चलायमान बनाउन सरकारले खपत बढाइ दिनुपर्याे भन्ने कुरा हामीले प्राथमिकतामा राखेका छौं । यस्तै ब्याजदर पनि एकल अंकको हुनुपर्दछ । ब्याजदर कहिले ह्वात्तै बढ्ने र कहिले घट्ने हुँदा व्यवसायीक लागत बढेको छ । यसरी बैंक ब्याजदर एकल अंकसहित स्थिर बनाउँदा व्यवसायीक लागत घट्छ । यस्तै सेवाशुल्कमा पनि कटौति गरिनुपर्छ भन्ने हाम्रो माग छ ।

साथै कच्चा पदार्थको उपलब्धतालाई जोड दिन कृषि क्षेत्रलाई विशेष जोड दिनुपर्दछ । जसका लागि कृषि कार्यक्रमका लागि चक्लाबन्दीको निकै महत्व छ । कृषि क्षेत्रलाई विशेष ध्यान दिईएको अवस्थामा कच्चा पदार्थको उपलब्धता स्वदेशमै हुनेछ । । हामीले प्राथमिकताान राखेको रोजगारी पनि हो । रोजगारी उपलब्धताका लागि निजी क्षेत्रमात्रै भएर हुँदैन सरकारले पनि उत्तिकै मात्रामा ध्यान पुर्याउनु आवश्यक छ । सरकारले आवश्यक सिप, तालिम, शिक्षालगायतको भरपुर ग्यारेन्टी गरिदिनुपर्छ ।

महासंघले बनाएको भिजन पेपर र रिफर्म विषयलाई लिएर हामी सरकारसँग डाइलग गर्छौ । दिलेन्द्र प्रसाद बडु मन्त्री भएका बेला महासंघले भिजन डकुमेन्ट बुझाएको हो । हाम्रो भिजन डकुमेन्ट सबै राजनीतिक दलसँग छ । सचिवज्यूहरूले यसमा हेरिपनि रहनु भएको होला ।

अहिलेको हट ईस्यू भनेको चर्को ब्याजदर हो ? तपाईहरूले प्रधानमन्त्रीलाई पनि भेट्नु भयो, तपाईहरूसँगको भेटमा उहाँले दिनुभएको आश्वसन चाहिँ ठ्याक्कै के हो ?

उहाँसँगको भेटमा हाम्रा आन्दोलित व्यवसायीहरूले आफ्नो कुरा सबै राख्नु भयो । ब्याजदरको कुरा, चालु पुँजी मार्गनिर्देशको समस्या, बजारको समस्या माग नभएको सबै कुरा राख्नु भयो । प्रधानमन्त्रीले उद्यमी व्यवसायीको समस्या मैले सबै राम्रोसँग बुझेको छु । यस विषयमा मैले गृहकार्य पनि गरिरहेको छु, केहि दिन समय दिनुस् भन्नु भयो ।

आन्दोलन रोकिदिनुस् भन्नु भयो । केहि दिन समय दिनभने पछि व्यवसायीहरूले समर्थन गर्नु भयो । एउटा प्रशंगमा प्रधानमन्त्रीज्यूले संस्थागत निक्षेपको ब्याजदर घटाएर भएपनि कर्जाको ब्याजदर घटाउन लगाउँछु भन्नु भएको छ ।

बैंकहरूले बेसरेट जति छ त्यो सबै ठिकै छ, लागतअनुसार लिने हो । तर, किन प्रिमियम ६/६ प्रतिशत लिनु पर्यो भन्ने हो । हिजो शून्य दरमा पनि हामी उद्यमीले पैसा पाउने गरेका थियौं । आज ३/४ प्रतिशत किन लिइरहेको छ ? हिजो कसरी प्रिमियमनै नलगाई कर्जा दिन सकिने अवस्था थियो । आज त्यो अवस्था आउँछ कि सक्दैन अर्थात बेसरेटमा शून्य दशमलव ५ प्रतिशतमा कर्जा दिन सक्ने कि नसक्ने ?

यो कुरा महत्वपूर्ण छ । आज बेसरेट १० प्रतिशत छ भने ६ या ५ प्रतिशत प्रिमियम भनेको बेसरेटमा ६० वा ५० प्रतिशत भयो । किन प्रिमियम ६० प्रतिशतसम्म लिन पाउने । व्यवसायीको नाफा भने २० प्रतिशतभन्दा बढी लिन नपाउने भन्ने प्रिमियम चाहिँ ६० प्रतिशतसम्म लिने यो कहाँको न्याय हो । यो नाफा ग्रस हो कि नेट यसमा डिबेट छ । सरकारले विगतदेखि ३.५ प्रतिशत स्प्रेड ल्याउने भनेको हो । अगाडि देखिनै सरकार यो प्रयासमा रहेको थियो यो किन भइरहेको छैन । त्यसैले प्रतिवद्धता अनुसार काम गर्नु पर्यो, सबै जिम्मेवार भएर काम गरिदिनु पर्यो ।

नेपालमा उद्यम व्यवसाय गर्न लगानीमैत्री वातावरण भएन भन्ने गरिन्छ । खासका सरकारले नीति नियममा परिवर्तन गर्नुपर्ने कुराहरू के के हुन् ? के भयो भने नेपालमा सहजै लगानी भित्र्न सक्छ ?

विदेशी लगानीकर्ताले नेपालमा लागनीमैत्री वातावरण छ कि छैन भनेर सोध्छन् अर्थात यस विषयमा हामी उद्यमी व्यवसायीलाई सोध्ने हो । हामीसँग नबुझि कोहि पनि लगानी गर्न आउँदैन । पहिला ठोकिन आउने ठाउँ भनेको निजी क्षेत्र नै हो ।

यहाँ हामी उद्यमी व्यवसायी कति पीडित छौं भन्ने कुरा कसलाई थाहा छ । नीतिगत कुराहरू सधै उठाइरहेका छौं । यहाँ पूर्वाधारको अवस्था कस्तो छ ? निजी क्षेत्रलाई सरकारले हेर्ने लगायतका विषयमा हामीले पनि कुरा उठाइरहेका छौं । जबसम्म सहज ढंगबाट स्वदेशी उद्यमी व्यवसायीले लगानी गर्ने वातावरण बन्दैन तबसम्म सुधार हुँदैन तबसम्म विदेशी लगानी आउनै सक्दैन ।

अर्को महत्वपूर्ण कुरा विदेशी कम्पनीहरूले यहाँ भोगिरहेका विषयहरू डियुटी ड्र ब्याकको कुरा, आफ्नो प्रफिट लानको लागि ३० वटा निकायबाट स्वीकृत लिनुपर्ने झण्झण्टलगायतका कुरा छन् । यी कुरा परिवर्तन नभइकन कसरी विदेशी लगानी आउन सक्छ ।

वैदेशिक लगानी ल्याउनको लागि सरकारको छुट्टै प्रतिवद्धता हुनुपर्छ । अर्को कुरा वैदेशिक लगानी के को लागि भन्ने पनि हो । स्वदेमै सक्षम उद्योग छ भने त्यसलाई नै प्रमोट गर्नुपर्छ । एकदम ठूलो ठूलो पुँजी र प्रविधि चाहिने उद्यम व्यवसायको लागि लगानी आउनु पर्छ । साना साना कामको लागि वैदेशिक लगानी आवश्यक छैन । सरकारले ५ करोडभन्दा कमको वैदेशिक लागनी आउन नपाउने व्यवस्थालार्य संशोधन गरेर अहिले २ करोडमा झारियो ।

राज्यले चाहेको के हो ? स्टार्टअपलाई देखाएर सानो पुँजी ल्याउने सरकारको के स्वार्थ छ थाहा छैन । स्टार्टअपनै गलत छ भन्छु मत । सानो स्वार्थमा काम भइरहेको छन्, मैले त्यो बुझिरहेको छैन । हाम्रो देशमा पूर्वाधारमा लगानी आवश्यकत छ । प्रविधिमा लगानी गर्न पैसा चाहिएको हो । किसानले यहाँ गरिरहेको कामको लागि पैसा चाहिएको होइन ।

महासंघ निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा यहाँले उम्मेदवारी दिँदै हुुनुहुन्छ, तपाईको चुनाव जित्ने एजेण्डा के के छन् ?
सबैभन्दा पहिलो कुरा सामाजिक आर्थिक रुपान्तरण नै हो, हाम्रो मूल उद्देश्य भनेको । व्यवसायीक वातावरण बनाउँदै लागनी सुरक्षा गर्ने कुरा हो । र भविष्यको लागि औद्योगिक वातावरण अझ सुमधुर गर्ने कुराहरू हुन् ।

यसका साथसाथै हामीले अहिले भइरहेको कुराहरूमा रिफर्म ल्याउनु पर्छ । त्यो रिफर्म गर्नको लागि हामीले भिजन डकुमेन्ट बनाएका हौं । यसका लागि काम गर्नुपर्छ । त्यो काम गर्नको लागि मसँग टिम छ । मैले युवा नेतृत्वको टिम बनाएको छु । समावेशी र सशक्त टिम बनाएको छु । मैले यो पनि देखेको छु कि जिल्ला÷नगर तथा वस्तुगत संघहरूमा सबै युवा नेतृत्व आएको छ ।

हुन त देशमै हुईम आएको छ । युवा नेतृत्वको जोश जागरका साथ अघि बढ्न डिजिटलाइजेशन भएरमात्रै पुग्दैन, नेपाललाई स्मार्ट लिडरसिप चाहिएको छ । त्यो सशक्त लिडरसिप म दिन सक्छु भन्ने मेरो विश्वास हो । मलाई वस्तुगत तथा जिल्ला नगरका युवा नेतृत्वले मलाई तपाईले अब नेतृत्व सम्हाल्नु पर्छ भनेको छ, त्यसले मलाई ऊर्जा दिएको छ ।

उत्पे्ररणा गरेकोे छ । आगामी ६ वर्ष तपाईले उद्योग वाणिज्य महासंघलाई दिनुपर्छ भनिरहेको छ । ३ वर्ष वरिष्ठ उपाध्यक्ष र ३ वर्ष अध्यक्ष भएर महासंघलाई सहयोग गर्न आव्हान गरिरहनु भएको छ । मैले त्यो आव्हानलाई मैले आत्मसाथ गरेर म अगाडि बढेको हुँ । १९ दिन पछि महासंघको महाधिवेशनमा मलाई विश्वास गरेर उहाँहरूले वरिष्ठ उपाध्यक्ष बनाउनु हुन्छ भन्नु भएको छ ।

यसो भन्दै गर्दा महासंघमा शुद्धिकरणको आवश्यकता छ भन्न थालिएको छ । के साँच्चै महासंघभित्र शुद्धिकरणको आवश्यता देख्नु भएको छ तपाईले ?

नेपाल उद्योग वाणिज्य महासंघको पहुँच छ । यसको प्रभावकारितलाई बढाउनु पर्ने देखिएको छ । रिजल्ट ओरिन्टेड बनाएर प्रभावकारीता बढाउनु पर्ने व्यवसायीबाट माग आएको पनि छ । सकारात्मक सोचका साथ अघि बढ्नु पर्छ । संरचनागत रुपमा पनि जिल्ला तथा प्रदेशको उद्योग वाणिज्य संघको क्षमता विकास गर्नुपर्ने देखिएको छ । उनीहरूलाई व्यवसायिक स्कूलिङको खाँचो छ । स्रोत व्यवस्थापनदेखि विभिन्न कार्यक्रममार्फत सर्भिस डेलिभरी बढाउनु पर्ने देखिएको छ ।

अर्को कुरा हामीले कविधान संशोधन गरेर समय सापेक्ष अघि बढ्नु पर्ने आवश्यकता छ । विधान संशोधनदेखि अन्य धेरै कुरामा रिफर्म गर्न सकिन्छ , जुन मैले देखेको पनि छु । मैले धेरै उद्योग वाणिज्य संघको कुरा बुझेको छु । त्यसैअनुसारको कार्य गर्न म आफू तयार भएर साथीहरूको टिम बनाएर अघि बढेको हुँ ।

वरिष्ठ उपाध्यक्ष हुँदा पनि अध्यक्षज्यूलाई सघाएर टिममा बसेर केन्द्रदेखि संघसम्म वस्तुगत, जिल्ला÷नगर र एसोसिएटसँग समन्वय गर्दै समस्या समाधानको पाटोमा काम गर्नेछु । संस्था संस्थाको रुपमा जानु पर्छ विधि र विधानमा चल्नुपर्छ । हामी त्यसमा सम्झौता गर्दैनौं ।

पछिल्लो समय महासंघमा चुनान जित्न गुडबन्दी गर्न थालिएको छ । तपाईले पनि प्यानल बनाइसक्नु भएको छ । यस विषयमा के भन्नु हुन्छ ?

मिलेर जानु सबैभन्दा राम्रो हो । संस्था बृहत्तर छ । यो बृहत्तर संस्था निजी क्षेत्रको आशा र भरोसको संस्था हो । सबैको ढुकढुकी हो । यो संस्थाको नेतृत्व लिनलाई क्षमतावान हुनुपर्छ । नेतृत्व लिने मान्छेसँग उद्देश्य हुनुपर्छ, भिजन हुनुपर्छ, र मिसन पनि लिएको हुनुपर्छ । परिवर्तित यो अवस्था वा चुनौतीपूर्ण यो घडीमा अहिलेका समस्यालाई चिरेर लान सक्नु पर्यो ।

महासंघ नेतृत्व गर्ने टिम राज्यसँग समन्वय गर्न सक्ने, जुझारु हुनुपर्यो, सशक्त हुनुपर्यो । स्मार्ट हुनुपर्यो, काम गर्ने टिम हुनुपर्यो, ब्याकअप हुनुपर्यो । यी सबै जोडेर म अघि बढेको हुँ । सर्वसम्मत हुन सके राम्रो हो, हुन सकेन भने यसलाई आत्मसाथ गर्नै पर्छ । यो प्रजातान्त्रिक सुन्दर अभ्यास पनि हो । सबैले नेतृत्व जुझारु, सशक्त र स्मार्ट चहान्छन् । म त्यसको लागि तयार छु । म सबै मतदातालाई मेरो टिमलाई मतदान गर्न आग्रह गर्छु ।

महासंघको चुनावमा अघिल्लो रात भोट किनबेच हुन्छ भन्छन्, महासंघभित्र मौलाएको त्यस्तो विकृतिलाई कसरी निरुत्साहित गर्नुहुन्छ ?

तपाईले जस्तै मैले पनि सुनेको हुँ । अनुभूत गरेको छैन । एकाध केहि भयो होला । त्यसैले त्यस्ता कुरा बाहिर आएका होलान् । मेरो कुरा के हो भने उद्यमी व्यवसायीको हक हितका लागि लड्ने हामीमा त्यस्तो विकृति हुनु हुँदैन । निर्वाचन स्वच्छ हुनुपर्छ भन्ने हो । मतदाताले आफ्नो स्वविवेक प्रयोग गरेर, उसले संस्था हाक्न सक्ने क्षमता हेरेर स्वनिर्णय लिनुपर्छ भन्ने हो ।

नेपालबाट क्यापिटल फाइट भयो भन्छन् नि । यो विषयमा तपाईको बुझाइ के हो ?

अहिले पुँजी हराएको अवस्था छ । कहाँ गयो भनेर राज्यले हेर्ने हो, मनन गर्ने हो । पुँजी पलायनको कुरामा बाहिर पुँजी गयो कि गएन भनेर भन्दै गर्दा यतातिर पनि ध्यान जान आवश्यक छ । अहिले पुँजी क्षय भएको अवसथा छ । व्यापार व्यवसाय सबै घाटामा छन् ।

देशमा पुँजी हरायो भन्दै गर्दा त्यो क्षय भएको पुँजी कति हो त्यसको हिसाव पहिला निकाल्नु पर्छ । अहिले थोरै सेक्टरमात्रै लसमा छैन होला । व्यवसाय घाटमा हुनु भनेको पुँजी क्षय हुनु हो नि । हामी पुँजी निर्माण गर्न बसेका हो । हामी त १ रुपैयाँ भएपनि त्यसलाई लागनी गर्दै बढाउँदै जाने व्यवसायी हौं ।

पुँजी निर्माण गर्न बसेका व्यवसायीको पुँजी क्षय भइरहँदा त्यो पुँजीको चिन्ता काहिँ पनि व्यक्त गरिएन । यदि साँच्चै क्यापिटल फाइ भइरहेको हो भने यो हाम्रो कानुनले नदिने कुरा हो । यो कुरा पूर्ण रुपमा बन्देज छ । यसको अध्ययन तथा अनुसन्धान गर्ने काम राज्य हो । क्षय भएको पुँजीको चिन्ता लिनु पर्छ । यसले अर्थतन्त्र नै लथालिंग भएको छ । यसले देशलाई कहाँ पुर्याउँछ ? जनता कहाँ पुग्छन् ? एउटा व्यवसायीको मोरल एक पटक घटिसकेपछि फेरि त्यो मोरल पाउन कति समय लाग्छ कति मेहनेत गर्नुपर्छ त्यो कुरा पनि सोच्नु पर्छ ।

अन्त्यमा मतदातालाई केहि भन्न चाहनुहुन्छ ?

अहिले म मत नै माग्ने हो । उद्योग वाणिज्य संघ अन्तर्गतका जिल्ला÷नगर, वस्तुगत, एसोसिएट, द्विराष्ट्रिय संघ सदस्यहरूलाई मैले ३० वर्षको व्यवसायिक यात्रालाई लिएर म वरिष्ठ उपाध्यक्षको रुपमा अघि बढेको छु ।

यहाँहरूले मलाई विश्वास गरिदिनुस्, भोलिका दिनमा निजी क्षेत्रलाई अघि बढाउन, लगानीको वातावरण सिर्जना गर्न, तपाईको लगानी सुरक्षाको लागि मैले विगतमा जुन कार्यहरू गरे अझ परिष्कृत रुपमा नेतृत्व उन्मुख भएर कार्य सम्पादन गर्छु । यहाँहरू सबैले मलाई विश्वास गरेर मत दिएर विजय गराइ दिनुस् । म तपाईहरूको साथ र सहयोगबाट नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व लिएर काम गर्ने अवसर दिनु हुन्छ भन्ने मैले विश्वास लिएको छु ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स